भद्रपुर विमानस्थलमा हालै भएको बुद्ध एयरको जहाज दुर्घटनाले नेपालको हवाई सुरक्षा संवेदनशीलता र विमानस्थल व्यवस्थापनको फितलो पक्षलाई पुनः सतहमा ल्याइदिएको छ । काठमाडौँबाट ५१ जना यात्रु लिएर उडेको एटीआर–७२ जहाज अवतरणका क्रममा धावनमार्गबाट ३ सय मिटर बाहिर चिप्लिएर खोल्सामा पुग्नु सामान्य घटना होइन । यो दुर्घटनाले प्राविधिक तयारी, मानवीय सुझबुझ र विमानस्थलको भौतिक पूर्वाधारको अवस्थाबारे गम्भीर प्रश्न खडा गरेको छ । घटनाको प्रकृति हेर्दा ठूलो मानवीय क्षति हुनबाट जोगिनुमा दैवी संयोग र एक साहसी यात्रुको भूमिका प्रमुख देखिन्छ । जहाजभित्र धुवाँ भरिएको र चालक दलका सदस्यसमेत अत्तालिएको अवस्थामा यात्रु उमेश मोक्तान तामाङले ‘इमर्जेन्सी’ ढोका खोलेर यात्रुहरुको ज्यान जोगाउनु प्रशंसनीय छ । तर यसले हाम्रो उडान सुरक्षा तालिम र आपत्कालीन अवस्थामा चालक दलको कार्यक्षमतामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ । विमानभित्र धुवाँको मुस्लो पस्दासम्म चालक दलले यात्रुलाई सुरक्षित निकास दिन नसक्नु र यात्रु आफैले बल प्रयोग गरेर ढोका खोल्नुपर्ने अवस्था आउनु उड्डयन सुरक्षा मापदण्डका हिसाबले गम्भीर कमजोरी हो ।
यसअघि साउन २२ गते पनि चराका कारण जहाज ‘ओभरसुट’ गर्नुपरेको घटना र विमानस्थल क्षेत्रमा वन्यजन्तुको उपस्थितिले भद्रपुर विमानस्थलको जोखिमलाई पहिल्यै सङ्केत गरेको थियो । बुद्ध एयरले नै विज्ञप्ति जारी गरेर विमानस्थल वरपरका झाडी सफा नगरिएको र वर्षाको समयमा किराहरुका कारण चराको चहलपहल बढ्दा उडान जोखिमपूर्ण भएको औंल्याएको थियो । यति हुँदाहुँदै पनि नियामक निकाय र विमानस्थल प्रशासनले समयमै ध्यान नदिनु चरम् लापरबाही हो । धावनमार्गको लम्बाइ र अवतरण क्षेत्रको सुरक्षा ‘बफर जोन’ पर्याप्त नहुँदा जहाज खोल्सामा खस्नुले पूर्वाधार निर्माणमा देखिएको त्रुटिलाई पनि उजागर गरेको छ ।
अहिले दुर्घटनाग्रस्त विमानलाई तीनवटा क्रेन लगाएर सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ र प्राविधिक टोलीले छानबिन सुरू गरेको छ । तर छानबिन केवल झारा टार्ने र प्रतिवेदन दराजमा थन्क्याउने माध्यम मात्र बन्नु हुँदैन । विमानस्थलको धावनमार्ग वरपरको झाडी सफाइ, चरा नियन्त्रणका उपाय र ‘रन–वे’ को प्राविधिक अवस्थाको तत्काल पुनरावलोकन गरिनुपर्छ । नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घको ‘कालो सूची’ बाट हटाउने प्रयास भइरहेका बेला यस्ता दुर्घटनाले नेपालको छविमा थप धक्का पु¥याउँछन् । तसर्थ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलको वातावरणीय व्यवस्थापन र उडान सुरक्षामा कुनै सम्झौता गर्नु हुँदैन । चालक दलको आपत्कालीन प्रतिकार्य क्षमतालाई सुदृढ बनाउनु र विमानस्थलको प्राविधिक कमजोरीलाई हटाउनु नै भविष्यमा हुने सम्भावित महाविपत्ति रोक्ने एकमात्र उपाय हो । सुरक्षामा सानो हेलचेक्य्राइँले सयौँको ज्यान जान सक्छ भन्ने पाठ यो घटनाबाट सिक्नु जरूरी छ ।
































