नेकपा (एमाले) आन्तरिक लोकतन्त्र बलियो भएको पार्टी हो भन्ने सङ्कथन अन्त्यको सँघारमा आइपुग्दै छ । नवौँ महाधिवेशनपश्चात् एमालेभित्र लोकतान्त्रिक पद्दतिको चिरहरण हुँदै गएको छ । यसको केन्द्रमा छन्–केपी शर्मा ओली । ओलीले निर्माण गरिरहेको पार्टी पद्दति, शैलीका कारण एमाले ठूलो दुर्घटनामा फस्दै छ भन्ने सङ्केत गरिरहेको छ । यसै पनि ओली लोकतान्त्रिक पद्दतिप्रति विश्वास नगर्ने प्रवृत्तिका छन् भन्ने उनका भनाइ र गराइहरुबाट प्रकट भइरहेका छन् । नवौँ महाधिवेशनबाट शिरमा चढेका उनी निरन्तर चढ्ने दाउमा पार्टीका विधान तथा नीति नियमहरुलाई परिवर्तन गराए । ती नियमहरुले अध्यक्षको घोडचढीमा अन्य व्यक्तिहरु हैन, उनी मात्रै अग्रस्थानमा उभिरहने सङ्केत देखाएका छन् । यो सङ्केतको पूर्वसङ्केत महेश बस्नेतका पछिल्ला वक्तव्यले पुष्टि गरिरहेको छ । 

“आफूमात्रै सर्वमान्य हुँ” भन्ने भाष्य निर्माण गरेर आफूप्रति वैपरित्य हुनेहरुलाई पाखा लगाउँदै गइरहेका छन् । पार्टीका पूर्व अध्यक्षद्वय माधवकुमार नेपाल, झलनाथ खनाल हुँदै वैपरित्य विचार राख्नेहरुलाई भित्तामा पु¥याउने प्रवृत्ति उनमा हाबी छ र “म मात्रै हुँ” भन्ने प्रवृत्तिले गाँजेको छ । लोकतान्त्रिक पद्दतिमा यस्तो हुनु निरङ्कुशताको प्रतीक मात्रै हैन, स्वेच्छाचारिताको अभ्यास पनि हो । ११ औँ महाधिवेशनको पूर्वसन्ध्यामा जे जे घटनाक्रमहरु रचिए । ती लोकतान्त्रिक मूल्यमान्यता र सिद्धान्त विपरीत थिए । विगतका विधिविधानलाई फालेर आफूपायक पर्ने किसिमको विधिविधान बनाउनु लोकतन्त्रको घाँटी निमोठ्नु नै हो । अहिले महाधिवेशनको पूर्वसन्ध्यामा भइरहेको महाविधेशन प्रतिनिधि छनोटमा जुन किसिमको प्रवृत्ति देखिएको छ; त्यो अध्यक्ष ओलीले निर्माण गरेको सङ्कथनको परिणाम हो । 

“महाधिवेशनमा मैले आफ्नो कुरा राख्छु, मेरो कुरा अरुले सुन्छन्, ताली बज्छ र महाधिवेशनको अन्त्य हुन्छ” भन्ने आशयको अभिव्यक्तिले उनको चरित्र र विशेषतालाई उजागर गरेको छ र त्यो महाधिवेशन प्रतिनिधिहरुमा पनि लागू हुन्छ भन्ने हो । ईश्वर पोखरेल निकटका प्रतिनिधिहरूलाई साम, दाम, दण्ड, भेद प्रयोग गरेर ‘ब्याक’ गराउने जुन प्रवृत्ति देखिएको छ, यसले पार्टीको लोकतान्त्रिक मूल्यमान्यतालाई तिलाञ्जलि दिइसकेको छ भनेर बुझ्नु पर्ने हुन्छ । यो परिस्थिति निर्माण गरेर पार्टीलाई कहाँ र कुन दिशामा पु¥याउँदै छन्, अध्यक्ष ओलीले । यसको गम्भीर समीक्षा नगर्ने हो भने नेकपा (एमाले) इतिहासमा नामेट भएर जाने सुनिश्चितप्रायः छ । “इतिहासमा थियो र ?” भन्ने अवस्था आउन केही लामो समय लाग्ला । तर आफूमात्रै सार्वभौम हो, पार्टीभित्रका कार्यकर्ता सार्वभौम हैनन् भन्ने मान्यता स्थापित भयो भने इतिहास मेटिन धेरै समय लाग्ने छैन । 

महाधिवेशन प्रतिनिधि छनौटमा जे जस्ता शृङ्खलाहरु देखिएका छन् । ती नितान्त ओली प्रवृत्ति हुन् । ओली प्रवृत्ति झाङ्गिँदै गएका कारणले यस्ता समस्या देखिएका हुन् । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनका लागि सङ्घर्ष र घर्षणहरु हुन आवश्यक छ । विगतका घर्षणहरुले नै नेकपा (एमाले) यो स्थानमा उभिन सफल छ । इतिहासको कालरात्रिमा हालका अध्यक्ष केपी शर्मा ओली कहाँ र कस्तो अवस्थामा थिए भन्ने सबैलाई ज्ञात भएको विषय हो । नेपाली राजनीतिमा उनको डेब्यू कसरी भयो भन्ने सबैलाई ज्ञात नै छ । यसकारण ओली पार्टी होइनन्, व्यक्ति हुन् । व्यक्तिले पार्टीलाई हाँक्नु हुँदैन । एउटा संस्थामा व्यक्ति कमसल हुन्छ, गौण हुन्छ । त्यहाँ सिद्धान्त, नीति, नियम र कानून सबैभन्दा माथि हुन्छ । पार्टी तथा संस्था अविच्छिन्न हुन्छ । व्यक्ति त आउँछ–जान्छ । यस मनोविज्ञानबाट एमालेका कार्यकर्ताहरु अगाडि बढ्नु पर्छ । जेन जी विद्रोहले पनि एमालेको हविगत कहाँ छ भन्ने देखाइसकेको छ । त्यसकारण एमालेजनले पार्टीलाई जोगाउन सङ्घर्षहरु गर्न जरूरी छ । ओली प्रवृत्तिको समूल नष्ट नभए पार्टी पनि टुक्के शैलीमै परिणत हुनेछ ।