भद्रपुर । अढाई केजी सुनसहित करिब चार वर्षअघि पक्राउ परेर धरौटीमा रिहा भएका बिर्तामोड नगरपालिका–८ गरामनीका ३० वर्षीय अमिर ल्वागुन विश्वकर्मा पुनः पक्राउ परेका छन् ।
काठमाडौं मैतीदेवी निवासी बुद्ध शङ्करको पसलमा सुनचाँदीको काम गर्दै आएका विश्वकर्मा नेपालगञ्ज विमानस्थलबाट अढाई केजी सुनसहित पक्राउ परेका थिए । उनीसहित मोरङका बुद्धिमान खाती पनि पक्राउ परेका थिए । उनीहरू २५–२५ लाख रुपैयाँ तिरेर धरौटीमा रिहा भएका थिए ।
विदेशी विनिमय दर छलकपट गरेको आरोपमा राजस्व चुहावट सम्बन्धी मद्दामा उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले विश्वकर्मालाई १ वर्ष २ महिना १५ दिन कैद, नगद २ करोड ८४ लाख ५८ हजार ६ सय ५ रुपैयाँ जरिबाना तोकेको थियो ।
अदालतको फैसलापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमबार साँझ घरबाटै पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत झापामा उपस्थित गराई अदालतको आदेशले मङ्गलबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उच्च अदालत पाटनले सुनकाण्डमा संलग्न खातीलाई पनि १ वर्ष २ महिना १५ दिन कैद, नगद २ करोड ८४ लाख ५८ हजार ६ सय ५ रुपैयाँ जरिबाना तोकेको छ । सुन तस्करी गराउन लगाउने बुद्ध शङ्करलाई ३ वर्ष कैद र २४ करोड रुपैयाँ जरिबाना तोकेको जनाइएको छ ।