धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ल्याव सेवाहरू चौबिसै घण्टा उपलब्ध गराउने निर्णय गरेको छ ।
बिरामी तथा चिकित्सकहरूको आवश्यकतालाई मध्यनजर गर्दै सम्पूर्ण प्रयोगशालामा हुने परीक्षण सातै दिन २४ सै घण्टा उपलब्ध हुने भएको हो । स्वचालित, अर्धस्वचालित र किट बेस प्रविधिमा नमुना परीक्षण गरिने जनाइएको छ ।
आकस्मिकतर्फका बिरामीलाई नमुना सङ्कलन गरेको दुई घण्टाभित्र र ओपीडी तथा आइपीडी सेवातर्फका बिरामीलाई तीन घण्टाभित्र रिपोर्ट दिने व्यवस्था मिलाइएको विज्ञप्तिमार्फत् जनाइएको छ ।
यसअघि ओपीडीबाट आउने रिपोर्टहरू एक दिन ढिला गरी दिने गरिएको थियो । अब आकस्मिक कक्षको ल्याव र रुटिन ल्यावलाई एकीकृत गरी केन्द्रीय प्रयोगशालामार्फत् नै सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले जानकारी दिइन् । उनका अनुसार पुस ५ गतेबाट एकीकृत गरी केन्द्रीय प्रयोगशालाबाट रिपोर्ट दिन थालिएको हो ।
यसअघि आकस्मिक कक्षको लागि छुट्टै र ओपिडी साथै आइपिडीका लागि केन्द्रीय ल्यावबाट सेवा दिँदै आएको थियो । आकस्मिक कक्षको ल्यावबाट दिँदै आएको सीमित प्रकारका परीक्षणहरू मात्र उपलब्ध हुँदै आएकोमा अब केन्द्रीय ल्यावबाट सम्पूर्ण सेवा दिँदै आएको उनले जानकारी दिइन् ।
अब फरक फरक ल्यावबाट नमुना पठाउनुपर्ने दोहोरो प्रक्रियाको अन्त्य गरिएको छ । बिरामीहरूले पनि एकै स्थानबाट सेवा पाउने भएका छन् । प्रयोगशाला सङ्कलनको समयावधि पनि केही फेरबदल गरिएको जनाइएको छ ।































