धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काङ्ग्रेसका नेता एवम् विघटित प्रतिनिधिसभाका सांसद् सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार विशेष अदालतमा चालिसेविरुद्ध मुद्दा दायर गरेको हो । उनीविरुद्ध साढे तीन करोडभन्दा बढी अकूत सम्पत्ति कमाएको भन्दै आयोगले मुद्दा दायर गरेको हो । गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर प्रमुखसमेत रहेका उनी २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनबाट काठमाडौँ ३ बाट निर्वाचित भएका थिए ।
अख्तियारका अनुसार उनीविरुद्ध तीन करोड ६८ लाख ४७ हजार चार सय ६१ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिबाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरिएको हो ।
उनले गैरकानूनी रूपमा अकूत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले आरोपपत्र दायर गरेको छ । उनलाई नेपाली काङ्ग्रेसले आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ ३ बाट एकल नाम सिफारिस गरेको छ ।
































