विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक अनियमितताको छानबिन गर्ने अधिकृतलाई नै कारबाहीमा परेका व्यक्तिको मातहतमा काम गर्ने गरी सरुवा गरेको पाइएको छ ।
सरकारी बजेट हिनामिनाको पुष्टि गर्ने कर्मचारीलाई पुरस्कृत गर्नुको साटो, उल्टै आरोपीकै कार्यालयमा खटाइएपछि उक्त अधिकृत राजीनामा दिने मुडमा देखिएका छन् । उदयपुर आयुर्वेद स्वास्थ्य केन्द्रमा भएको अनियमितताको छानबिन गरेका वरिष्ठ कविराज निरीक्षक विजयकुमार झालाई मन्त्रालयले १७ मङ्सिरमा भोजपुर जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयमा सरुवा गरेको हो । उनले जसको भ्रष्टाचार छानबिन गरेर दोषी औँल्याएका थिए, सोही प्रकरणका मुख्य आरोपी डा. गम्भीर झालाई पनि कार्यालय प्रमुख बनाएर भोजपुर नै पठाइएको छ । आफूले कारबाही सिफारिस गरेको व्यक्तिको मातहतमा बसेर काम गर्न नसकिने भन्दै वरिष्ठ कविराज निरीक्षक झाले राजीनामाको तयारी गरेका हुन् । मन्त्रालयको यो निर्णयलाई उनले ‘इमानदार कर्मचारीको अपमान’ को संज्ञा दिएका छन् ।
“मैले अनुगमन गर्दा देखिएको भ्रष्टाचारको प्रतिवेदन बुझाएँ र कारबाहीको सिफारिस गरेँ । तर सचिवज्यूले आरोपीलाई कारबाही गर्नुको साटो उल्टै उपहारस्वरूप मलाई नै पेल्ने गरी सरुवा गर्नुभयो” आक्रोशित हुँदै झाले भने, “उदयपुरमा भ्रष्टाचार गर्नेहरू इमानदार ठहरिए अनि छानबिन गर्ने मचैँ बेइमान ?” आफूमाथि अन्याय भएको भन्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमाण बुझाएर राजीनामा दिने बताए । यता झा कार्यरत स्वास्थ्य निर्देशनालय धनकुटाको रिक्त स्थानमा भने उदयपुरको अनियमितता प्रकरणमै मुछिएका कार्यालयका वरिष्ठ कविराज निरीक्षक मुकेशकुमार सिंहलाई पठाएको छ ।
के थियो अनियमितता प्रकरण ?
स्वास्थ्य निर्देशनालय धनकुटाका उपसचिव सोम अधिकारीको नेतृत्वमा गठित तीन सदस्यीय छानबिन समितिले डा. गम्भीर झालाई दोषी ठहर गरेको थियो । समितिले १८ भदौमा मन्त्रालयमा बुझाएको प्रतिवेदनअनुसार डा. झाले सुनसरीको एक फर्मको नाममा एक लाख ११ हजार ८ सय ४८ रुपैयाँको नक्कली बिल बनाएर औषधि खरिद गरेको देखिन्छ । निःशुल्क स्वास्थ्य शिविरमा स्टकमा रहेको पुरानो औषधि बाँडेर नयाँ किनेको भन्दै रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै कार्यालय परिसरमा रोप्ने भन्दै ४५ हजार रुपैयाँको आँप, लिची र कटहरका बिरुवा किनेको बिल बनाए पनि बिरुवा नरोपिएको छानबिन समितिको प्रतिवेदनमा देखाएको छ । यस्ता कैफियत देखिए पनि मन्त्रालयले ३० भदौमा डा. झालाई स्पष्टीकरण मात्र सोधेर उन्मुक्ति दिएको छ । कारबाहीस्वरूप निलम्बन वा विभागीय कारबाही हुनुपर्नेमा सामान्य सरुवा मात्र गरेर उनलाई चोख्याउने प्रयास गरिएको अर्का कमचारीको भनाइ छ ।
पहुँचवालालाई सुगमदेखि सुगममा
मन्त्रालयको सरुवा सूचीमा चरम् विभेद गरेको कर्मचारीहरूको गुनासो छ । आयुर्वेदतर्फका १५ कर्मचारीको सरुवा हुँदा पहुँचवालालाई ‘सुगमदेखि सुगममै’ र पहुँच नहुनेलाई दुर्गम पहाडी जिल्लामा पठाइएको कर्मचारी बताउँछन् ।
वरिष्ठ कविराज खगेन्द्र पौडेललाई दुई वर्ष नपुग्दै झापाको प्रादेशिक आयुर्वेद अस्पतालबाट सुनसरी जिल्ला आयुर्वेद अस्पतालमा सरुवा गरिएको छ भने ६ वर्षदेखि कार्यरत विजयकुमार झालाई पहाडी जिल्लाबाट पुनः पहाडी जिल्लामै पठाइएको छ । उनलाई हाल भोजपुर सरुवा गरिएको छ । कोशी प्रदेशका स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरेले सरुवा नियमित प्रक्रिया भएको दाबी गरे । सरुवाप्रति उनले भने, “मन्त्रालयले आवश्यकता अनुसार खटाएको हो, कर्मचारीले खटाएको ठाउँमा गएर काम गर्नुपर्छ ।” उनले सरुवाकै कारण कसैले राजीनामा दिने कुरा व्यक्तिगत भएकाले आफूले टिप्पणी गर्न नमिल्ने बताए ।
































