नेपालीमा एउटा उखान छ–“१२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राखे पनि उस्ताको उस्तै” । अहिले नेपाली राजनीतिक वृत्तमा यो उखान चरितार्थ छ । कारण भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले नेपाली राजनीतिमा उलटफेर ल्याइदियो । भ्रष्टाचार, सुशासन, ‘नेपो किड्स’ आदिका बारेमा ट्रोल बन्यो । राजनीतिमा पुस्तान्तरणको व्यापक चर्चा चल्यो । आन्दोलनको केही समयसम्म यस्ता विषयले व्यापकता पनि पाए । तर जति जति आन्दोलन सेलाउँदै गयो, त्यति त्यति यो मुद्दा पनि सेलाउँदै गयो । मुद्दा मात्रै सेलाएन अहिले अन्ततः नेपाली राजनीति पुरानै लयमा फर्किएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ६० कटेका साथै लामो समय सरकारको विभिन्न पदमा रहेकाहरुकै हालीमुहाली देखिन थालेको छ । यसले पुस्तान्तरणको प्रश्न र जेन जी आन्दोलनको मूल मर्मको अन्त्य भएको छ । हाम्रो राजनीतिक दल र संस्कारमा कहीँकतै परिवर्तन देखिने सङ्केत देखिएको छैन । यसले नेपाली राजनीति मात्रै हैन, देशको भाग्य र भविष्यमाथि थप चिन्ता बढेको छ । ‘आउटडेटेड’ पुस्ताले नेपाली राजनीतिलाई थिलथिलो बनाइरहेका थिए । अझै बनाउने सङ्केत देखिएको छ । चुनावमा उठेका पुराना अनुहारले न हिजो उल्लेखनीय कार्य गरेका थिए, न भोलि गर्नेछन् । त्यसो हुँदा देशको अवस्था जुन अवस्थामा थियो, त्योभन्दा बिग्रिने हो कि भन्ने संशय कायम छ ।

पुराना नेता सबै खराब छन्, नयाँ सबै ठीक छन् भन्ने भाष्य निर्माण गर्न खोजिएको हैन । तर युवापुस्तामा जुन हुट्हुटी र काम गर्ने इच्छाशक्ति हुन्छ, त्यो पुराना नेतामा हुँदैन भन्ने एउटा प्राकृतिक नियमलाई आधार मानेर भनिएको हो । नेपाली काङ्ग्रेसले सिफारिस गरेका नामहरु हेर्दा नै अब के हुन्छ भन्ने कुरा पुष्टि भएको छ । अर्कोतिर, नेकपा (एमाले) को ११ औं महाधिवेशनले फेरि पनि ओलीलाई ल्याउने जुन कसरत गरिरहेको छ, यसले पनि अब के हुन्छ भन्ने प्राक्कल्पना गर्न गाह्रो पर्दैन । जसले देशलाई यो हालतमा पु¥यायो, उही फेरि निर्वाचनमार्फत् जितेर आउँदा के हुन्छ भन्ने बुझ्न “जुँगा चल्यो कुरा बुझ्यो” भन्ने उखान जस्तै हो । नेपाली राजनीति र राजनीतिक अवस्था परिवर्तन नभएसम्म यो देशले कायापलट गर्दैन । जति नै समृद्धि र विकासको नारा अलापे पनि त्यसले केही अर्थ राख्दैन । काङ्ग्रेसले झापा, मोरङ, सुनसरी र उदयपुरका १७ निर्वाचन क्षेत्रबाट क्षेत्रीय समितिहरुले सिफारिस गरेका ५४ जनाको नामावली अध्ययन गर्दा काङ्ग्रेसमा रुपान्तरणको नारा केवल भाषणमा सीमित छ भन्ने पुष्टि गरेको छ । व्यवहारमा अझै पनि काङ्ग्रेस सुध्रिन सकेको छैन । केही नेताहरुले विशेष महाधिवेशनमार्फत् सत्ता परिवर्तनको कुरा जोडदार रुपमा उठाइरहेका छन् । तर, मुद्दा स्थापित हुने सम्भावना कमै देखिन्छ । पुरानैलाई जुन निरन्तरता दिइरहेको छ, यसले नेपाली राजनीतिको दूरावस्थालाई चित्रण पनि गरेको छ । ७० को नजिक पुगेका नेताहरु पनि मैदान छोड्न तयार नदेखिनुले राजनीतिमा पुस्तान्तरण हुने सम्भावना न्यून छ भन्ने देखाउँछ । राजनीतिक दलहरूको यो विरोधाभाष शैलीका कारण पनि नेपाली राजनीति सुध्रिँदैन भन्ने सङ्केत हो ।

पटक–पटक अवसर पाएका र ‘टेष्टेड’ अनुहारहरु नै पुनः दोहोरिएपछि सबैजसो दलहरुका आम कार्यकर्ता तथा युवा पङ्क्तिमा तीव्र असन्तुष्टि देखिएको छ । अहिले नयाँ पार्टीहरुका उम्मेदवारहरुप्रति आकर्षण बढिरहेको वर्तमान राजनीतिक परिवेशले पनि अब सोच्नुपर्ने रहेछ भन्ने देखिएको छ । अब दलहरुले युवा नेताहरुलाई अघि नसार्ने हो भने परम्परागत मत गुम्ने खतरा छ । पुराना दलहरुले सच्चिएर नयाँ अनुहारलाई अवसर नदिए नतिजा भयानक हुनसक्छ । काङ्ग्रेस नेतृत्वले अब बुझ्न आवश्यक छ कि युवालाई अवसर र नेतृत्व हस्तान्तरणको बहस केवल निर्वाचनको मुखमा गरिने एउटा औपचारिकता मात्र होइन । अब पुराना पार्टीको भविष्य र लोकतन्त्रप्रतिको विश्वसनीयतासँग जोडिएको विषय हो । सिफारिस सूचीलाई केन्द्रले अन्तिम रुप दिँदा कम्तीमा यो तथ्य मनन् गरोस्, अन्यथा ‘पुस्तान्तरण’ को नारा खोक्रो सावित भई पार्टीले ठूलो मूल्य चुकाउनु पर्ने हुनसक्छ ।