धरान । नेपालमा नसर्ने रोगबाट मृत्यु हुनेको सङ्ख्या उल्लेख्य वृद्धि हुँदै गएकोमा चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौँमा सम्पन्न एक कार्यशाला गोष्ठीमा नसर्ने रोगबाट ७१ प्रतिशत मानिसहरूको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गर्दै चिन्ता व्यक्त गरेका हुन् ।

 प्रतिष्ठानका शिक्षाध्यक्ष तथा केएचडीसी कार्यक्रम स‌याेजक प्रा‍.डा. सञ्जिवकुमार शर्माका  अनुसार केएचडिसी कार्यक्रम, एपडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, जेनेभा युनिभर्सिटी हस्पिटलले ‘नसर्ने रोग व्यवस्थापनसम्बन्धी पुस्तिका तथा सामग्रीहरू’ मा परामर्श तथा सुझाव सङ्कलन कार्यक्रमकाे आयाेजना गरेकाे हाे । उक्त परामर्श कार्यक्रममा नेपालमा कुल मृत्युको ७१ प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको उल्लेख गरिएको छ । तीमध्ये २ सय ५ जना अल्पायुमै मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठको अध्यक्षतामा मङ्सिर १९ गते आयोजना भएको गोष्ठीमा कोशी प्रदेशका स्वास्थ्य सचिव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतका प्रतिनिधि तथा विज्ञहरू सहभागी रहेका थिए । केएचडीसीले नेपालमा सन् २००३ देखि नै पूर्वी नेपालमा दीर्घ मिर्गौला रोग, उच्च रक्तचाप, मधुमेह तथा मुटुसम्बन्धी रोगहरूको बारेमा जनचेतना, रोकथान, शीघ्र पहिचान तथा व्यवस्थापनको काम गर्दै आएको प्रा.डा. शर्माले जानकारी दिए ।

प्राथमिक तहका स्वास्थ्यकर्मीहरूका लागि तयार गरिएको पुस्तिकामा इस्केमिक हर्ट डिजिज, हर्ट फेलियर र क्रोनिक किड्नी डिजिजको व्यवस्थापनसम्बन्धी तालिम तथा सामग्रीको आवश्यकताबारे पनि छलफल गरिएको थियो । समुदायमा सचेतना जगाउनुपर्ने र नेपाल सरकारको मापदण्ड अनुसार स्थानीय तहलाई जिम्मेवारी दिइनुपर्ने निष्कर्ष निकालिएको छ । समुदायका लुकेका रोगीहरूलाई उपचारको दायरामा ल्याउन र अकाल मृत्यु रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सन् २०२३ देखि सन् २०२७ सम्म जेनेभा युनिभर्सिटी हस्पिटल र के.एच.डी.सी. नेपालको सहकार्यमा कोशी प्रदेशका फुङ्लिङ, मेचीनगर तथा दमक नगरपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ । जसमा अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा कार्यक्रमले १४ हजार एक सय ४६ जना उच्च जोखिममा रहेका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको बीपी प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले जानकारी दिइन् ।