मोरङको विराटनगरमा भएको एक दर्दनाक घटनाले फेरि एकपटक हाम्रो समाजमा गहिरो जरा गाडेको क्रूरता र हिंसाको भयावह तस्बिर उजागर गरेको छ । एक हजार रूपैयाँको सामान्य विवादमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेर घाइते बनाएको यो घटनाले पारिवारिक सम्बन्धभित्र कसरी असहिष्णुता र प्रतिशोधले हिंसाको रुप लिँदैछ भन्ने देखाउँछ । यो घटना केवल एक आपराधिक कार्य मात्र नभएर हाम्रो सामाजिक र नैतिक पतनको सङ्केत पनि हो ।
एसिड आक्रमण कुनै क्षणिक आवेशको नतिजा होइन, यो गहिरो मानसिक विकृति र प्रतिशोधको भावनाको उपज हो । प्रायःजसो यस्ता घटनाहरुले पीडितको जीवनमा आजीवन शारीरिक र मानसिक पीडा दिन्छन् । अनुहार र शरीर कुरुप बनाइनु, समाजबाट अलग्गिने डर र भविष्यको अनिश्चितताले पीडितलाई जीवित हुँदाहुँदै मर्न विवश बनाउँछ । विराटनगरकी रागिनीदेवी साहमाथि भएको आक्रमणले पारिवारिक मर्यादा, प्रेम र विश्वासजस्ता मानवीय मूल्यहरु क्षीण हुँदै गएको स्पष्ट सङ्केत दिन्छ ।
हाम्रो समाजमा यस्ता घटनाहरु किन दोहोरिरहन्छन् ? के यसका लागि कमजोर कानून मात्र जिम्मेवार छ वा हाम्रो सामाजिक संरचनामा नै केही गम्भीर समस्या छ ? नेपालको कानूनले एसिड आक्रमणलाई फौजदारी अपराध मानेको छ र यसमा कडा सजायको व्यवस्था पनि छ । तर, कानूनको कठोरता मात्र पर्याप्त छैन । एसिडजस्ता घातक पदार्थको सहज उपलब्धता र सामान्य विवादमा पनि हिंसाको बाटो रोज्ने मानसिकतामाथि गम्भीर बहस हुनु आवश्यक छ ।
परिवार र समुदायबाटै सुरू हुने यस्ता हिंसालाई रोक्न सामाजिक चेतनाको खाँचो छ । क्रोध र प्रतिशोध व्यवस्थापन गर्ने सीपको अभावले सामान्य विवाद पनि जघन्य अपराधमा परिणत हुन सक्छ । युवाहरुलाई मानसिक रुपमा स्वस्थ र जिम्मेवार नागरिक बनाउन शिक्षा प्रणाली, परिवार र सामाजिक संस्थाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।
राज्यले एसिडको खरिद, बिक्री र ओसार–पसारमाथि कडा नियन्त्रण गर्नुपर्छ । यसको दुरूपयोग रोक्न विशेष नीति र नियमहरु लागू गरिनुपर्छ । यस्ता घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्छ ताकि भविष्यमा कसैले पनि यस्तो अपराध गर्ने आँट नगरोस् ।
एसिड आक्रमणका पीडितहरुलाई न्याय दिलाउन र उनीहरुको पुनस्र्थापनाका लागि सरकार र नागरिक समाजले मिलेर काम गर्नुपर्छ । यसका लागि निःशुल्क उपचार, मानसिक परामर्श, र सामाजिक तथा आर्थिक सहयोगको व्यवस्था गरिनुपर्छ । यो घटनाले हामी सबैलाई एकपटक सोच्न बाध्य बनाएको छ कि हाम्रो समाज कतातिर जाँदैछ ? जबसम्म हामी व्यक्तिगत स्तरमा नैतिकता र सहिष्णुताको अभ्यास गर्दैनौँ, तबसम्म यस्ता घटनाहरु दोहोरिन सक्छन् । अब मौन बस्ने बेला छैन, हामी सबै मिलेर यस्तो क्रूरताको अन्त्य गर्नुपर्छ ।