विराटनगर । शुक्रबार दिउँसोको ठीक एक बजेको समय थियो । मोरङको कटहरी गाउँपालिका कार्यालयको प्राङ्गण, जहाँ अरूबेला फाइल बोकेका सेवाग्राहीको हतारो र कर्मचारीहरूको व्यस्तता देखिन्थ्यो, आज अस्वभाविकरूपमा शान्त थियो । तर त्यो शून्यता निष्क्रियता होइन, एउटा फरक किसिमको मानवीय उपस्थितिले भरिएको थियो ।
कोही आफ्ना थर्थराउँदा हातले लौरो टेकेर ताँती लागिरहेका थिए भने कोही नाति–नातिनीको काँधमा हात राखेर पाइला चाल्दै थिए । यो जमघट थियो, पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भ । ८५ वर्षको उमेर नाघिसकेका ६० जना वृद्धवृद्धाहरूलाई सम्मान गर्न पालिकाले उनीहरूलाई निम्तो दिएको थियो । पुसको कठ्याङ्ग्रिँदो जाडो सुरु भइसकेको बेला ती वृद्ध शरीरहरूलाई न्यानोपनको खुबै खाँचो थियो ।
भीडको अघिल्लो लहरमा थिइन्, ९० वर्षीया कटहरी–५ की चन्द्रीदेवी सरदार । उनी शान्त थिइन्, तर उनको आँखामा एउटा व्यग्र प्रतीक्षा थियो । जब गाउँपालिका अध्यक्ष देवराज चौधरी उनी भएको ठाउँमा पुगे र एउटा नयाँ निलो रङको फाइबर सिरक उनलाई ओढाइदिए, चन्द्रीदेवीको अनुहार एकाएक उज्यालो भयो ।
त्यो चमक कुनै बहुमूल्य धातु पाएको खुसी थिएन, बरू राज्यले आफूलाई ‘सम्झिएको’ गर्वको प्रतिबिम्ब थियो । सिरक ओढेर कुर्सीमा बस्दै उनले भनिन्, “गाउँपालिकाले यसरी सम्मानस्वरूप सिरक दिँदा आज असाध्यै खुसी लागेको छ । यो पुसको जाडोमा राति निन्द्रा लाग्दैनथ्यो, अब त न्यानो गरी सुत्न पाइने भो ।”
घरमा छोरा र नातिहरू भए पनि स्थानीय सरकारले एउटा अभिभावक बनेर सम्झिँदा उनले आफूलाई एक्लो महसुस गरिनन् । उनीसँगै थिइन् कटहरी–२ की ८६ वर्षीया अप्सरा प्रसाईं । आफ्नी नातिनीको हात समातेर विस्तारै अघि बढ्दै थिइन् । नयाँ सिरक समात्दा उनको अनुहारमा पनि उत्तिकै रौनक थियो । उनले भनिन्, “बुढेसकालमा हामीलाई चाहिने भनेकै यस्तै माया र सम्मान हो । जाडोमा सिरक बाँडेर गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि ठूलो पुण्यको काम गरेको छ ।”
८२ वर्षीया दनावती सरदारको अवस्था पनि उस्तै थियो । उनको हातमा परेको सिरक केवल एउटा वस्तु थिएन, त्यो त एउटा सम्मानको उपहार थियो ।
प्रायः सरकारी राहत वितरणका कार्यक्रमहरू रूखा र फोटो खिचाउने औपचारिकतामा मात्र सीमित हुन्छन् । तर, शुक्रबार कटहरीमा देखिएको दृश्यमा आत्मीयता झल्किन्थ्यो । गाउँपालिका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशी र वडा नं. १ का अध्यक्ष हरिनारायण राजवंशीले पालैपालो वृद्धवृद्धाहरूको नजिकै पुगेर उनीहरूलाई सिरक ओढाइदिँदा एउटा पारिवारिक वातावरण महसुस हुन्थ्यो ।
अध्यक्ष चौधरीले भने, “हाम्रा ज्येष्ठ नागरिकहरू हाम्रा इतिहास र ज्ञानका खानी हुन् । उनीहरूको सुरक्षा र सम्मान गर्नु हाम्रो धर्म हो ।”
कार्यक्रम केवल सिरक ओढाएर सकिएन । टाढा–टाढाबाट आएका ती वृद्ध शरीरहरू भोकाएको हुनसक्ने अनुमान गर्दै पालिकाले खाजाको व्यवस्था गरेको थियो । उनीहरूलाई घर फर्किन सजिलो होस् भनेर जनही पाँच सय रुपैयाँ नगद बाटो खर्च पनि दिइयो । मुजा परेका हातमा सिरकको पोको र पाँच सयको नोट च्यापेका ज्येष्ठ नागरिक दनावती सरदारले भनिन्, “आज साँच्चै सरकार भएको महसुस भयो ।”
































