भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देश गम्भीर सङ्कटमा फस्न लागेको बताएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको बृहत् जनजागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले त्यस्तो बताएका हुन् । आगामी चुनावमा कसलाई जिताउने, कसलाई हराउने मात्रै नभई अहिले दलहरू पनि विदेशीले नै बनाइराखेको आरोप लगाए ।

त्यतिमात्रै होइन, अब आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ, कुन पार्टीले हार्नुपर्छ, त्यो पनि विदेशीहरूले बनाइदिँदै गरेको उनको भनाइ थियो । देश गम्भीर सङ्कटमा फस्न लागेकोले यसलाई जोगाउने विकल्प राप्रपा रहेको उनको भनाइ थियो ।

“राप्रपाले जित्ने कुरामात्रै लिएर आएका छैनौँ । चुनाव भएछ भने उम्मेदवार भयौँ भने त्यो कुरा पनि लिएर आउँला । तर त्योभन्दा पनि ठूलो कुरा आज देशले जित्ने र देशलाई जिताउने कुरा हामीले लिएर आएका छाँै”–उनले भने । 

उनले नयाँ भनिने पार्टीले निर्वाचनअघि नै को प्रधानमन्त्री, को मन्त्री बन्ने भनेर भागबण्डा गरेको देख्दा लाज लागेको बताए । उनले राजा, जेन जी, राजनीतिक दलसहितको संशोधित नयाँ व्यवस्था लागू गरेर मात्र चुनाव हुनसक्ने दाबी गरे । अबको एक मात्र विकल्प राजा, जेन जी र राजनीतिक दलको सहमतिको सरकारबाट मात्र चुनाव सम्भव रहेको उनको भनाइ थियो । राप्रपाले राजासहितको प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्री र प्रदेश संरचना खारेजीसहित संवैधानिक राजतन्त्र चाहेको उनले बताए ।

देश दुर्घटनामा जाने पहिले नै चेतावनी दिइसकेको तर नपत्याएकोमा हाल काङ्ग्रेस र एमालेले पश्चाताप गर्नु परिरहेको बताउँदै उनले भने “जेन जी आन्दोलनले कुन रूप लिन्छ र के हुन्छ भन्ने कुराको सुइँको ओली सरकार र ठूला राजनीतिक दल भनाउँदाले थाहा नपाउँदा केही गर्न नसकेर भाग्नुप¥यो ।” देश सम्मुनत र समृद्ध बनाएर अब आउने नयाँ पुस्तालाई देश सुम्पिने कर्तव्यमा राप्रपा रहेको भन्दै लिङ्देनले जेन जीको आवश्यकतालाई राप्रपाले बुझिसकेको धारणा राखे । शेरबहादुर देउवा, केपी ओली, प्रचण्डको पेरीफेरीमै देश चलिरहेकोले अब राप्रपाले त्यस्तो हुन नदिने चेतावनी दिए ।

राप्रपा नेता विक्रम पाण्डेले पछिल्ला वर्षमा भएका आन्दोलन, राजनीतिक अस्थिरता र निर्णयहीनताका कारण देश र जनताले ठूलो पीडा भोग्नुपरेको बताए । उनले लामो समयदेखि जारी अन्योलले आर्थिक गतिविधि प्रभावित हुनुका साथै जनजीवन कष्टकर बन्दै गएको भन्दै संविधानअनुसारको निर्वाचन नै समस्याको समाधान भएको बताए ।  

राप्रपाका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारले सीमा नाघेपछि जेन जी आन्दोलन सुरु भएको बताउँदै वर्तमान संविधानका केही धाराहरू संशोधन नगरी देशको अवस्था परिवर्तन गर्न नसकिने धारणा राखे । अहिलेको संविधानले सुशासन होइन, अस्थिरता र खर्चिलो राज्य संरचनालाई बढावा दिएको उनको भनाइ थियो ।

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो’ भन्ने राजेन्द्र लिङ्देन र भ्रष्टाचार गरेर गिरीबन्धु चिया बगान बेचेर खाने पनि यही झापाका सांसद् भएकाले झापाली जनताले अब कसलाई छान्ने बुझ्न आवश्यक रहेको शाहीले बताए ।

बिर्तामोडको हनुमान कम्प्लेक्सअगाडि भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष लिङ्देन, राप्रपा केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्वमन्त्री विक्रम पाण्डे, महामन्त्री राजेन्द्र गुरुङ, राप्रपा सह–महामन्त्री भारतेन्दुकुमार मल्लिक, राप्रपाका संसदीय दलका प्रमुख सचेतक शाही, पार्टीका कोशी प्रदेश अध्यक्ष राम थापालगायतले सम्बोधन गरेका थिए । 

कार्यक्रममा वाइसीएलका केन्द्रीय सदस्य हल्दीबारीका शिवराम घिमिरेसहित विभिन्न पार्टी परित्याग गरी करिव २ सयजना राप्रपामा प्रवेश गरेका थिए ।