धरान । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको एक अध्ययनले नेपालका हिमताल तथा हिमनदी क्षेत्रमा तीव्र परिवर्तन भई उच्च जोखिम रहेको उल्लेख गरेको छ । विस्तृत भू–उपग्रह विश्लेषणमा कोशी नदी बेसिनमा मात्र ४२ हिमताल ‘अत्यन्तै जोखिमयुक्त’ श्रेणीमा पहिचान गरेको छ । जसले तल्लो बस्तीहरूमा ठूलो विनाश निम्त्याउन सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् । 

इसिमोडले सन् २०२० मा गरेको अध्ययन अनुसार २०१५ का  स्याटेलाइट तस्बिरहरूको विश्लेषणबाट कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा ३ हजार ६ सय २४ हिमताल पहिचान गरिएका छन् । यीमध्ये १ हजार ४ सय १० हिमताल ०.०२ वर्ग किमीभन्दा ठूला छन्, जसलाई फुटेमा तल्लो भू–भागमा ठूलो क्षति पु¥याउन सक्ने आकारको मानिएको छ ।

यसमध्ये, हिमनदी सर्दै गएर तालहरू विशेष रूपमा जोखिमयुक्त देखिएको रिपोर्टमा उल्लेख गरिएको छ । 

नेपालमा ४७ हिमताललाई जोखिमयुक्त मानिएका छन् । तीमध्ये  ४२ वटा कोशी बेसिन परेका छन् । ३ गण्डकीमा, २ कर्णालीमा परेका छन् । यस्तै २५ वटा तिब्बत र एउटा भारतमा परेको छ । 

अध्ययनले २०११ को सूचीकृत २१ जोखिमयुक्त तालमध्ये १३ पुरानै ताल तथा ८ नयाँ पहिचान भएका ताल समावेश गरेको छ । यीमध्ये कोशी बेसिनलाई नेपालको सबैभन्दा जोखिमग्रस्त क्षेत्रका रूपमा पहिचान गरेको अध्ययनमा उल्लेख गर्छ ।

यसभन्दा अघि, नेपालका च्छो रोल्पा, इम्जा त्सो नामक दुई हिमतालको सतह घटाइएर जोखिम कम गरिएको थियो । विशेषज्ञहरूले जोखिमयुक्त ताल फुटेमा तल्लो भू–भागका बस्ती, पुल, सडक, जलविद्युत् आयोजना, कृषि भूमि तथा अन्य पूर्वाधारहरू ठूलो क्षति झेल्नुपर्ने चेतावनी दिएका छन् ।

शुक्रबार सङ्खुवासभाको खाँदबारीमा ‘नेपालका हिमनदी तथा हिमतालमा भइरहेको तीव्र परिवर्तनले उत्पन्न जोखिम’ विषयक अन्तरक्रियामा इसिमोडका विज्ञ शरदप्रसाद जोशीले सन् २०२० को प्रतिवेदन उद्धृत गर्दै जोखिमबारे अवगत गराएका छन् । 

उनका अनुसार नेपालभरका दुई हजार ६९ हिमतालमध्ये अकेले कोशी क्षेत्रमा ४२ अत्यन्तै जोखिमयुक्त समूहमा परेका छन् । हिमताल फुटे ठूलो जनधन र भौतिक संरचनामा विनाश निम्तिन सक्ने उल्लेख गर्दै जोशीले उच्च सतर्कता र पूर्वतयारीका  लागि सरोकारवाहरूलाई आह्वानसमेत गरेका छन्् ।  

सङ्खुवासभामा मात्रै भोटखोला र मकालु क्षेत्रका चार हिमताल उच्च जोखिममा परेको बताइएको छ । तीमध्ये तल्लो वरूण क्षेत्रमा पर्ने ठूलोपोखरी हिमताल सबैभन्दा संवेदनशील मानिएको छ । करिब तीन किलोमिटर लम्बाइ र करिब २ सय ६ मिटर गहिराइ अनुमान गरिएको उक्त हिमताल वरिपरि समेत १५ देखि २५ मिटर गहिराइका भाग रहेको प्रतिवेदनमा उल्लेख छ । 

जोशीले जल तथा मौसम विज्ञान विभाग र युएनडिपी नेपालको सहकार्यमा चार जोखिमयुक्त हिमतालका लागि जोखिम न्यूनीकरण योजना कार्यान्वयनमा रहेको जानकारी दिए । तल्लो वरूणस्थित ठूलोपोखरी पनि सो योजनामा समावेश छ । हिमताल फुट्ने अवस्था आए अरुण उपत्यकाका धेरै बस्ती तथा भौतिक संरचना प्रत्यक्ष जोखिममा पर्ने उनले बताए । तिब्बतबाट आउने १३ हिमताल पनि उत्तरी भेगका लागि सम्भावित खतरा बनेको अध्ययन प्रतिवेदनमा रहेको उनले बताएका छन् ।

अध्ययनले हिमताल फुटेर आउने बाढी सिमुलेसन प्रयोग गरी जोखिम क्षेत्र पहिचान गर्न तथा संवेदनशील बस्तीहरूलाई प्राथमिकतामा राखेर पूर्वतयारी कार्यक्रम विस्तार गर्नसमेत सुझाव दिएको छ ।

अध्ययनले रिमोट सेन्सिङमार्फत् प्राप्त जानकारीलाई स्थलगत अवलोकनमार्फत् पुष्टि गर्नुपर्ने र त्यसपछि मात्र औपचारिक जोखिम न्यूनीकरण कार्यक्रम लागू गर्न सकिने उल्लेख गरेको छ । अध्ययनले सरकार र समुदाय दुवैलाई सचेत गराएको छ ।  इसिमोड–युएनडिपीको निष्कर्ष अनुसार— जोखिमयुक्त हिमतालको सबैभन्दा ठूलो क्लस्टर कोशीमा छ । ती हिमतालका धेरै बाँध संरचनाहरू कमजोर छन् । ‘धेरै तालहरू सक्रियरूपमा बढ्दैछन्  र जलवायु परिवर्तनले जोखिम अझै बढाइरहेको छ’–अध्ययन प्रतिवेदनमा भनिएको छ । 

विशेषज्ञहरूले हिमताल फुटेर आउने बाढी जोखिम न्यूनीकरणका लागि पूर्वानुमान प्रणाली, प्राविधिक हस्तक्षेप, स्थानीय तयारी कार्यक्रम, र दीर्घकालीन नीतिगत सुधार तत्काल आवश्यक रहेको बताएका छन् ।