धरान । पितृतर्पण तथा श्राद्धका लागि प्राचीन महत्व बोकेको धरान–२० स्थित विष्णुपादुका मन्दिरमा मन्दिर विकास व्यवस्थापन समितिले पार्किङ व्यवस्थापनमा ध्यान नदिएको पाइएको छ ।
सयौँको सङ्ख्यामा पितृतर्पणका लागि विभिन्न स्थानबाट भक्तालुहरू सवारी साधन ल्याएर आउने गरेका छन् । तर, त्यसका लागि पार्किङलगायतको व्यवस्थापन नगरिएको भन्दै यातायात व्यवसायी सरोज श्रेष्ठले दुई दिनअघि सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरेका थिए । विष्णुपादुका मन्दिर विकास व्यवस्थापन समितिले यस पटक खासै चासो नदेखाउँदा पार्किङ अस्तव्यस्त बन्ने खतरा बढेको छ । तर, व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौलाले भने, “३ हजारभन्दा बढी सवारी साधनलाई पार्किङ गर्ने गरी निर्माण गरेका छौँ ।”
उनले पार्किङ निर्माण गर्ने कार्य समितिको भन्दा पनि धरान उपमहानगरपालिकाको दायित्वभित्र रहेको बताए । “नगरपालिकाको दायित्वभित्र पर्छ । नगरपालिकाको डोजरहरू बिग्रिएर बन्न सकेन तर मन्दिरले नै खर्च गरेर अहिले बनाइसकेका छौँ” –उनले भने । उनका अनुसार पितृ श्राद्धका दिन मात्रै विष्णुपादुकामा करिब ४० हजार भक्तालुहरू आउने गरेका छन् । “गतवर्ष ४० हजार जति आएका थिए”–उनले भने । धरान–२० का अध्यक्ष पदम सुब्बाले समितिले चासो नदिएका कारणले पार्किङलगायतका कार्यमा ढिलाइ भएको बताए ।
उनले भने, “नगरले पार्किङ बनाइदिन्छ । तर नगरमा छिट्टै गएर माग गर्नुपर्छ नि । समितिको कर्तव्य चाहिँ के हो ? समयमा जानुपर्यो नि ? वडाबाट गर्नुपर्ने सिफारिस गरिदिइहाल्थ्यौँ । अन्तिममा आएर जहिले पनि नगरले गर्नुपर्छ भनेर हुन्छ ?” उनले काम चलाउका लागि काम भइरहेको बताए । विगतको जस्तो पार्किङ निर्माण गर्न नसकिएको उनले बताए ।
यातायात व्यवसायी श्रेष्ठले बुधबार दिनभर खटेर सुधार गरिएको बताए । “साता दिनअगाडि नै तयार गर्नुपर्ने, यो पटक ढिलाइ चाहिँ भएको हो । केही सुधार भएको छ तर विगतजस्तो भएको देखिँदैन”–उनले भने । एक दिनअघि यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतले उक्त क्षेत्रको अनुगमनसमेत गरेको थियो । अनुगमन गर्दा व्यवस्थित नभएको पाइएपछि फेसबुकमा चिन्ता व्यक्त गरिएको थियो ।
































