धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्याथोलोजी युनिट स्थापनाको २५ औं वर्ष पुगेको अवसरमा विभागले बृहत् अनुभव साटासाट कार्यक्रम गरेको छ । 

सन् १९९९ देखि २०२५ सम्म यस प्रतिष्ठानमा स्नातकोत्तर(पिजी) अध्ययन गरी देशविदेशमा काम गरिरहेका चिकित्सक तथा प्राविधिकहरूको शुक्रबार र शनिबार प्रतिष्ठानमा जमघट गरिएको हो । 

प्याथोलोजी विभागकी प्राध्यापक तथा प्रतिष्ठानकी प्रवक्ता डा. अन्जु प्रधानका अनुसार कार्यक्रममा हालसम्म यहाँबाट पिजी गरेका १ सय १९ जना चिकित्सकहरू रहेका छन् । यहाँ अध्ययन गरेर विभिन्न देशका अस्पतालमा कार्यरत रहँदा भएका अनुभव आदान–प्रदान तथा उपलब्धिबारे छलफल भएको विभागीय प्रमुख प्रा.डा. स्मृति कार्कीले जानकारी दिइन् । 

शुक्रबार चिकित्सक तथा प्राविधिकहरूबीच अनुभव आदान–प्रदान गरिएको छ । शनिबार भने अमेरिका, बङ्गलादेश, भारत र नेपालबाट सहभागी चिकित्सकहरूले विश्वमा फैलँदोक्रममा रहेको फोक्सोको क्यान्सरको उपचारका नयाँ प्रविधि, विद्यमान चुनौतीहरूबारे प्रस्तुति दिने प्रा.डा. प्रधानले जानकारी दिइन् ।

प्रा.डा. ममता लाखे, प्रा.डा. अमरनाथ ठाकुर, प्रा.डा. अरविन्दकुमार सिन्हा र डा. सागरराज पाण्डेले फोक्सोको क्यान्सर रोकथाम, उपचार, नयाँ प्रविधिबारे आफ्नो प्रस्तुति दिनेछन् । उनीहरू प्रतिष्ठानबाट स्नातकोत्तर गरेका चिकित्सकहरू हुन् ।  

प्याथोलोजी रिपोर्टका आधारमा चिकित्सकहरूले रोग निदानका लागि प्रेस्क्रिप्सन गर्ने भएका कारण प्राविधिकहरूको महत्वपूर्ण योगदान भएको भन्दै वरिष्ठ प्राविधिकहरू दीपकनारायण चौधरी, सहदेव राम, भगवती भट्टराई, मञ्जुकुमारी साह, सुशीला सुवेदीलाई सम्मान गरिएको छ ।