विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा उम्मेदवारी दर्तासँगै नयाँ राजनीतिक समीकरणले चुनावी अङ्कगणितलाई रोचक मोडमा पु¥याएको छ ।

मुलुकका दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीचको चुनावी तालमेलले प्रदेशमा नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) लाई गणितीय रूपमा निकै कमजोर बनाएको छ ।

तीन रिक्त पदका लागि हुने निर्वाचनमा ‘अन्य’ समूहबाट काङ्ग्रेसका सुनिलबहादुर थापा निर्विरोध भइसकेका छन् । नेकपाका उम्मेदवार हेमराज घिमिरेले वारेसमार्फत् पठाएको निवेदन र फारममा हस्ताक्षर नभएपछि उनको उम्मेदवारी कायम भएन । उक्त क्लष्टरमा सुनिल थापाको मात्रै नाम रहेको निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले जानकारी दिए । निर्वाचन कार्यतालिका अनुसार निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा भने आगामी पुस २७ गते गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अब बाँकी दुई पद (महिला र दलित) का लागि हुने प्रतिस्पर्धामा काङ्ग्रेस–एमाले–जसपाको साझा मोर्चा र नेकपा बीच सिधा भिडन्त हुने देखिएको छ । काङ्ग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र नमिता न्यौपाने (महिला)को उम्मेदवारी परेको छ ।  

कोशी प्रदेशमा एमालेका दुई सदस्य देवेन्द्र दाहाल (झापा), इन्दिरादेवी गौतम (सुनसरी), माओवादी केन्द्रका एक सदस्य गोपी आछामी सार्की (मोरङ) कार्यकाल सकिएपछि प्रतिनिधि सभाको निर्वाचन हुन लागेको हो ।

थापालाई प्राविधिक लाभः कसरी भए निर्विरोध ?
नेपाली काङ्ग्रेसका सह–महामन्त्री एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाका लागि राष्ट्रिय सभाको यात्रा निकै सहज बन्यो । उनका मुख्य प्रतिस्पर्धी मानिएका नेकपाका हेमराज घिमिरेको उम्मेदवारी दर्ताका क्रममा हस्ताक्षर नभएको पाइएपछि थापा निर्विरोध निर्वाचित हुने निश्चित भएको हो । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा थापा लामो समय संयुक्त राष्ट्रसङ्घमा काम गरेर राजनीतिमा आएका हुन् । उनी २०७७ मा राप्रपा छाडेर काङ्ग्रेस प्रवेश गरेका थिए ।

कोशीको मतभारः कसको शक्ति कति ?
कोशी प्रदेशमा राष्ट्रिय सभाका लागि कुल ३ सय ६७ मतदाता छन्, जसमा ९३ प्रदेश सभा सदस्य र २ सय ७४ स्थानीय तहका प्रमुख÷उपप्रमुख छन् ।

प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रतिनिधिको १९ कायम गरिएको छ ।
कोशीमा नेकपा (एमाले) को ४ हजार २ सय १०, नेपाली काङ्ग्रेस ३ हजार ६ सय ८४ मतभार रहेको छ । त्यसैगरी तत्कालीन (माओवादी केन्द्र) १ हजार २ सय ९७, राप्रपा ३ सय ९४, तत्कालीन एकीकृत समाजवादी ३ सय ४५, जसपा १ सय २९ र स्वतन्त्र ५७ मतभार रहेको छ ।

काङ्ग्रेस, एमाले र जसपा मिल्दा यो मोर्चाको कुल मतभार ८ हजार २३ पुग्छ । यसको विपरीत तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्प्युनिष्ट पार्टीको कुल मतभार जम्मा १ हजार ६ सय ४२ मात्रै छ । यो तथ्याङ्कले काङ्ग्रेस–एमाले मिल्दा विपक्षी गठबन्धनका लागि जित लगभग असम्भवजस्तै देखिएको छ ।