भद्रपुर । नक्कली नोटसहित काँकडभिट्टाबाट पक्राउ परेका तेह्रथुम ओयाक्जुङ–५ का २८ वर्षीय गणेश भारतीले झापामा कोठा भाडा लिएर नक्कली नोट छाप्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

यही जेठ १८ गते काँकडभिट्टास्थित नेपाल बैङ्क अगाडिबाट प्रहरीले भारतीलाई नक्कली एक लाख रुपैयाँसहित पक्राउ गरेको थियो । झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका भारतीको साथबाट १ हजारका १ सय थान नक्कली नोट बरामद गरेको थियो ।

सो घटनामा झापा प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने क्रममा उनले नक्कली नोट आफैले छपाइ गरी चलन गरेको खुलेको छ । प्रहरी इन्स्पेक्टर राजकुमार कार्कीसमेतको अनुसन्धान टोलीले लक्ष्मीपुरस्थित कोठामा खानतलासी गर्दा थप नक्कली नोटहरू फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न दरका नेपाली नक्कली (खोटा मुद्रा) ५ लाख ३० हजार ६ सय ८० रुपैयाँसहित नोट छाप्ने गरेको मेसिन थान एक, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रङलगायतका प्रमाणहरू बरामद गरिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

डिएसपी खड्काका अनुसार १ हजार दरका नक्कली (खोटा मुद्रा) ४ सय ७० थान, ५ सय दरका २ सय ८२ थान, १ सय दरका १ सय ९० थान, ५० दरका १२ थान र २० दरका ४ थान बरामद गरिएको छ ।

एक थान प्रिन्टिङ मेसिन, ३ थान मोबाइल, १ थान कैँची, नोट बनाउन प्रयोग भएको कागज कपी २ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।