विराटनगर । विवादको चौघेरामा परेर बिक्री बन्द भएको भारतीय औषधि उत्पादक कम्पनी ‘एलर्जीन’ को उत्पादनलाई बिक्रीका लागि खुला गरिएको छ ।
नेपाल औषधि व्यवसायी सङ्घ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एलर्जीन’ का उत्पादनहरूको खरिद तथा बिक्री वितरणमा रोक लगाएको थियो । कम्पनीको नेपालका लागि आधिकारिक आयातकर्ता ‘प्रिया ट्रेडिङ प्रा.लि.’ ले व्यवसायीहरूको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि सङ्घले औषधिको खरिद फुकुवा गरेको हो ।
सोमबार आयातकर्ता कम्पनीले सङ्घको विधानअनुसार नै म्याद गुज्रिएका औषधिको सोधभर्ना दिने सहमति पत्र पठाएपछि समस्या समाधान भएको हो । नेपाल औषधि व्यवसायी सङ्घ कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले व्यवसायीहरूको माग पूरा भएको जानकारी दिँदै अब उक्त कम्पनीका औषधि निर्धक्क खरिद गर्न प्रदेशभरका व्यवसायीहरूलाई आह्वान गरेका छन् ।
के थियो विवाद ?
विशेषगरी आँखासम्बन्धी जेल तथा ड्रपहरू उत्पादन गर्ने एलर्जीन कम्पनीको आयातकर्ता प्रिया ट्रेडिङले म्याद गुज्रिएका औषधि फिर्ता लिने सन्दर्भमा आफूखुसी नियम लाद्न खोजेपछि विवाद सुरु भएको थियो ।
आयातकर्ताले औषधिको म्याद सकिएको ९० दिनपछि फिर्ता नलिने अडान राखेको थियो । यता नेपाल औषधि व्यवसायी सङ्घको ‘सोधभर्ना तथा क्षतिपूर्ति नियमावली–२०६५ (संशोधित २०८१) अनुसार म्याद गुज्रिएका औषधिहरू खुद्रा बिक्रेता (रिटेलर) बाट १८ महिनासम्म र थोक बिक्रेता (होलसेलर) बाट २१ महिनासम्म फिर्ता लिई शतप्रतिशत सोधभर्ना दिनुपर्ने स्पष्ट व्यवस्था छ ।
आयातकर्ताले सङ्घको उक्त नियम पालना नगरेको र व्यवसायीलाई मर्का पर्ने गरी अडान राखेको भन्दै सङ्घले आइतबारदेखि कोशी प्रदेशभर एलर्जिनका उत्पादन खरिद नगर्ने निर्णय गरेको थियो । सङ्घले आयातकर्तालाई सच्चिन आग्रह गर्दै अन्यथा कठोर कदम चाल्ने चेतावनी दिएको थियो । सङ्घको चेतावनीपछि आयातकर्ता प्रिया ट्रेडिङ प्रा.लि.का व्यवस्थापक श्याम महर्जनले सोमबार सङ्घलाई पत्र लेख्दै सङ्घको नियमावली मान्न तयार रहेको बताएका छन् ।
पत्रमा भनिएको छ, “नेपाल औषधि व्यवसायी सङ्घको प्रचलित सोधभर्ना तथा क्षतिपूर्ति नियमावली २०६५ (संशोधित) परिमार्जित २०८१ अनुसार नै क्षतिपूर्ति सोधभर्ना दिइने प्रतिबद्धता जाहेर गर्दछौं ।”
आयातकर्ता कम्पनीले आफ्नो गल्ती सच्याउँदै व्यवसायीमैत्री नियम मान्न तयार भएपछि सङ्घले खरिदमा लगाएको प्रतिबन्ध हटाएको अध्यक्ष काफ्लेले स्पष्ट पारे । यो सहमतिसँगै अब कोशी प्रदेशका अस्पताल, फार्मेसी र थोक बिक्रेताहरूले एलर्जीन कम्पनीका औषधिहरू सहजरूपमा खरिद–बिक्री गर्न पाउने भएका छन् ।
































