धरान । २० औँ ललित–अम्बर डिपो कपअन्तर्गत आइतबारको क्वार्टर फाइनल खेलबाट डिपो स्कुल र आइडियल स्कुल अन्तिम चारमा प्रवेश गरेका छन् ।
डिपो स्कुलको खेलमैदानमा जारी खेलमा आयोजक डिपो सेकेन्डरी स्कुलले कारमेल हाइस्कुललाई ४–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको छ । डिपोको तर्फबाट आशिष जिमी, इसाक लिम्बू, श्रीहाङ राई र करण खड्काले समान १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच कारमेल हाइस्कुलका आयसा शाक्य घोषित भइन् । यस्तै दोस्रो खेलमा आइडल इङ्लिस बोर्डिङ स्कुलले नोबेल एकेडेमी स्कुललाई २–१ गोलअन्तरले पराजित गरेको छ । आइडलको तर्फबाट सौरभ राईले दुई गोल गर्दा नोबेलबाट रेहान रसाइलीले एक गोल गरे ।
यता आइतबार नै भएको स्वर्गीय दिलकुमार प्लेट च्याम्पियनतर्फ जोल साया एकेडेमी र सिद्धार्थ शिशु सदन विजयी भएका छन् । जोल सायाले एप्पल मन्टेश्वरीलाई ६–० गोलले हराउँदै विजयी भएको हो । जोल सायाको तर्फबाट अनिश राई, युनितम राईले दुई–दुई गोल गर्दा एक्सन राई र अग्नि कालिकोटेले समान १–१ गोल गरे । यस्तै दोस्रो खेलमा समिट स्कुललाई सिद्धार्थ शिशु सदनले २–० गोलले हराएको छ । सिद्धार्थबाट दुवै गोल आदित्य नेपालले गरे । दिलकुमार प्लेट च्याम्पियन पराजित हुने टिमबीच गराउँदै आएको छ ।
आज (सोमबार) चार खेल हुने आयोजकले जनाएको छ । जसमा नेपाल पुलिस स्कुलविरुद्ध इम्मानुयल इङ्लिस बोर्डिङ स्कुलबीच पहिलो खेल हुँदै छ भने दोस्रो खेल लिगामेन्ट स्कुलविरुद्ध धरान इङ्लिस बोर्डिङ स्कुलबीच हुँदै छ । यस्तै प्लेट च्याम्पियनतर्फ हिमशिखर इङ्लिस बोर्डिङ स्कुल र माउन्ट हर्मन एकेडेमीबीच पहािले खेल हुँदै छ भने दोस्रो खेल प्रभात इङ्लिस बोर्डिङ स्कुल र युनाइटेड गोर्खा एकाडेमीबीच हुँदै छ ।
डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललितबहादुर लिम्बू र हालका अध्यक्ष अम्बरबहादुर लिम्बूको नाममा प्रतियोगिताको नामकरण गरिएको हो । कक्षा ५ सम्मका विद्यार्थीहरूलाई लक्षित गरिँदै प्रतियोगिता गरिँदै आएको छ ।

































