इटहरी । विभिन्न जिल्लाका जनप्रतिनिधि, कर्मचारी साथै सर्वसाधारणलाई झण्डै ८ करोडभन्दा बढी ठगी गरी बेपत्ता भएकी इटहरी उपमहानगरपालिकाकी छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेलले वारेसमार्फत् तलबभत्ता बुझेको भौचर फेला परेको छ । 

ठगीबाट बच्न फरार रहेकी उनले वारेसमार्फत् दुई महिनाको तलबभत्ता बुझेको भौचर फेला परेको हो । कार्यालयमा हाजिर नभएकी उनको तलबभत्ता भने सुनसरी दुहबी नगरपालिका–८ का दीपक नेपालले दुई महिनाको तलब बुझेको प्रमाण भेटिएको हो । बेपत्ता भएकी उनले जेठसम्मको बिदा स्वीकृत गराई पाऊँ भनी नगर प्रमुख हेमकर्ण पौडेल र प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईलाई लिखित निवेदन पेस गरे पनि उनको बिदा स्वीकृत नभएको बुुझिएको छ । दुई महिनादेखि फरार रहेकी उनको तलबभत्ता वारेस नेपालले बुझेका हुन् । उनले नगरबाट मासिक ४४ हजार सात सय ५४ रुपैयाँका दरले तलब बुझेको भौचर फेला परेको हो । 

उनी फागुनयतादेखि नै सम्पर्कविहीन छिन् । प्रमुख प्रशासकीय अधिकृत भट्टराईका अनुसार बिदासम्बन्धी पत्र आएको भए पनि बिदा स्वीकृत नभएको दाबी गरे । उनले तलब चाहिँ वारेसमार्फत् लगेको पनि स्वीकारे । यसलाई कतिपयले नीतिगत भ्रष्टाचार भनी टिप्पणी गरेका छन् । यसबारे जिल्ला अदालत सुनसरीका अधिवक्तासमेत रहेका नेपाल वार एसोसिएसन सुनसरीका सदस्य शालिग्राम पाण्डेले निजामती कर्मचारीको हकमा बिदा स्वीकृत नहुँदा कुनै पनि प्रकारको सेवासुविधा दिन नमिल्ने उल्लेख गरे । उनले विवादित कर्मचारीलाई निलम्बन गरी छानबिनमा सहयोग पु¥याउनुपर्नेमा उल्टो सेवासुविधा दिनु कर्मचारीको फटाइँ भएको बताए । 

छैटौँ तहकी अधिकृत सस्मितालाई वारेसमार्फत् तलब भुक्तानी भएको प्रमाण फेला परेपछि नगरको आलोचना हुन थालेको छ । यता उनीविरुद्ध झापा, मोरङ र सुनसरीका पीडितहरूले प्रहरीमा उजुरी दिएका छन् । उक्त उजुरीका आधारमा अधिकृत लुइँटेलविरुद्ध झापा र मोरङ जिल्लाले पक्राउ पुर्जी जारी गरेको छ । अर्जुनधारा नगरपालिकाबाट २०८१ भदौ ६ गते इटहरी उपमहानगरपालिकामा सरुवा भई आएकी थिइन् । लुइँटेलबाट पीडित बनेका सर्वसाधारण तथा जनप्रतिनिधिले प्रहरीमा उजुरी गरेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले जानकारी दिए । फरार लुइँटेल इटहरी सोनापुरकी स्थायीवासी हुन् । 

अधिकृत लुइँटेलबाट हालसम्म कतिजना ठगिएका हुन् भन्ने यकिन नभए पनि हालसम्म ५४ जनाले मौखिक उजुरी गरेको एसपी लिम्बूले बताए । झापामा रहँदा उनले करिब ४ करोड रुपैयाँभन्दा बढी ठगेको भनी जिल्ला प्रहरी कार्यालय झापामा मौखिक उजुरी परेको एसपी लिम्बूले बताए । झापामा रहँदा उनले आफ्ना सहकर्मीदेखि सर्वसाधारणसम्मबाट सापटी रकम भन्दै मागेर सम्पर्कविहीन भएको पीडितहरूको भनाइ छ । लुइँटेलविरुद्ध उजुरी पर्न थालेपछि नभेटिएका कारण फरार सूचीमा राखिएको प्रहरीले जनाएको छ । झापा जिल्ला अदालतबाट यही जेठ १६ गते नै पक्राउ पुर्जी जारी भइसकेकाले उनको खोजी कार्य तीव्र बनाइएको एसपी लिम्बूले जानकारी दिए । झापामा अधिकृत लुइँटेलविरुद्ध ९ जनाले लिखित उजुरी दिएका छन् । 

 त्यस्तै मोरङ जिल्लाबाट पनि लुइँटेलविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख नारायणप्रसाद चिमरियाले जानकारी दिए । मोरङमा भने ६ जनाले लिखित उजुरी दिएको उनले जानकारी दिए । त्यस्तै इलाका प्रहरी कार्यालय इटहरीले पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको बुझिएको छ । जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी ल्याउने तयारी भइरहेको इटहरी प्रहरीका प्रवक्ता इन्स्पेक्टर महेन्द्र पराजुलीले जानकारी दिए । इटहरीमा लुइँटेलविरुद्ध हालसम्म तीनजनाले मात्रै उजुरी दिएको इन्स्पेक्टर पराजुली बताउँछन् । इटहरीमा रहँदा आफ्नै सहकर्मीदेखि जनप्रतिनिधि र कर्मचारीहरूबाट ५ करोडभन्दा बढी रकम ठगेको बताइन्छ ।