धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ह्वीलचियर पुल सञ्चालनमा ल्याइएको छ ।

बिरामीहरूलाई निःशुल्क रूपमा ह्वीलचियर तथा ट्रली उपलब्ध गराउने उद्देश्यले ‘सेन्ट्रल ह्वीलचियर एन्ड ट्रली पुल’ को आइतबार उद्घाटन गरिएको हो । प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले पुलको उद्घाटन गरे । उद्घाटनको अवसरमा उनले पुललाई निरन्तर सञ्चालनमा ल्याउनका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् । विभिन्न दाताहरूको सहयोगमा प्रतिष्ठानको जीओपिडी भवनअगाडि पुल सञ्चालनमा ल्याइएको छ । 

यस क्रममा विभिन्न दाताहरूले १६ थान ह्वीलचियर र एक थान ट्रली उपलब्ध गराएका छन् । जसमध्ये १५ थान ह्वीलचियर प्रतिष्ठानका हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पोखरेलको आमा सरिता पोखरेलले उपलब्ध गराएकी हुन् । एक थान छवी ट्रेड कन्सर्नले उपलब्ध गराएको हो ।

यस्तै एक थान ट्रली शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्माले उपलब्ध गराएका छन् । ह्वीलचियर र ट्रली भण्डारणका लागि पुल धरान–१ निवासी ललित अग्रवालले टहरा निर्माण गरिदिएका छन् । पुल सञ्चालनका लागि आवश्यक जनशक्ति प्रतिष्ठानले उपलब्ध गराउने भएको छ । यस्तै मर्मत तथा सम्भारका लागि प्रत्येक ओपीडी टिकटबाट २५ पैसाका दरले छुट्याइने प्रतिष्ठानका प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले जानकारी दिइन् ।

बिरामीलाई आवश्यकता परेका बेलामा ह्वीलचियर र ट्रली प्रयोग गर्न सक्ने जनाइएको छ । पुल सञ्चालनका लागि प्रतिष्ठानले एनेस्थेसिया विभागका प्रा.डा. आशिष घिमिरेको संयोजकत्वमा १२ सदस्यीय सेन्ट्रल ह्वीलचियर तथा ट्रली पुल सञ्चालक समिति गठन गरेको छ ।