धरान । कोशी प्रदेश सरकारमा काङ्ग्रेस–एमालेको रजगजको पछिल्लो दृष्टान्त मङ्गलबार देखिएको छ । 

नेकपा (एमाले) बाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले पार्टीपङ्क्तिलाई खुसी बनाउन पुराना मन्त्री फेरेर १० जना नयाँ मन्त्री बनाएका छन् । कोशी प्रदेश सरकारमा देखिएको अभ्यासलाई ‘भागबण्डा’ को राजनीति भनी टिप्पणी गरिएको छ । 

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले मुख्यमन्त्री सरकार चलाउनेभन्दा पनि पार्टी नेतृत्वलाई खुसी पार्ने र आफ्नै अस्तित्व जोगाउने खेलमा लाग्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।

मङ्गलबार काङ्ग्रेसबाट ५ र एमालेबाट ५ मन्त्रीहरू नियुक्त गरी शपथ ग्रहण गराइएको छ । प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्दै आइरहेका बेला मुख्यमन्त्री कार्कीको कार्यप्रति प्रश्न उठाइएको छ । 

प्रा. पोखरेलले कामभन्दा पनि पालो पुर्‍याउने प्रवृत्तिले प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठेको बताउँछन् ।

“प्रदेश सरकार मन्त्री उत्पादन गर्ने कारखानाजस्तो भयो, सबैलाई मन्त्री नै हुनुपर्ने रोग देखियो” पोखरेल भन्छन्, “जनतालाई डेलिभरी दिने कुरामा कसैको चासो छैन, पद जोगाउन र सरकार टिकाउन गरिने व्यवस्थापनमै मुख्यमन्त्रीको शक्ति खर्च भइरहेको छ ।”

तीन वर्षको अवधिमा कोशी प्रदेश सरकारमा ९३ सांसदमा झण्डै आधा जति मन्त्री भइसकेका छन् । काङ्ग्रेसबाट प्रदीपकुमार सुनुवार (भौतिक पूर्वाधार), मानबहादुर लिम्बू (स्वास्थ्य), इसरायल मन्सुरी (उद्योग, कृषि तथा सहकारी) र भीम पराजुली (पर्यटन, वन तथा वातावरण) मन्त्री बनेका छन् ।

यस्तै, शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त भएकी छन् । एमालेबाट विदुर लिङ्थेप (आर्थिक मामिला तथा योजना), चिन्तन पाठक (खानेपानी, सिँचाइ तथा ऊर्जा), इन्द्रमणि पराजुली (आन्तरिक मामिला तथा कानुन), रामकुमार महतो (सामाजिक विकास) मन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ र राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कार्कीले शपथ गराएका हुन् ।

-विराटनगरबाट अनिल श्रेष्ठ