धरान । झारफुक गर्ने बहानामा बाल यौन दुव्र्यवहार गरेको आरोपमा मोरङ विराटनगर महानगरपालिकाबाट एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहा घर भई विगत ३ वर्षदेखि विराटनगर–६ मा बस्दै आएकी १५ वर्षीया किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय महमद साविर मलबीलाई पक्राउ गरिएको हो । विगत पाँच–छ महिनायतादेखि अचानक बेहोस हुने, डराउने, आत्तिनेलगायतको समस्या हुँदै आएपछि परिवारले झारफुक गर्नका लागि साबिरकहाँ लाने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झारफुक गर्ने बहानामा किशोरीलाई दुव्र्यवहार गरेको भनी पीडित पक्षले दिएको उजुरीका आधारमा प्रक्राउ गरिएको हो ।

झारफुक गरेको दस्तुरबापत ७० हजार रुपैयाँसमेत माग गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख भएको प्रहरीले जनाएको छ । यस्तै गत चैत १७ गते रातको ८ बजेतिर घरमा आई बालिकाको उपचार राति मात्र हुने, उपचारका लागि बिरामीका लागि छुट्टै कोठा र आफ्नो लागि पनि कोठा उपलब्ध गराइदिनुपर्ने भनेपछि शङ्का लागी प्रहरीलाई जानकारी गराएको पीडित पक्षले जनाएको छ ।

बालिकाको दिदीलाई उक्त कुरा जानकारी गराएपछि पीडित पक्षले कोठासमेत उपलब्ध गराएको तर भोलिपल्ट अर्थात् चैत १३ गतेका दिन बालिकाले रुँदै आफूलाई कोठामा संवेदनशील अङ्ग छोएको र यौन दुव्र्यवहार गरेको भनी सुनाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी बालबालिकासम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।