धरान । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।

शनिबार धरानमा सम्पन्न पार्टीको सुनसरी क्षेत्र नं. अन्तर्गत तीन वटा समितिको अधिवेशनसँगै उम्मेदवारको नाम सिफारिस गरेको हो ।

राप्रपाका केन्द्रीय सदस्य किशोरकुमार कार्की, जिल्ला सदस्य उद्धव श्रेष्ठ र धरान उपमहानगर वडा नं ६ का अध्यक्ष भूपेन्द्र भट्टराईलाई सिफारिस गरिएको राप्रपाका नेता लक्ष्मण बस्नेतले जानकारी दिए । पहिलो नं. मा नेता कार्कीलाई सिफारिस गरिएको उनले बताए । पूर्व क्षितिज प्रकाशन प्रा.लि.का प्रबन्ध निर्देशनसमेत रहेका कार्की कुशल सङ्गठक हुन् ।

क्षेत्रीय अध्यक्ष दिनेश आचार्यको अध्यक्षतामा सम्पन्न अधिवेशनमा धरान उपमहानगर अध्यक्षमा नरेश शाक्य चयन भएका छन् । शाक्यको नेतृत्वमा २५ सदस्यीय समिति बनाइएको हो ।

यस्तै सुनसरी क्षेत्र नं. १ (१) मा नवीन पराजुलीको अध्यक्षतामा २१ सदस्यीय समिति बनाइएको छ । क्षेत्र नं. १ (२) मा दुर्गाबहादुर बस्नेतको अध्यक्षतामा २१ सदस्य समिति बनाइएको छ ।

राप्रपाका केन्द्रीय नेता तथा पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापा, कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री भक्ति सिटौला, नेता खुस्वु ओली, दुर्गाबहादुर बस्नेत, पार्टीका सङ्गठन समन्वय विभागका केन्द्रीय सदस्य तथा युवा नेता लक्ष्मण बस्नेतलगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।