पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार मोरङको विराटनगरमा अलिक फरक कुरा गरिन् । उनले भनिन्, ‘कार्यकर्तासँग भेटघाट गर्न एमालेसँग अनुमति लिनुपर्ने हो र !’ उनले कार्यकर्ता भेट्नकै लागि एमालेसँग अनुमति लिइरहनुपर्ने कुनै आवश्यकता नभएको आशयको कुरा बताइन् ।
मुलुकको प्रमुख कार्यकारी पदमा पुगिसकेकी पूर्व राष्ट्रपति भण्डारीले फेरि राजनीतिमा आउने सङ्केत गरेकी छन् । उनी २०७२ सालको कात्तिकमा पहिलो पल्ट र २०७४ साल फागुनमा दोस्रो पल्ट गरी दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारीमा बिताइन् । उनी २०७९ साल फागुनमा शीलत निवासबाट बिदा भएकी थिइन् । बिदा भएको केही समयपश्चात् नै कार्यकर्ता भेटलाई तीव्रता दिइन् । पछिल्ला दिनहरूमा उनको सक्रियताले विशेषगरी नेकपा (एमाले) मा तरङ्ग पैदा गरेको छ । उनले पनि सक्रिय राजनीतिमा फर्किने सङ्केत देखाइसकेकी छन् । राष्ट्रपति पदमा रहँदा देशीविदेशी शक्तिहरूसँग निकट सम्बन्ध पनि राखेकी छन् । त्यसको पछिल्लो उदाहरण चीन भ्रमणलाई लिए पुग्छ । उनलाई त्यहाँ राजकीय सम्मानका साथ शीर्षस्थ व्यक्तिहरूले भेट गरेका थिए ।
जनताको बहुदलीय जनवाद (जबज) को प्रणेता स्व.मदन भण्डारीको लिगेसीसँगै नियमितरूपमा दुई पटक राष्ट्रपतिको लिगेसीले पनि राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा उनको छविलाई उचो बनाएको छ । यसले गर्दा पनि उनलाई देशीविदेशी शक्तिहरूले विश्वास गर्ने आधार तयार भएको छ । अर्कोतिर राष्ट्रपति हुँदाताका नेपाली सेनासँगको प्रत्यक्ष उठबसका कारणले पनि ओजिलो छवि बनाउन सफल भएकी छन् । यही कारणले पनि उनको देश दौडाहा तथा कार्यकर्ता भेटघाटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘ओलीलाई अहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय हिसाबमा पनि विश्वास गरेको अवस्था छैन । भारतले अहिलेसम्म भ्रमणमा बोलाएको अवस्था छैन । यसले गर्दा पनि अन्तर्राष्ट्रिय शक्तिले विश्वासिलो मान्छे खोजिरहेको छ । त्यसहिसाबले पनि अन्तर्राष्ट्रिय कुराले पनि फेभर गर्छ ।’ उनका अनुसार राष्ट्रपतिको भूमिकामा रहँदा आर्मीमा पनि राम्रै सम्बन्ध विकास गरेकी छन् । पूर्व राष्ट्रपतिको सक्रियतालाई लिएर सबैभन्दा टाउको दुखाइको विषय वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भएको देखिएको छ । किनकि मङ्गलबार विराटनगरमा पूर्व राष्ट्रपतिले बोलेको कुराले यही सङ्केत गरेको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्षसमेत रहेका ओलीले हालै पार्टी कार्यकर्ताहरूलाई गुटबन्दी नगर्नका लागि चेतावनी दिएका थिए । उनले गुटबन्दी गरिएको कार्यक्रमहरूमा उपस्थित नहुन निर्देशन गरेका थिए । २०८१ पुस १ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरिएको दुई दिने कार्यशालामा अध्यक्ष ओलीले भनेका थिए, ‘आफू रहेसम्म नेतृत्वको विकल्प खोज्न आवश्यक छैन ।’ अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन उत्प्रेरित नगर्नका लागि निर्देशन नै दिएका थिए । कार्यक्रममा भनेका थिए, ‘के गर्ने, के नगर्ने भनेर आफै निर्णय लिन सक्ने नेता हो, उहाँ (पूर्वराष्ट्रपति भण्डारी) । कसैले गएर गल लगाउनु पर्दैन । आउन मन भए हामीसँग कुरा गर्नुहोला । कसैले जाउजाउ भनिरहनु पर्दैन ।’
यो भनाइले पनि ओलीले पूर्व राष्ट्रपतिको राजनीतिक सक्रियतालाई निकै चासोका साथ हेरेका छन् भन्ने प्रष्ट हुन्छ । विगतमा यी दुई नेताहरू एउटै गुटमा रही सँगै काम गरेका थिए । जबजका प्रणेता स्व. मदन भण्डारीको दासढुङ्गा हत्याकाण्डपश्चात् सक्रिय राजनीतिमा प्रवेश गरेकी विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउन पनि ओलीले भूमिका खेलेका थिए । ‘विगतमा उनीहरू मिलेरै हिँडेका हुन् । दुवैको राजनीति लामो समय चल्यो । दुवै एउटै गुटका मान्छे हुन्’ राजनीतिक विश्लेषक खतिवडा थप्छन्, ‘अहिलेको रियालिटी विल्कुल फरक छ । मलाई सहयोग गर्नुपर्छ । मेरो उमेर पनि छ । महिला पार्टी अध्यक्ष र महिला प्रधानमन्त्री पनि हुन्छ भन्ने विद्याको भनाइ छ ।’ तर, ओलीले पार्टीको ७० वर्षे उमेर हदबन्दीलाई एघारौँ महाधिवेशनबाट हटाउने निर्णय गरिसकेका छन् । विधानअनुसार दुई कार्यकाल भन्ने छ । यो पनि हटाउन सक्ने प्रबल सम्भावना छ ।
तर, हालै एमालेका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले एक अन्तरवार्तामा ७० वर्षे उमेर हदबन्दी हटे पनि दुई कार्यकालको कुरा विधानमा उल्लेख रहेको बताएका थिए । यसले पनि एमालेभित्र ओलीप्रति असन्तुष्ट हुने दर बढ्दै गएको छ भन्ने सङ्केत गरेको छ । यता ओली भने २०८४ मा पनि शक्तिमा आएर पाँचौं पटक प्रधानमन्त्री बन्ने ध्याउन्नमा छन् । ‘ओलीमा सत्ताको लोभ, नेतृत्वको भोक मरेको छैन । विधान अधिवेशनमा ७० वर्षे उमेर हद हटाएर तेस्रो पटक अध्यक्ष बन्ने ध्याउन्नमा छन् । ८४ मा पाँचौं पटक प्रधानमन्त्रीको दाबेदार हुन चाहन्छन्’ राजनीतिक विश्लेषक खतिवडा भन्छन्, ‘यसो हुँदा विद्याको गुट बलियो हुँदै जान्छ र ओलीको गुट कमजोर हुँदै जान्छ भन्ने मेरो बुझाइ छ ।’
विदेशी शक्तिहरूमध्ये चीनले एउटै कम्युनिष्ट पार्टीको रूपमा हेर्न चाहेको छ । यसैअन्तर्गत पूर्व राष्ट्रपतिलाई ‘कार्ड’ का रूपमा प्रयोग गर्ने सम्भावना पनि प्रबल छ । हालैको चीन भ्रमणले पनि त्यो सङ्केत गरेको छ । चीनको नेपालमा एउटै कम्युनिष्ट पार्टी होस् भन्ने चाहना बमोजिम नै यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एक ठाउँमा उभ्याएको अग्रज पत्रकार सुधीर शर्माले ‘हिमालपारिको हुरी’ नामक पुस्तकमा उल्लेख गरेका छन् । तर, चीनले नचाहँदा नचाहँदै नै तत्कालीन समयमा नेकपा पार्टी फुटेको थियो । अहिले फेरि त्यो कडीलाई जोड्न खोजेको देखिन्छ । चीनले विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) को अध्यक्षको रूपमा उभ्याएर सबै कम्युनिष्ट शक्तिलाई एकै ठाउँमा उभ्याउन चाहेको छ । यता कम्युनिष्ट पार्टीहरूका अध्यक्षहरूले पनि एउटै कम्युनिष्ट बनाउनमा जोड दिँदै आएका छन् तर ओली यसमा बाधक बन्दै आएका छन् ।
कम्युनिष्ट पार्टीहरूलाई २०८४ को चुनावमा वैकल्पिक पार्टीहरूले सत्ता हत्याउने हुन् कि भन्ने चिन्ता पनि छ । पार्टीहरूप्रतिको नागरिकको नैराश्यताका कारण पनि त्यो भय देखिएको हो । राजावादीहरूको आन्दोलनलाई दबाउनका लागि ओली सरकारले गरेका विभिन्न निर्णयहरू यसका सूचकका रूपमा रहेका छन् । ‘सबै कम्युनिष्ट पार्टीहरूलाई ४५ प्रतिशत भोटिङ गर्ने जनता छन् । कम्युनिष्ट भड्किँदै गएका कारण । वैकल्पिक दल आउने हो कि भन्ने भय छ । माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले पनि कम्युनिष्टहरू एकीकृत हुनुपर्छ भन्ने सोच्न थालेका छन् । त्यसकारण पनि विद्या शक्तिमा आओस् भन्ने चाहेको देखिन्छ’–राजनीतिक विश्लेषक खतिवडाले भने ।