विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनियमितता र विवादमा मुछिएकासहित १० जना कार्यालय प्रमुखहरूको सरुवाका लागि गरेको सिफारिस मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्किएको पाइएको छ । 

स्वास्थ्य मन्त्रालयले गत मङ्सिर १७ गते १० जना कर्मचारीको सरुवाका लागि मुख्यमन्त्री कार्यालयमा फाइल पठाएको थियो । प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा २६ को उपदफा (१) (ख) र (घ) बमोजिम कर्मचारीहरूको सरुवा तथा कार्यालय प्रमुखको जिम्मेवारी तोक्न मुख्यमन्त्री कार्यालयको सहमति अनिवार्य हुन्छ । सोही प्रक्रियाका लागि मन्त्रालयले मुख्य सचिवसमक्ष सक्कल फाइल पठाए पनि हालसम्म सरुवाको सहमति प्राप्त हुन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले औषधि खरिदमा अनियमितता गरेको पुष्टि भएका उदयपुर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. गम्भीर झालाई भोजपुर सरुवा गर्ने निर्णय गरेको थियो । बिरामीको उपचार र औषधिका लागि आएको बजेटमा औषधि नै खरिद नगरी फर्जी बिल बनाएर लाखौँ रुपैयाँ हिनामिना गरेको छानबिन प्रतिवेदनले देखाएपछि उनलाई कारबाही स्वरूप पहाडी जिल्ला पठाउन लागिएको हो ।

त्यसैगरी झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा पदपूर्ति प्रक्रियामा ‘सेटिङ’ र व्यापक अनियमितता गरेको आरोप लागेका कार्यालय प्रमुख डा. सिद्धार्थकुमार ठाकुरलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको छ । उनको ठाउँमा स्वास्थ्य निर्देशनालय धनकुटामा कार्यरत ९ औँ तहका कन्सल्टेन्ट आयुर्वेदविज्ञ डा. रवीन्द्र निरौलालाई पठाउने तयारी छ ।

डा. ठाकुरमाथि २०८१ पुस ११ गते विभिन्न पदका लागि लिइएको परीक्षामा धाँधली गरेको आरोप छ । मन्त्रालयको छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार, रेडियोग्राफर पदका परीक्षार्थी रामप्रकाश यादवले लिखित परीक्षामा ३३.२ अङ्क मात्र प्राप्त गरी अनुत्तीर्ण भएकोमा डा. ठाकुरको योजनामा उनलाई उत्तीर्ण गराइएको पाइएको थियो ।

मन्त्रालयको निर्णयअनुसार जिल्ला अस्पताल पाँचथरका मेसु डा. बुद्धिबहादुर थापालाई जिल्ला अस्पताल सुनसरी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरकी डा. नूतन महतोलाई उदयपुर र जिल्ला अस्पताल भोजपुरकी डा. अमृता श्रेष्ठलाई ओखलढुङ्गा सरुवा गर्ने सिफारिस गरिएको छ ।

यस्तै जिल्ला अस्पताल सुनसरीका डा. अमिताभ ठाकुरलाई खोटाङ, स्वास्थ्य कार्यालय सोलुखुम्बुका सुमन तिवारीलाई ताप्लेजुङ, स्वास्थ्य कार्यालय ताप्लेजुङका कुलबहादुर पौडेललाई खोटाङ, स्वास्थ्य कार्यालय खोटाङका जीवनप्रसाद चम्लागाईंलाई सोलुखुम्बु र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका बैजनाथ साहलाई सोलुखुम्बु पठाउने निर्णय भएको छ ।

मन्त्रालय स्रोतका अनुसार प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका प्रमुख डा. सिद्धार्थकुमार ठाकुरलाई जोगाउन मुख्यमन्त्री कार्यालयले फाइल अड्काएको बताइएको छ । 

“डा. ठाकुर अहिले मुख्यमन्त्री कार्यालयका केही पदाधिकारीसँग निकट छन् । उनलाई हटाएर अर्को व्यक्ति पठाउन मुख्यमन्त्री कार्यालय इच्छुक नदेखिएकाले २२ दिनदेखि फाइल रोकिएको हो”–मन्त्रालयका एक कर्मचारीले बताए ।

यता स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले १० जना कार्यालय प्रमुखको सरुवा सिफारिस गरिएको पुष्टि गरे । “यसअघि मुख्य सचिव नभएका कारण प्रक्रिया केही ढिलो भएको हो”–उनले भने ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवम् सचिव एकदेव अधिकारीले मुख्य सचिव आइसकेकाले अब फाइल अघि बढ्ने बताए । “सरुवाको सिफारिस गर्ने मुख्य सचिवले नै हो । उहाँ आउनुभएपछि हामीले सबै फाइल बुझाइसकेका छौँ, अब निर्णय होला” उनले थपे । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रवि खनालले भने कर्मचारी सरुवा नियमित प्रशासनिक प्रक्रिया भएको र यसलाई प्रशासनले नै हेर्ने प्रतिक्रिया दिएका छन् ।