भद्रपुर । एक लाख रुपैयाँ बराबरको नक्कली नोटसहित एक व्यक्तिलाई झापा प्रहरीले झापाको काँकडभिट्टाबाट पक्राउ गरेको छ ।
आइतबार राति ९ बजे मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपाल बैङ्क अगाडि तेह्रथुम फेदाप गाउँपालिका–२ ओयाक्जुङका २८ वर्षीय गणेश भारती एक हजार रुपैयाँका नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारती शङ्कास्पदरूपमा हिँड्डुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा १ हजार दरका नेपाली नक्कली नोटलाई रबरले बाँधेको अवस्थामा बरामद गरेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
त्यस बुङलाई गन्दा नोट नम्बर ञ. ३१, ८६६५७९ उल्लेख भएको जम्मा ४२ थान, नोट नम्बर ज. १२, ०८३५७९ उल्लेख भएको जम्मा ५६ थान र नोट नम्बर झ. ७६.२३८८२६ उल्लेख भएको जम्मा २ थान गरी जम्मा १ सय थान रङ्गीन प्रिन्ट गरिएको नोट फेला परेको उनले जनाए । नक्कली नोटसहित भारतीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको उनले बताए ।
यसअघि सुनसरीको भण्टाबारी क्षेत्रबाट पनि नक्कली नोटसहित एक जनालाई पक्राउ गरिएको थियो । बेला बेलामा नक्कली नोटको कारोबार बढ्दै गइरहेपछि एक हजारका नोट ‘नोटबन्दी’ गर्नुपर्ने आवाज पनि उठ्दै आइरहेको छ ।