काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् ।

 दुई अध्यक्षबीच बुधबार साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएको छ ।  पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ ।

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पार्टीबीच एकता गर्ने सहमति गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् । दुई अध्यक्षले दुई लाइन लेखेर पुस १६ गते एकता घोषणा गर्ने सहमति पत्र सार्वजनिक गरेका छन् । 

दुई नेताबीचको बुधबारको छलफलले एकताको विषय टुङ्गो लगाएको थियो । सहमतिको खाका भने सार्वजनिक गरिएको छैन ।  कमल थापा कुनै पनि ‘बार्गेनिङ’ नगरी एकताका लागि तयार भएको बताइएको छ । 

पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्व अध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । ०७८ को मङ्सिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए । थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।