धरान । अवैधरूपमा सामुदायिक वनको जग्गामा घर बनाएको र रुख कटान गरेको आरोपमा धरान उपमहानगरपालिका–२० का भूपाल राईलाई विष्णुपादुका सव–डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।
धरान उपमहानगरपालिका–२० को कार्कीछाप कालीखोला सामुदायिक वन उपभोक्ता समूहअन्तर्गतको वनको जग्गामा घर निर्माण गरेको र १२ वटा विभिन्न प्रजातिको रुख पनि कटान गरेको पाइएपछि सव–डिभिजन वन कार्यालयले अनुसन्धानका लागि आइतबार नियन्त्रणमा लिएको हो । विष्णुपादुका सव–डिभिजन वन कार्यालयका निमित्त प्रमुख फूलकुमारी भोटे (निमा)का अनुसार रुख कटान गरेको पाइएपछि अनुसन्धानका लागि ल्याएको बताइन् । ‘उनले विभिन्न जातका १२ वटा रुख काटेको भेटियो’–उनले फोनसम्पर्कमा भनिन् । उनका अनुसार एउटा शिरिष, ७ वटा हल्लुडे र चारवटा करम (कर्मा) जातको रुख कटान गरेको भेटिएको छ ।
वन समूहका अध्यक्ष सम्फर तामाङका अनुसार समूहलाई जानकारी नै नदिई रुख कटान गरेको पाइएपछि विष्णुपादुका सव–डिभिजनलाई जानकारी गराएका थियौँ । सोअनुसार सव–डिभिजन वन कार्यालयले मुचुल्का गरी आरोपित भूपाल राईलाई पनि पक्राउ गरेको उनले जानकारी दिए । ‘हाम्रो जानकारीविनै रुख कटान गरेको रहेछ’ उनले भने, ‘यो घटना दुई साताको बीचमा भएको रहेछ ।’ उनका अनुसार करिब चार वर्षयतादेखि उनी धरान–२० मा आफ्नो दिदीको नम्बरी जग्गामा बस्दै आएकोमा वन समूहलाई थाहै नदिई सामुदायिक वनको क्षेत्रमा घरसमेत बनाएको पाइएको छ । घर पनि गत बर्खायामको बेला बनाएको पाइएको अध्यक्ष तामाङले जानकारी दिए ।
‘दिदीको नम्बरी जग्गामा बस्दै आएको थियो । बस्दाबस्दै सामुदायिक वन फँडानी गरेर बनाइहालेछ’ उनले फोनसम्पर्कमा भने, ‘सामुदायिक वनका पदाधिकारी कसैलाई नसोधीकन काटेछ । हामीलाई कुनै जानकारी दिएको छैन ।’ रुख काटिसकेपश्चात् आरोपित राईले ‘मैले के दण्ड जरिबाना तिर्नुपर्ने हो; तिर्न तयार छु’ भनी आफूहरूलाई भने पनि कानूनअनुसार सजाय भोग्नुपर्छ भनी जानकारी गराएको उनले बताए ।
अध्यक्ष तामाङले आफूलाई यस विषयमा केही राजनीतिक पार्टीका नेताहरूले फोन गरेर दबावसमेत दिन खोजेको आरोप लगाए । तर, उनीहरू कुन पार्टीका नेताहरूले दबाव दिन खोजे भन्ने विषयमा खुलाउन चाहेनन् । स्रोतका अनुसार नेकपा (एमाले) का अग्रज नेताहरूले नै फोन गरेर आरोपित राईलाई छुटाउन दबाव दिएको बुझिएको छ । स्रोत भन्छ, ‘केही नेताले फोन गरेका थिए, नियम, कानूनभन्दा बाहिर जान सकिँदैन भनेर जवाफ दिएँ ।’
यता विष्णुपादुका सव–डिभिजन वनकी निमित्त प्रमुखले हाल के कति काठ कटान भएको छ भन्ने विषयमा नापजाँच भइरहेकाले पनि सबै सूचना दिन नसकिने बताइन् । उनले भनिन्, ‘हामीले के कति रुख काटियो भनेर ठुटा गनेर आएका छौँ । १२ वटा काटिएको रहेछ । सबैकुरा अहिले नै भन्न सकिँदैन ।’






























