विराटनगर । पछिल्लो समय मोरङमा मानव र हात्तीबीचको द्वन्द्वको बढेर गएको छ । हात्तीहरूको पुख्र्यौली मार्गमा बढ्दो मानवीय अतिक्रमण र अवरोधका कारण हात्तीको आवत–जावतले मानव बस्तीमा त्रास मात्र होइन, जनधनको समेत क्षति हुँदै आएको छ ।
वन्यजन्तुले जनधनको अपूरणीय क्षति पु¥याइरहँदा नियन्त्रणका लागि जिल्लास्तरको मौजुदा स्रोत र जनशक्ति भने निकम्मा बनेको छ ।
सुन्दरहरैंचा र बेलबारी क्षेत्रमा फैलिएको त्रासले स्थानीयको जनजीवन अस्तव्यस्त बनाएको मात्र छैन, पर्याप्त तयारी र साधनस्रोतको अभावमा वन प्रशासन स्वयम्ले पनि हात उठाउनुपर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।
गते शनिबार सुन्दरहरैंचा–१२ का ६० वर्षीय भवकृष्ण घिमिरेको हात्तीको आक्रमणबाट भएको मृत्युले यो समस्याको गम्भीरतालाई पुनः सतहमा ल्याएको छ । बिहानै दूध बेच्न निस्किएका घिमिरेलाई जङ्गल फर्किंदै गरेको हात्तीको समूहले आक्रमण गरेको थियो । अहिले यो क्षेत्रमा साँझ पर्नेबित्तिकै सन्नाटा छाउँछ । वडा सदस्य दिलिपप्रसाद दाहालका अनुसार गाउँमा कतिखेर के हुने हो भन्ने त्रासले बालबालिका स्कुल जान डराइरहेका छन् भने अभिभावकहरू चिन्तित छन् । नगरपालिकाले माइकिङ गरेर सतर्क रहन आग्रह गरे पनि ज्यानकै सुरक्षा नभएपछि स्थानीयमा आक्रोश बढ्दो छ ।
विज्ञहरूका अनुसार मोरङमा हात्तीको यो उपस्थितिको पछाडि पर्यावरणीय र मानवीय दुवै कारण छन् । हात्ती संरक्षणकर्मी अर्जुन कार्कीका अनुसार यो क्षेत्र हात्तीहरूको ऐतिहासिक बाटो हो । भारतबाट नेपाल छिरेका करिब ८४ वटा हात्तीमध्ये ५० भन्दा बढी अहिले मोरङका विभिन्न वनक्षेत्रमा रहेका छन् । “हामीले जताततै विद्युतीय बार लगाएर उनीहरूको बाटो छेकिदियौँ, जसले गर्दा हात्तीहरू ‘आक्रामक’ र ‘बदमास’ बनेका छन्’’–कार्की भन्छन् । जङ्गलमा खानाको अभाव र मानिसले फालेका खानेकुराको स्वादका कारण हात्तीहरू गाउँ पस्ने क्रम बढेको उनको भनाइ छ ।
डिभिजन वन अधिकृत उत्सव थापाका अनुसार यसपटक झापाको कन्काई नदीमा आएको बाढीले गर्दा हात्तीहरू फर्कन नसकेर मोरङतिरै मोडिएका हुन् । हात्तीहरूले अहिले मोरङकै वनक्षेत्रलाई आफ्नो प्रजनन् र बासस्थानको केन्द्र बनाउन थालेका छन् । “हात्तीहरूले यहाँ बच्चा जन्माइरहेका छन् र सुरक्षित महसुस गरिरहेका छन्, यो मोरङका लागि नयाँ र चुनौतीपूर्ण अवस्था हो”– थापाले भने ।
हात्तीको समस्या विकराल बन्दै जाँदा वन कार्यालयसँग भने त्यसलाई जुध्ने न्यूनतम् पूर्वाधार समेत छैन । थापाका अनुसार जिल्ला तहको जनशक्तिले मात्र यो समस्या समाधान गर्न असम्भव छ । उनी भन्छन्, “हामीसँग न त तालिमप्राप्त भेटेरिनरी टोली छ, न त आधुनिक उपकरण नै । प्रदेश सरकारले नै एउटा ‘हाइटेक’ वन्यजन्तु द्वन्द्व नियन्त्रण युनिट नबनाउने हो भने स्थिति नियन्त्रण बाहिर जाने निश्चित छ ।”
यता विज्ञ कार्की भने हात्तीलाई लखेट्ने वा थुन्ने वैज्ञानिक विधि नभएको तर्क गर्छन् । उनी हात्तीको मनोविज्ञान बुझेर ‘सहअस्तित्व’ को नीति अपनाउनुपर्नेमा जोड दिन्छन् । हात्तीलाई नजिस्काउने र उसको बाटो नछेक्ने हो भने आक्रमण कम हुने उनको दाबी छ ।
तत्कालका लागि जङ्गलभित्रै पानी र आहाराको व्यवस्थापन गर्ने प्रयास भइरहे पनि मोरङबासीले हात्तीको त्रासबाट मुक्ति पाउन प्रदेश र केन्द्र सरकारको ठोस हस्तक्षेप तथा बजेटको प्रतीक्षा गरिरहेका छन् ।































