धरान । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका निलम्बित उपाध्यक्ष राजकुमार लामा उर्फ विश्वक्रान्ति विगत भूमिगत सङ्गठनमा संलग्न रहेको पाइएको छ ।

विभिन्न नामबाट आफ्नो परिचय बनाएका उनको वास्तविक ठेगाना धनकुटाको पाख्रीबास नगरपालिका–९ हो । उनको पारिवारिक पृष्ठभूमि सामान्य खेतीकिसानी रहेको पाइएको छ । तर संयुक्त जातीय मुक्ति मोर्चाका सञ्चार विभाग प्रमुख बनेपछि उनको जीवनशैली साथै राजनीतिक स्टाटस पनि उक्सिएको जानकारहरू बताउँछन् ।

हाल उनी उपत्यकाको बूढानीलकण्ठ नगरपालिका–११ कपनमा बस्दै आएका छन् । २०६८ साल फागुन १५ गते नेपाल आयल निगमको गेटअगाडि बम विष्फोट गराएपछि उनी स्वयम्ले फोन गरेर घटनाको जिम्मा लिएको समाचारहरूमा उल्लेख छ । उनले विभिन्न सञ्चारमाध्यममा टेलिफोन गरी आफूले बम पड्काएको दाबी गरेको उल्लेख गरिएको छ ।

तत्कालीन समयमा झलनाथ खनाल प्रधानमन्त्री रहेका थिए भने गृहमन्त्री विजयकुमार गच्छदार रहेका थिए । सो विष्फोटनमा दुई जनाको घटनास्थलमै र एकजनाको वीर अस्पतालमा मृत्यु भएको थियो भने घटनामा ७ जना घाइते भएका थिए । उक्त घटनाको केही समयपश्चात् उनी पक्राउ पनि परेका थिए । उनले काठमाडौँबाट प्रसारित सगरमाथा टेलिभिजनमा प्रत्यक्ष (लाइभ) अन्तरवार्ता दिँदै आगामी दिनमा थप भयङ्कर विष्फोट हुनसक्ने बताएका थिए । तत्कालीन समयमा अनलाइन खबर, इ–कान्तिपुर डटकमहरूले उक्त समाचार लेखेका थिए ।

उक्त घटना गराउनुपर्ने कारण चाहिँ जनतालाई महँगीको भार बोकाएको र अभाव गराउने सरकारलाई चेतावनी स्वरूप बम विष्फोट गराएको उल्लेख गरेको मिडियाहरूले उल्लेख गरेका थिए । यतिसम्म कि उनले अन्तरवार्तामा भनेका थिए, “सरकारसितको वार्ता भङ्ग गर्दै हामी जनयुद्धमा जान लागेको सङ्केत पनि हो ।” उनले अन्य स्थानमा पनि पड्कन सक्ने र थप शक्तिशाली हुनसक्ने बताएका थिए । उनले तत्कालीन समयमा नेपालमा भ्रष्टाचार सबैभन्दा बढी हुने नगरपालिका, गाविस, कर, काठ तस्करी हुने ठाउँ, आयल निगम, मिस कलको पनि पैसा लिने एनसेलको टावर लगायतमा पड्कने सक्ने सङ्केत गरेका थिए ।

२०६८ साउन २६ गते सरकारले संयुक्त जातीय मुक्ति मोर्चासित वार्ता गरेको थियो । उनी मोर्चाको सञ्चारविभाग प्रमुखको जिम्मेवारीमा थिए । उनको अर्को नाम देवराज लामा पनि हो । त्यहीबेला मोर्चाले विज्ञप्ति जारी गर्दै घटना आफूहरूले नगराएको बताएको थियो । आयल निगमअगाडि गरिएको विष्फोटमा धाधिङ वैरेनीका ३४ वर्षीय कृष्णबहादुर तामाङ, ७० वर्षीय मानबहादुर तामाङको ज्यान गएको थियो । अर्का एक वृद्धाको पहिचान भने खुल्न सकेको थिएन । तत्कालीन समयमा ३५ वर्षीय सोम तामाङ, ४० वर्षीय विष्णुप्रसाद तुलारा, ४५ वर्षीय रघुनाथ खड्का, ६५ वर्षीय लालबहादुर तामाङ, ४० वर्षीय मानबहादुर कुँवर, २१ वर्षीय मीनबहादुर कुँवर र २० वर्षीय भक्तपुर निवासी वासु श्रेष्ठ रहेका थिए ।

पुनः २०६९ असार १२ गते पाँचथरको साविक लुङ्रुप्पा–२ भुसपातेमा विष्फोटक पदार्थसहित उनी पक्राउ परेका थिए । उक्त घटनापश्चात् उनलाई नख्खु कारागार पठाइएकोमा २०७६ सालमा प्रजातन्त्र दिवसको अवसरमा उनी आममाफी पाई रिहा भएका थिए । तर, उनी पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेका थिए । सोही मुद्दामा उनी मङ्गलबार पक्राउ परेका हुन् ।