भद्रपुर । झापामा सञ्चालित केही इँटा उद्योगीहरूले सरकारले गरेको निर्णयको अवज्ञा गर्दै इँटा पोलिरहेको पाइएको छ । 

झापाको भद्रपुर–१ मा सञ्चालित डिबिआइ, गणेश इँटा , कचनकवलको प्रेम र ज्योति इँटाले सरकारको निर्णय विपरीत फाइरिङ (आगो लगाउन) थालेको पाइएको छ । उपभोक्ताको माग र उद्योगको क्षति कम गराउन इँटा पोल्न थालेको उनीहरूको दाबी रहेको छ ।  

औद्योगिक व्यवसाय ऐन २०७६ को दफा २० को उपदफा १० अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा २०८१ चैत ११ गते बसेको औद्योेगिक तथा लगानी प्रवद्र्वन बोर्डको २४३ औँ बैठकले इँटा उद्योगबाट हुने प्रदूषण न्यूनीकरण गर्न एवम् कामदारको स्वास्थ्यलाई समेत ध्यान दिई इँटा पोल्ने कार्य प्रत्येक वर्षको पुस मसान्तपछि मात्र सुरु गर्ने भन्ने निर्णय भएको थियोे । 

तर, नेपाल सरकारको नियमलाई उल्लङ्घन गर्दै सरकारले तोकेको समयअघि नै इँटा पोल्ने काम सुरु गरेका छन् । सरकारको निर्णयभन्दा पनि उपभोक्ताको मागलाई मध्यनजर गरी फाइरिङ (आगो लगाउने) काम सुरु गरिएको डिबिआइ इँटाका सञ्चालक देवेन्द्र गौतम बताउँछन् । कात्तिक महिनामा वर्षा भएका कारण उद्योगले ठूलो क्षति व्यहोर्नु परेको भन्दै अहिले पनि वर्षा हुनसक्ने भएकोले फाइरिङ सुरु गरिएको उनी बताउँछन् । अन्य जिल्लाले इँटा पोल्न थालेपछि यहाँ पनि सुरु गरिएको उनको भनाइ छ । हालको चिम्नीबाट वातावरणमा असर नपार्ने प्रविधि भएको समेत उनको दाबी छ । 

त्यसैगरी ब्रह्मदेव साहेवालाको गणेश इँटा उद्योगका सञ्चालक बालकृष्ण गिरीले छिमेकी इँटा उद्योगले पोल्न थालेपछि हामीले पनि सुरु गरेको जवाफ दिन्छन् । काम नभएका कारण मजदुर भाग्न थालेपछि उद्योग टिकाइराख्न पनि फाइरिङ सुरु गर्नु परेको उनको भनाइ छ ।  

सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने चण्डी इँटा उद्योगका सञ्चाक तथा इँटा उद्योग महासङ्घ झापाका सचिव विष्णु घिमिरे बताउँछन् । सचिवस्तरीय बैठकले सरकारबाट आएको परिपत्रलाई घरेलु तथा साना उद्योग कार्यालय झापाले समावेश गरेर सबै इँटा उद्योगहरूलाई कार्यान्वयन गर्न गराउन पत्राचार गरेको समेत उनले बताए । फाइरिङ सुरु गर्नु गलत भएको उनको भनाइ छ ।

भद्रपुर–१ मा डिबिआइ र गणेश इँटा, त्यस्तै कचनकवल–७ बालुवाडीस्थित प्रेम इँटाले आइतबारबाट र कचनकवलको ज्योति इँटाले मङ्गलबारबाट फाइरिङ सुरु गरेका छन् भने चण्डी इँटाले माघ १ का लागि तयारी मात्र गरेको पाइएको छ । 

सचिवस्तरीय बैठकले सरकारबाट आएको परिपत्रलाई समावेश गरेर सबै इँटा उद्योगहरूलाई कार्यान्वयन गर्न गराउन पत्राचार गरिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख पुष्पलता उप्रेतीले जानकारी दिइन् । कार्यालयले दर्ता गर्ने मात्र हो बाँकी काम स्थानीय तहले गर्नुपर्ने उनको भनाइ छ । अनुगम र कारबाही गर्ने आफ्नो क्षेत्राधिकारमा नरहेको उनले बताइन् ।

हाल झापामा २८ वटा उद्योग दर्ता देखिए पनि २४ वटा सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । इँटा पोल्न थालेको जनगुनासो पाएपछि सरकारले जारी गरेको पत्र अध्ययन गर्दा पुस मसान्तसम्म पोल्न नपाउने भन्ने निर्णय भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी तेजप्रकाश प्रसाईंले बताए । कानूनविपरीत कुनै पनि काम नगर्न उनले सुझाएका छन् ।  

इँटा पोल्दा वातावरणमा कस्तो असर पार्छ भन्ने विषयमा ज्ञान नभएको भद्रपुर नगरका वातावरण शाखाका प्रमुख नेत्रप्रसाद पोखरेलले बताए  । केन्द्रबाट नै माघदेखि इँटा पोल्नू भनेर उद्योगलाई निर्देशन दिएपछि त्यहि मान्दै आएको सूचना अधिकारीसमेत रहेका पोखरेल बताउँछन् । 

इँटा उद्योगीलाई प्रशासनको निर्देशन

इँटा पोलेको विषयलाई लिएर बुधबार इँटा उद्योगीसहित इँटा उद्योग महासङ्घ झापाबाट जिल्ला प्रशासन कार्यालयमा वसेको छलफलमा इँटा उद्योगीलाई निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा बसेको छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंको संयोजकत्वमा चार सदस्यीय अनुगमन समिति गठन गरेको प्रजिअ गेलालले जानकारी दिए । समितिमा घरेलु तथा साना उद्योग, जिल्ला प्रहरी र सशस्त्र प्रहरी रहने उनले जनाए । गठित समितिले अनुगमन गर्ने र इँटा उद्योगीले कार्यान्वयन नगरे दमकलको सहायताले आगो निभाइने उनले जानकारी दिए ।

स्वास्थ्य र वातावरणमा पर्ने असर

नेपाल सरकारले इँटा उद्योगहरूलाई औपचारिकरूपमा माघदेखि मात्र इँटा पकाउन (फायरिङ) पाउने निर्देशन दिएको छ । औद्योगिक प्रवद्र्धन बोर्ड, नेपाल इँटा उद्योग महासङ्घ र उद्योग मन्त्रालयको सहकार्यमा निर्णय भएको हो । नेपालभर नै अहिले वातावरणमा प्रदूषण बढ्ने भएकोले पुस मसान्तसम्म इँटा उद्योगमा आगो नलगाउनु भन्ने निर्देशन छ । पुस महिनामा धेरै हावा चलेको हँुदैन । इँटा उद्योगबाट निस्कने प्रदूषण हावाले उडाएर लाने भएकाले हावा चल्ने मौसममा पोल्न सरकारले थिति बसाएको हो ।

सन् २०२३ मा दी नेपाल विक्लीमा सार्वजनिक भएको एक रिपोर्टअनुसार इँटा अत्यन्तै रुचाइएको निर्माण सामग्री भए पनि इँटा भट्टाहरू वातावरणमा नकारात्मक असर पु¥याउने उद्योगका रूपमा परिचित छन् । पार्टिकुलेट म्याटर (एः), ब्ल्याक कार्बन (द्यऋ), सल्फर डाइअक्साइड (क्इ₂) र कार्बन डाइअक्साइड (ऋइ₂) जस्ता प्रदूषक तŒवहरू इँटा भट्टाबाट निस्कने प्रमुख उत्सर्जनहरू हुन् ।

इँटा उत्पादन ब्ल्याक कार्बन र अन्य छोटो आयु भएका जलवायु प्रदूषक (क्ीऋए) को प्रमुख स्रोतहरूमध्ये एक हो, जसले मानव स्वास्थ्य र जलवायु परिवर्तन दुवैमा गम्भीर असर पार्छ । अध्ययनहरूले देखाएका छन् कि भट्टीमा पोल्ने प्रक्रिया सुधार गरेर १० देखि ५० प्रतिशतसम्म प्रदूषक उत्सर्जन घटाउन सकिन्छ । एः२.५ र एः१० जस्ता साना कणहरू फोक्सो र हृदय सम्बन्धी रोग, दीर्घकालीन श्वास–प्रश्वास समस्या, बाँझोपन, र छोटो तथा दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने जोखिम बढाउने वातावरण विज्ञहरू बताउँछन् ।  स्थानीय बासिन्दाहरूले नाक÷आँखा पोल्ने, घाँटी दुख्ने, श्वास फेर्न कठिनाइजस्ता समस्या अनुभव गर्दै आएका छन् । धेरै इँटा भट्टीहरू कृषियोग्य जमिनमा निर्माण भएका छन्, जसले माटोको उर्वरता घटाउने, कृषि उत्पादनमा प्रभाव पार्ने, र स्थानीय जीवनयापनमा कठिनाइ ल्याउने जोखिम बढाउने गरेको स्थानीय बताउँछन् ।