भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार बन्ने भएका छन् ।

पार्टीको झापा निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय कार्य समितिको शनिबार सम्पन्न बैठकले उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो । नेकपा (एमाले) सँग तालमेल गरी यसअघि उनी सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम भने टुङ्गो लगाएको छैन । पार्टीका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले यही पुस १२ गतेसम्ममा झापाका पाँचवटै क्षेत्रीय समितिले जिल्ला समिति समक्ष उम्मेदवारको नाम सिफारिस गरिसक्ने जानकारी दिए । पार्टीले पुस १२ गते बिर्तामोडमा जनसभा गर्ने जनाएको छ ।