धरान । धरानका बामबुद्धिजीवीका रूपमा परिचित रहेका स्वर्गीय कृष्णप्रसाद श्रेष्ठको स्मृतिग्रन्थ शनिबार धरानको गीता मन्दिरमा विमोचन गरिएको छ ।
प्राध्यापक पुरुषोत्तम भट्टराई, बेलायतका पूर्व राजदूत एवम् कवि चन्द्र घिमिरे, भाषाविद् प्रा.डा. टङ्क न्यौपाने, प्रा.डा. बद्रिविशाल पोखरेल, प्रा.डा. खेमनाथ दाहाललगायतले विमोचन गरे । विभिन्न लेखक तथा पत्रकारहरू साथै परिवारका सदस्यहरूले विभिन्न समयमा लेखेका लेखहरू सङ्कलन गरी प्रकाशित गरिएका छन् । उक्त पुस्तकको सम्पादकका रूपमा प्रा.डा. गोपालप्रसाद भण्डारी रहेका छन् । उनले बिए कृष्णको नामले परिचित उनमा लेख्नका लागि उत्प्रेरित गरिरहने प्रतिभाको रूपमा रहेको बताए । “उहाँकै अभिप्रेरणामा मैले केही काम गर्ने पनि मौका पाएँ”–उनले भने ।
उनीभित्र आलोचनात्मक चेत र राजनीतिसँगै सामाजिक चेत पनि रहेको बताए । “उहाँ बहुआयमिक व्यक्तित्व हुनुहुन्थ्यो । कतिपय राजनीतिक सूचना त उहाँबाटै प्राप्त हुन्थ्यो । उहाँलाई हामी इनसाइक्लोपिडिया नै भन्थ्यौँ”–उनले भने । पुस्तकको समीक्षा गर्दै प्रा.डा. दाहालले पुस्तकमा सामयिक लेखहरू सङ्कलन गरिएको बताए । उनले पुस्तकमा तीनवटा फरक फरक पाटोलाई उजागर गरिएको बताए ।
“उहाँको राजनीतिक पाटो, साहित्यिक पाटो र पत्रकारको पाटो देखिन्छ” –उनले भने । यस्तै छोरी पुष्पा श्रेष्ठले बुबाले अनुशासनको पाठ सिकाएको बताइन् । नेवारी संस्कार, संस्कृति पढाउने गरेको बताइन् । उनले बुबालाई भेट्नका लागि थुप्रै मानिसहरू घरमा आउने गरेको बताइन् । कार्यक्रममा अन्य वक्ताहरूले पनि बिए कृष्ण श्रेष्ठको योगदानको चर्चा गरेका थिए ।
































