विराटनगर । विराटनगर महानगरपालिकाले वातावरणीय मापदण्ड र स्थानीयको स्वास्थ्यमाथि बेवास्ता गर्दै केसलिया खोला किनारमा फोहोर फाल्न थालेपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।
महानगरले कुनै पूर्वतयारी र समन्वय नगरी एकलौटी ढङ्गले विराटनगर–१६ मा ‘डम्पिङ साइट’ सञ्चालन गरेपछि स्थानीयले फोहोर विसर्जनमा पूर्णतः रोक लगाएका हुन् । विराटनगर–१२, १६ र सुनसरीको बर्जु गाउँपालिकाका बासिन्दाले महानगरको यो कदमलाई ‘फोहोरको उपहार’ भन्दै आपत्ति जनाएका छन् ।
विगत पाँच दिनदेखि स्थानीयको अवरोधका कारण महानगरभित्रको फोहोर उठ्न सकेको छैन । जसले गर्दा बजार क्षेत्रका चोक र गल्लीमा फोहोरको थुप्रो लाग्न थालेको छ । महानगरले केसलिया खोलाको बगरमा रहेको आफ्नो स्वामित्वको साढे १० बिघा जग्गामा पुस १ गतेदेखि फोहोर फाल्न सुरु गरेको थियो । तर, त्यस क्षेत्रमा रहेका २ सय बिघाभन्दा बढी खेतीयोग्य जमिन र नजिकैको बस्तीमा दुर्गन्ध फैलिन थालेपछि पुस ५ गतेदेखि स्थानीयले प्रतिरोध गरेका हुन् ।
स्थानीय सङ्घर्ष समितिका अगुवा खुसीलाल पण्डितले महानगरले किसानको पसिना बगेको भूमिमा विषालु फोहोर थुपारेर उठिबास लगाउन खोजेको आरोप लगाए । “महानगरले विकास होइन, हामीलाई दुर्गन्धको उपहार दियो” पण्डितले भने, “केसलिया खोलामा बाढी आउँदा त्यो फोहोर बगाएर हाम्रो घरआँगन र खेतबारीमा पुग्छ । के हामीले अरूको फोहोरको गन्ध सुँघ्नका लागि मात्र यहाँ घर बनाएका हौं ? महानगरको एकलौटी निर्णय हामीलाई स्वीकार्य छैन ।”
स्थानीयको मुख्य चिन्ता वर्षायामको बाढी र त्यसले निम्त्याउने महामारी हो । केसलिया खोलाले हरेक वर्ष कटान र डुबान गर्ने क्षेत्रमा फोहोर फाल्दा पानीसँगै फोहर बस्तीमा छिर्ने जोखिम उच्च रहन्छ । महानगरले वैज्ञानिक व्यवस्थापन (ल्यान्डफिल साइट) को न्यूनतम् मापदण्डसमेत पालना नगरी बगरमा फोहोर थुपारेको उनीहरूको गुनासो छ ।
यसअघि विराटनगर–६ स्थित केसलिया खोला किनारमै फोहोर फाल्ने गरिएको थियो । त्यहाँ बस्ती विकास भएपछि महानगरले नयाँ विकल्पका रूपमा वडा नं. १६ लाई रोजेको हो । तर, नयाँ ठाउँमा फोहोर लैजानुअघि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) नगरेको र स्थानीयसँग राय–सुझावसमेत नलिएको पाइएको छ ।
विराटनगर महानगरपालिकामा दैनिक करिब १ सय मेट्रिक टन फोहोर सङ्कलन हुन्छ । यो विशाल परिमाणको फोहोरलाई उचित प्रशोधन केन्द्र बनाएर व्यवस्थापन गर्नुको साटो सिधै खोला किनारमा फाल्नाले महानगरको वातावरणीय संवेदनहीनता प्रष्ट पारेको स्थानीयको ठहर छ ।
उनीहरूले अब ‘सङ्घर्ष समिति’ नै गठन गरेर वारपारको आन्दोलन गर्ने चेतावनी दिएका छन् । “महानगरले उचित व्यवस्थापनको ग्यारेन्टी नगरेसम्म एक ट्रक फोहोर पनि खसाल्न दिँदैनौँ”–पण्डितले अडान दोहो¥याए । अहिले विराटनगरमा नेपाल फूलबारी, स्वास्थ्यको शान्तिका लागि वातावरण नेपाल र सागरमाथा मल्टी सर्भिसेज प्रा.लि.ले फोहोर सङ्कलनको जिम्मा पाएका छन् । पाँच वर्षका लागि ठेक्का लिएका यी संस्थाहरूले ४ वर्ष एक महिना काम गरिसकेका छन् । तर डम्पिङ साइटको विवादले गर्दा उनीहरूलाई फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ ।
महानगरका सरसफाइ महाशाखा प्रमुख पुनम दाहालले स्थानीयसँग छलफल गरेर समस्या समाधान गर्ने प्रयास भइरहेको बताए । “पुरानो ठाउँमा बस्ती बढेपछि आफ्नै जग्गामा फोहोर व्यवस्थापन गर्न लागिएको हो” उनले भने, “अहिले देखिएको अवरोध हटाउन स्थानीयसँग संवाद गरी निकास निकाल्नेछौँ ।” स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् ।
































