आज चुनावी कुरा गरौ“ । जो आफ्ना पुराना मान्यताहरू भत्काउन सक्दैनन् यो दृष्टिकोण उनीहरूको लागि होइन । यो विचार चाहि“ ती भोटर (मतदाता) का लागि हो, जसले परिवर्तन खोजिरहनुभएको छ । जसले नया“पन चाहिरहनु भएको छ । किन परम्परागत पार्टीका कार्यकर्ता तथा मतदाताका लागि होइन त ? किनकि उनीहरू रूढ हुन्छन् । जसरी गाउँसमाजमा कुनै शब्द रूढ भएको हुन्छ । उनीहरू पनि त्यसरी नै आफ्नो पार्टीप्रति रूढ हुन्छन् । वैपरीत्यमा जान सक्दैनन् । त्यो क्षमता उनीहरूमा हुँदैन ।
अब बहस सुरु गरौं,
बहसको सुरुवात चुनावी कसरतबाट सुरु गर्दै छु । फेरि काङ्ग्रेस–एमाले एउटा चुनावी मोर्चाबाट मैदानमा जाने कि भन्ने बहस सुरु गर्दैछन् । कथंकदाचित उनीहरू एउटै मोर्चाबाट चुनावमा उठे भने सरकार बनाउने कसरत पनि उनीहरू स्वयंले गर्नेछन् ।
यो भनेको जेन जी आन्दोलन अगाडिको सरकार हो । हामीले फेरि पनि जेन जी अगाडिको सरकारको परिकल्पना गरेर चुनावमा गएको हो त ? पक्कै होइन । नेपाली जनताले सुशासन, भ्रष्टाचाररहित र जवाफदेही सरकार खोजेको हो ।
“चुच्चे ढुङ्गो, उही टुङ्गो” भन्ने लोकोक्ति झैँ काङ्ग्रेस–एमालेकै सरकार चाहिएको थियो भने जेन जी आन्दोलन किन ? परिवर्तनकामी आन्दोलन किन ? ४५ युवाको साहदत किन ?
यस्ता प्रश्नको हल अबका मतदाताले खोज्नुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै जनताले आफ्ना जनप्रतिनिधिहरू चुन्न पाउनु हो । आवधिक रूपमा मत हाल्न पाउने भएकाले नै लोकतन्त्रलाई संसारभरि नै उन्नत तन्त्र मानिन्छ । यही तन्त्रका लागि १ सय ४ वर्षसम्मको जहानियाँ राणाशासन, ३० वर्षे पञ्चायतकाल, २ सय ४० वर्षसम्मको शाही शासनको अन्त्य गराए ।
आज लामो त्याग र तपश्याबाट प्राप्त भएको लोकतन्त्रको भद्दा मजाक बनाउने काम भइरहेको छ । आज सामान्य जनता चुनावमा प्रतिनिधि बन्न नसक्ने अवस्था छ । एउटा वडाध्यक्ष बन्नका लागि लाखौँ रकम खन्याउनुपर्ने परिस्थिति छ । तर हामी मतदाताले कहिले पनि यो परिस्थिति किन र कसरी सिर्जना भयो ? यसको कारकतŒव को हो ? भन्ने खोजी गर्नेतिर लागेनौँ ।
फलस्वरूप हामी हरेक पटकको निर्वाचनमा गलत मानिसलाई जिताउँदै आयौँ । त्यसको परिणाम हामीले प्रत्येक पटक भोगिरहेका छौँ । सही, सक्षम र सबल नेतृत्वलाई जिताउने र उक्त नेतृत्वबाट आश गर्ने परम्परा, काम गरिदिओस् भन्ने मानसिकता जनताले पनि त्याग्न जरुरी छ । अनि मात्रै हामीले परिकल्पना गरेको समाज बन्नेछ ।
हामी आफू चाहिँ नसुध्रिने र नेता तथा जनप्रतिनिधि मात्रै सुध्रिऊन् भन्ने मानसिकतामा पनि समस्या छ । प्रजातन्त्र पुनर्बहालीपछिको ३० वर्ष तथ्यमा के परिवर्तन भए ? समाजको रूपान्तरण कस्तो अवस्थामा पुग्यो ? विकास निर्माण, पूर्वाधारको अवस्था कस्तो रह्यो ? आदि प्रश्न नगर्ने हो भने मतदाता हुनुको अर्थ रहन्न ।
हामीले हाम्रो विकासलाई, समाज रूपान्तरणलाई, मानव विकास सूचकाङ्कलाई, आर्थिक वृद्धिदरलाई, कुल गार्हस्थ उत्पादनलाई नजिकबाट नियालेनौँ । हामीले सामाजिक सञ्जाल, इन्टरनेट, युट्युबमा अन्य देशको विकासलाई नियाल्यौँ । हे¥यौँ । दृष्टिगोचर ग¥यौँ । त्यसो गर्दा हाम्रो अनुहार र त्यताका अनुहारसँग हाम्रो विकासले मेल खाएन । अनि हामीले हाम्रा नेता तथा मन्त्रीहरूलाई गाली ग¥यौँ ।
तर कहिले पनि हाम्रो अवस्था के हो ? हाम्रो पुँजीको मूल आधार के हो ? उत्पादनको मूल आधार के हो ? कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कुन क्षेत्रले कस्तो भूमिका खेलेको छ भनेर हेरेनौँ । हाम्रा सरकारले पनि प्रत्येक वर्ष वैदेशिक ऋण, अनुदान, स्वेदेशी ऋण र अनुदानमा निर्भर भए । प्रत्येक वर्ष सङ्घीय सरकारको बजेटमा वैदेशिक ऋण र अनुदान, स्वदेशी ऋण र अनुदान खर्बका खर्बमा परिणत भए ।
त्यसैकारण हाम्रो टाउकोमा ऋणको भारी बढ्दै गयो । भ्रूणमै ऋणको भारी बोक्नुपर्ने भयो । यो अवस्था ल्याउने पछिल्ला ३० वर्षमा को थिए ? केन्द्रमा को थियो ? उनीहरूले ल्याएका घोषणापत्र र प्रतिबद्धताअनुसार देश १० वर्षमा सिङ्गापुर भयो ? देश १० वर्षमा स्विटजरल्यान्ड भयो ?
पछिल्ला ३० वर्षमा कति नागरिकले देशमै रोजगार पाए ? कति नागरिक उत्पादनमुखी काममा लागे ? यसको आँकडा आशलाग्दोभन्दा निराशालाग्दो धेरै छ । यसकारण पनि अब मतदाताले क्रेडिटमा हैन, डेबिटमा काम गर्नुपर्छ । निराशालाई आशामा बदल्ने शक्तिको खोजी गर्नुपर्छ । नयाँ र पुराना उस्तै हुन् भन्ने रूढ मान्यतालाई परिवर्तन गर्नुपर्छ । भागवत् गीतमा भनिएको छ–जसले परिवर्तन चाहँदैन, जो यथास्थितिमा बस्छ । ऊ पशुतुल्य हुन्छ ।
३० वर्ष देशको केन्द्र भागमा बसेर रजगज गरेकाहरूले गरेको पूर्वाधार विकासको एउटा उदाहरण यहाँ पेश गर्न चाहन्छु । पङ्क्तिकार करिब २५ वर्षभन्दा अगाडि मुग्लिङ–काठमाडौँ चल्ने रात्रिकालीन बस चढेर मोरङबाट काठमाडौँ जाँदा करिब १० घण्टामा काठमाडौँको पुरानो बसपार्क (हालको बागबजारको छेउ) मा उत्रिन्थ्यो । तर, केही समयअघि काठमाडौँदेखि सोही बाटोबाट धरान आइपुग्न १९ घण्टा लाग्यो । सरदर उक्त बाटोबाट गुड्ने सवारीहरू गन्तव्यमा १८ घण्टामा मात्रै आइपुग्दा रहेछन् । २५ वर्षअगाडि र आजको अवस्थामा कति धेरै फेरबदल भएछ । भने पछि यो ३० वर्षमा सडक पूर्वाधारमा कायापलट भएको छ भन्ने दाबी सत्य सावित हुन्छ कि असत्य । यहाँ तपाईंहरू नै अनुमान लगाउनुहोस् । समस्या सडकमा हैन, समस्या प्रणाली (सिस्टम) मा छ । एउटा यात्रु १८ घण्टा लगाएर आउन बाध्य छ । यसको अर्थ हामी सुल्टो दिशामा गइरहेका छौँ कि उल्टो दिशामा । हाम्रो विकास सुल्टो छ कि उल्टो ?
प्रश्न गम्भीर छ । तर उत्तर गम्भीर छैन । उत्तर उट्पट्याङ र चट्पटे किसिमको छ । समस्या नै यहाँ हो । ३० वर्षमा हाम्रो देशमा जे जति विकास भएका छन् । ती विकास स्वतः भएका विकास हुन् । यी नेता, मन्त्री तथा सरकारहरूले गरेका विकास होइनन् भन्ने मेरो ठम्याइ हो । यदि ३० वर्षमा यी पार्टीको सरकार नभएको भए पनि यतिको विकास चाहिँ हुन्थ्यो । यो विकासलाई कसैले पनि रोकेर रोक्न सक्दैनथ्यो । त्यसको उदाहरण करिब १९ वर्ष राजनीतिक दलविहीन स्थानीय निकायहरूलाई हेरौँ ।
किनकि समाज परिवर्तनशील हुन्छ । समाजको प्रकृति नै परिवर्तनशील हो । यसको गुण नै परिवर्तन हुनु हो । यदि यथास्थितिमा रहन्छ भने त्यो समाज नभएर त्यो जडवत् कुरा हो । यसकारण प्रश्न सिस्टममाथि हो । प्रश्न हामीमाथि पनि हो । हामीले कस्ता नेता तथा जनप्रतिनिधिलाई जिताएछौँ । अझै फेरि यस्तै जनप्रतिनिधि र नेतालाई जिताउने हो भने हामीले भोट दिनु र नदिनुको कुनै अर्थ छैन ।
भोट त्यसलाई दिऔँ, जसले परिवर्तनको अपेक्षा राख्छन् । आफू परिवर्तन हुन चाहन्छन् । हामीले जेन जी आन्दोलन अर्थात् भदौ २३ र २४ पछि पार्टीमा थुप्रै परिवर्तनहरू देखिरहेका छौँ । देख्दै छौँ । तर उनीहरू कसरी परिवर्तन भएका छन्, त्यो विषयमा मन्थन गरौँ । विचार गरौँ ।
जेन जी युवाहरू पनि एक ठाउँमा आउनुको विकल्प छैन । उनीहरूले पनि प्रत्येक नागरिकलाई भोट हाल्ने विषयमा सचेत गराउन जरुरी छ । यो बेला जेन जी सहरमा होइन, गाउँ गाउँमा, पहाडी इलाकामा, हिमाली इलाकामा पुगेर आम मतदातालाई सचेत गराउन आवश्यक छ ।
परिवर्तन घरमा बसेर, गफ चुटेर, चियाचमेना गृहमा कुरा गरेर वा ठूल्ठूला भाषण गरेर हुँदैन । गफ, कुरा वा भाषण हैन, मतदातालाई उनीहरूको स्थानमा गएर बुझाउन जरुरी भएको छ । अनि मात्रै हामीले खोजेको परिवर्तन सम्भव छ । चुनावबाट मात्रै नेता परिवर्तन गर्न सकिन्छ । चुनावबाट मात्रै नयाँ शक्तिलाई स्थापित गर्न सकिन्छ ।
लोकतान्त्रिक देशहरूमा भएको कानूनसम्मत अभ्यास यही हो । आन्दोलन, विद्रोह कानूनतः वर्जित विषय हो । वर्जित विषयमा हात हाल्नु भनेको अपराध गर्नु हो । कानूनी राज्यमा गैरकानूनी कार्य गर्ने छुट कसैलाई हुँदैन । यसकारण उसले कानून मानेन, मैले किन मान्ने ? भन्ने प्रश्न होइन । उत्तर चाहिँ सबैका लागि कानून बराबर हो भन्ने मानक चाहिँ स्थापित गर्नुपर्छ ।
हामीले स्वबहस चलाउनु पर्छ । त्यो बहसले आगामी नेपालको मार्गचित्र कोर्न सकोस् । अहिले को कहाँबाट परिचालित छ । कुन देशबाट परिचालित छ भन्ने बहस छाडौँ । किनकि यसअघिका पार्टीहरूको विषयमा पनि यस्ता बहसहरू चलेकै थिए । आज आएर त्यस्तो मानक भत्किसकेको छ । अब नयाँ पार्टीहरूमा उठेका संशयहरू पनि क्रमशः समयले प्रमाणित गर्दै जानेछ । हाम्रो ध्यान यसतर्फ चाहिँ हुन आवश्यक छ । गफ गर्ने हैन, काम गर्ने नेता चाहिएको छ । देशलाई उत्पादनमुखी, प्रतिस्पर्धात्मक बजारमा उभ्याउन सक्ने सक्षम नेतृत्वको खाँचो छ । देशको माटो सुहाउँदो अर्थतन्त्रको विकास गर्ने नेतृत्व चाहिएको छ ।
































