इटहरी । सुनसरीको इटहरीस्थित एक होटलमा तीन दिनदेखि बन्धक बनाइएका १२ जना बालबालिकाको उद्धार गरिएको छ ।

मङ्गलबार इलाका प्रहरी कार्यालय इटहरी, मानवअधिकारकर्मी, भोइस अफ चिल्ड्रेन लगायतका सामाजिक संस्थाहरूको सक्रियतामा बन्धक बनाइएका १७ वर्षभन्दा मुनिका बालबालिकाहरूलाई उद्धार गरिएको हो । इटहरी उपमहानगरपालिका–९ बसपार्क क्षेत्रस्थित वन्दना होटलको एउटै कोठामा बन्धक बनाइएका १२ जनालाई उद्धार गरिएको बालअधिकारकर्मी भोइसअफ चिल्ड्रेन कोशी प्रदेशका प्रमुख भरत थापाले बताए । पूर्वी पहाडी जिल्ला सङ्खुवासभा, भोजपुर, धनकुटा तथा काठमाडौँ, सिन्धुपाल्चोक, गोरखालगायत जिल्लाहरूबाट जागिर लगाइदिने भन्दै इटहरीसम्म ल्याएर बन्धक बनाइएको अवस्थामा १२ जना बालबालिकाहरूको उद्धार गरिएको अधिकारकर्मी थापाले बताए ।

ब्लेस ग्लोबल इन्टरनेसनल नामक मार्केटिङ कम्पनीले मासिक १५ हजारदेखि ३० हजार रुपैयाँसम्म दिने प्रलोभन देखाएर आफूहरूलाई ल्याएको पीडित बालिकाहरूले बताएका छन् । जागिर लगाइदिने प्रलोभन देखाई ल्याइएका बालबालिकाहरूले आफूहरूमाथि यौन दुव्र्यवहारसमेत गरेको पीडितहरूले बताएका छन् ।

प्रहरीका अनुसार  काठमाडौँको चावहिलमा सञ्चालित वेल्स ग्लोवल इन्टरनेशनल प्रा.लि.ले हर्बल कम्पनीबाट उत्पादित सामग्री बिक्रीका लागि मार्केटिङ गर्नेको विज्ञापन टिकटिकमार्फत् गरेपछि विभिन्न जिल्लाबाट आवेदन दिएर बालबालिकासहित व्ययस्कहरूले काम गर्न थालेका थिए । सुरुवातमा काठमाडौँमै एक महिना काम गरेर पूर्वको इटहरीलाई केन्द्र बनाएर मार्केटिङ गर्न आएकामध्ये सिन्धुपाल्चोक घर भएकी २२ वर्षे युवतीले शरीर बन्धक बनाई यौन दुव्र्यवहार गरेको भनी प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा बालबालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार उद्धार गरिएकामध्ये दुई जनालाई स्वास्थ्य परीक्षण गरेर सुरक्षित स्थानमा राखिएको छ भने बाँकी अन्यलाई सोही होटलमा प्रहरीको सुरक्षा घेराभित्र राखिएको छ । होटलमा राखेर बालबालिकालाई बन्धक बनाएको र यौन दुव्र्यवहारसमेत गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

सो घटनामा यौन दुव्र्यवहारको आरोपमा वेल्सका मार्केटिङ म्यानेजरको रूपमा कार्यरत ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका–१ का २९ वर्षीय तिलक श्रेष्ठ र सोलु नेचाकी २२ वर्षे टीका कट्टेललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ । बालबालिकाहरूलाई काममा लगाउने ब्लेस ग्लोबलका बारेमा अनुसन्धान गर्ने काम भइरहेको डिएसपी भण्डारीले जानकारी दिए ।