विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सार्वजनिक मञ्चहरूमा जतिसुकै ‘पुस्तान्तरण’, ‘नेतृत्व हस्तान्तरण’ र जेन जीको कुरा गरे पनि व्यवहारमा भने त्यसको ठीक उल्टो देखिएको छ । कोशी प्रदेशका चार मुख्य जिल्लाहरूबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि भएको उम्मेदवार सिफारिसले काङ्ग्रेसमा रूपान्तरणको नारा केवल भाषणमा सीमित भएको पुष्टि गरेको छ ।
झापा, मोरङ, सुनसरी र उदयपुरका १७ निर्वाचन क्षेत्रबाट क्षेत्रीय समितिहरूले ५४ जनाको नाम सिफारिस गर्दा युवा अनुहार लगभग छायामा परेका छन् । सिफारिस सूचीमा ७० वर्ष काटेका, पटक–पटक मन्त्री भएका र बारम्बार परीक्षण भइसकेका ‘वृद्ध नेता’ हरूकै हालिमुहाली देखिएको छ ।
७० कटेका ‘वृद्ध नेता’ हरूकै वर्चस्व
पार्टीभित्र युवालाई अवसर दिनुपर्ने आवाज उठिरहँदा सिफारिस सूचीले भने निराशाजनक तस्बिर देखाएको छ । विशेषगरी मोरङ, सुनसरी र उदयपुरमा पुराना नेताहरूकै वर्चस्व छ ।
सुनसरी क्षेत्र नम्बर ३ बाट ७३ वर्षीय विजयकुमार गच्छदारको नाम सिफारिस भएको छ । २०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएका गच्छदार १२ पटक मन्त्री र ५ पटक उपप्रधानमन्त्री भइसकेका छन् । गत निर्वाचनमा पराजित भए पनि उनी पुनः टिकटको दौडमा छन् । यस्तै सुनसरी क्षेत्र नम्बर २ बाट ७३ वर्षीय सीताराम मेहता सिफारिसमा परेका छन् ।
यस्तै सुनसरी क्षेत्र नंं. ४ बाट ज्ञानेन्द्र कार्कीको नाम सिफारिस भएको छ । उनी पनि ६५ भन्दा बढी उमेर समूहका व्यक्ति हुन् । उनी सुनसरीबाट पटक–पटक अवसर पाएर मन्त्री भएका व्यक्ति हुन् ।
उमेरले ८० को नजिक पुगेका नेताहरू पनि मैदान छोड्न तयार देखिएनन् । उदयपुर क्षेत्र नम्बर १ बाट ७९ वर्षीय डा. नारायण खड्काको नाम सिफारिस भएको छ । उनी २०६४ सालयता लगातार चार पटक निर्वाचित भइसकेका छन् ।
पार्टीको गढ मानिने मोरङमा पनि अवस्था उस्तै छ । मोरङ क्षेत्र नम्बर ६ बाट ७६ वर्षीय डा. शेखर कोइरालाको नाम सर्वसम्मत सिफारिस भएको छ । यस्तै मोरङ–४ बाट ७१ वर्षीय पूर्वअर्थमन्त्री महेश आचार्य पुनः उम्मेदवार बन्ने दौडमा छन् । आचार्य यसअघि पटक–पटक सांसद् र मन्त्री भइसकेका छन् ।
पुस्तान्तरण र युवाको पक्षमा वकालत गर्ने नेताहरू स्वयम् पनि पुरानै ढर्रामा देखिएका छन् । मोरङ क्षेत्र नम्बर २ बाट ६८ वर्षीय डा. मीनेन्द्र रिजाल सिफारिस भएका छन् । ‘जेन जी’ आन्दोलनको भावनाको सम्मान गर्नुपर्ने बताउने रिजाल आफैले भने पदको लोभ त्याग्न सकेका छैनन् ।
यस्तै झापा क्षेत्र नम्बर १ बाट महामन्त्री विश्वप्रकाश शर्मा सर्वसम्मत सिफारिस भए पनि अन्य क्षेत्रमा भने नातावाद र पुराना अनुहार हाबी छन् । झापा–३ बाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्ना छोरा श्याम सिटौलालाई अघि सारेका छन् । सिटौला हाल राष्ट्रिय सभा सदस्यसमेत हुन् ।
पटक–पटक अवसर पाएका र ‘टेष्टेड’ अनुहारहरू नै पुनः दोहोरिएपछि काङ्ग्रेसका आम कार्यकर्ता र युवा पङ्क्तिमा तीव्र असन्तुष्टि देखिएको छ ।
राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले पुराना दलहरूले सच्चिएर नयाँ अनुहार नल्याए नतिजा भयानक हुनसक्ने चेतावनी दिएका छन् । रास्वपा तथा स्वतन्त्र उम्मेदवारहरूप्रति आकर्षण बढिरहेको समयमा काङ्ग्रेसले पुनः ‘टेष्टेड’ र ‘वृद्ध’ नेताहरूलाई नै अघि सार्दा परम्परागत मत गुम्ने खतरा रहेको उनको विश्लेषण छ ।
काङ्ग्रेसले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई परिपत्र गरेको थियो । तर, प्राप्त सिफारिसहरूले काङ्ग्रेस नेतृत्वमा पुस्तान्तरणको बहस केवल देखावटी मात्र भएको प्रष्ट पारेको छ ।
कुन जिल्लाबाट को को भए सिफारिस ?
मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये दुईवटामा एकल नाम सिफारिस भएको छ । मोरङ क्षेत्र नम्बर ३ बाट डा. सुनिल शर्मा र क्षेत्र नम्बर ६ बाट डा. शेखर कोइरालाको नाम सर्वसम्मत सिफारिस भएको छ । अन्य क्षेत्रहरूमा भने एकभन्दा बढी आकाङ्क्षी देखिएका छन् । मोरङ क्षेत्र नम्बर १ मा डिकबहादुर लिम्बू, खड्ग फागो र दिव्या बस्नेतको नाम पठाइएको छ भने क्षेत्र नम्बर २ मा डा. मीनेन्द्र रिजाल, शिवनारायण सिंह र नारायणी पण्डित सिफारिसमा परेका छन् ।
त्यस्तै क्षेत्र नम्बर ४ बाट महेश आचार्य, दिलिप गच्छदार, गुरुराज घिमिरे र विनोद बस्नेत तथा क्षेत्र नम्बर ५ बाट हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदीको नाम सिफारिस गरिएको छ ।
झापामा ६६ जना उम्मेदवार सिफारिस
भद्रपुर समाचारदाता उत्तम नेपालका अनुसार नेपाली काङ्ग्रेस झापाले प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय समितिबाट आएका प्रत्यक्ष र समानुपातिकतर्फका ६६ जना उम्मेदवारकै नामावली कोशी प्रदेश समितिमा सिफारिस गरेको छ ।
काङ्ग्रेसको विधान बमोजिम झापाका पाँचवटा संसदीय निर्वाचन क्षेत्रबाट सिफारिस भई जिल्ला कार्यसमितिमा आएका उम्मेदवारको नामावली सर्वसम्मत रूपमा कोशी प्रदेश समितिमा सिफारिस गरेको हो ।
झापाका सबै क्षेत्रमा आकाङ्क्षी उम्मेदवारको नामावली विवादरहित ढङ्गले सिफारिस भएको झापाका सभापति देउकुमार थेवेले जानकारी दिए । झापामा पनि प्रायः पुरानै अनुहार सिफारिस भएका छन् ।
झापा क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ रामबहादुर कट्टेल, खड्गबहादुर धिमाल, नारायण गिरी, गोमा भट्टराई, राधा कार्की र शोभा श्रेष्ठ नेम्बाङको नाम पठाइएको छ ।
यसैगरी झापा क्षेत्र नं.२ मा प्रत्यक्षतर्फ सरिता प्रसाईं, छत्रबहादुर गिरी र सजेश शिवाकोटीको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ सीता पौडेल, उमा शिवाकोटी, हस्त परियार, मीरा खड्का, उर्मिला पोखरेल, देवी निरौला बस्नेत, मनुमाया विश्वकर्मा, पाण्डवलाल चौधरी, रणदेव हजाम र कृष्णबहादुर श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
यसैगरी झापा क्षेत्र नं.३ मा प्रत्यक्षतर्फ नवीन विमली, भगिरथ पोद्दार, शर्मिला अधिकारी, टिकाराज ढकाल, सिताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे, देउप्रसाद लावुङ लिम्बूको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ सुशीला ढकाल, हरिकृष्ण घोष, खड्ग राजवंशी, बडाराम हेमरम, सीतादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, लालबहादुर कन्दङ्वा र शीला तामाङको नाम पठाइएको छ । क्षेत्र नं.४ मा प्रत्यक्षतर्फ देउकुमार थेवे, उत्तमबहादुर चौंलागार्इं, धनमाया चिमरियाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ सन्तोषकुमार मेन्याङ्बो, टङ्कबहादुर विश्वकर्मा, सूर्यनारायण ताजपुरिया, सुन्दर बेस्रा र मथुरादेवी श्रेष्ठ परेका छन् ।
त्यस्तै क्षेत्र नं.५ मा प्रत्यक्षतर्फ अइन्द्रविक्रम केरुङ, पदमबहादुर पौडेल, मन्दरा पौडेल चिमरिया, मेदनीप्रसाद सिटौला, देवीप्रसाद दाहाल, खगेन्द्रप्रसाद पाण्डव अधिकारी र सिरम कार्कीको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर–५ बाट समानुपातिकतर्फ भने महेन्द्राकुमारी लिम्बू, सुरेश सुब्बा, दिलिप राई, सत्यनारायण चौधरी, भूमिराज राई, चन्द्रा खड्का भट्टराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराइली, निरोज अग्रवाल, भीममाया उप्रेती (भुजेल) र रोहितकुमार साहको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।
क्षेत्रीय कार्यसमिति क्षेत्र नं.१ सुनसरीका सभापति सुजेन्द्र तामाङका अनुसार क्षेत्र नं. १ प्रत्यक्षतर्फ धरानका उमेश थापालाई पहिलो प्राथमिकतामा राखेको छ । उनी अघिल्लो प्रदेश सभा निर्वाचनमा परिजित भएका हुन् ।
यस्तै चन्द्रशेखर लामा, निर्मला गुरुङ, विनोदकुमार राई, सन्दीप श्रेष्ठ गरी ६ जनाको नाम सिफारिस गरेको छ ।
समानुपातिकमा अनुपमा सुनुवार, डा. आनन्द आचार्य, मीना पुलामी, मीना सुब्बा, श्यामा रेग्मीसहित १५ जनाको नाम सिफारिस गरेको छ ।
पूूर्वमन्त्री मीन विश्वकर्मालाई भने राष्ट्रिय सभामा सिफारिस गरिएको छ । यस्तै उमा बास्तोला, काशीराम चौधरी, गिरिराज आचार्य, हर्ष सुब्बालगायत १३ जनालाई रिफारिस गरिएको छ ।
सुनसरी क्षेत्र नं. २ मा प्रत्यक्ष तर्फ राजीव कोइराला, राजीव ढुङ्गाना र सीताराम मेहताको नाम सिफारिस गरिएको छ । उनीहरू पुरानै अनुहार हुन् । समानुपातिकमा नवोदिता चौधरी, दिलकुमारी राई, किरण पोखरलेलगायत १० जनाको नाम सिफारिस भएको छ । यस्तै राष्ट्रिय सभामा दिनेशचन्द्र सुवेदी, फुलराज सुवेदीसहित १३ जनाको नाम सिफारिस भएको छ ।
प्रतिनिधि सभा समानुपातिकतर्फ क्षेत्र नं. ३ बाट महेशप्रसाद बास्तोला, गोमा पराजुली, गौरीशङ्कर रौनियार, मो. अब्दुल मियाँसहित १९ जनाको नाम सिफारिस गरिएको छ ।
प्रत्यक्षमा पहिलो नम्बरमा विजयकुमार गच्छदारको नाम सिफारिस भएको छ । उनी भ्रष्टाचार मुद्दामा समेत परेका थिए । उनी यसअघि सुनसरी–३ बाट विजयी हुँदै पटक–पटक मन्त्री भएका व्यक्ति हुन् । उनीसँगै दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार र ओमकुमार थापा गरी तीनजनाको मात्र नाम सिफारिस गरिएको छ ।
राष्ट्रिय सभातर्फ हरि सापकोटा, कल्पना चौधरी, अगमलाल चौधरीलगायत ९ जनाको नाम सिफारिस गरेको छ ।
उदयपुर जिल्लाका २ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा परराष्ट्रमन्त्री डा. नारायण खड्का र विदुर बस्नेतलगायतको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ मा रामकुमार राई, सन्दीपकुमार थापा, कृष्णकुमार श्रेष्ठ र सरस्वती ढुङ्गानाकोे नाम पठाइएको छ । सम्बन्धित क्षेत्रीय समितिहरूले पठाएको यो सूचीमा अब जिल्ला र प्रदेश समिति हुँदै केन्द्रले अन्तिम उम्मेदवार चयन गर्नेछ ।
(उत्तम नेपाल भद्रपुरबाट)































