धरान/नेकपा एमाले धनकुटा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई विभागीय जिम्मेवारी प्रदान गरेको छ। जिल्ला पार्टी कार्यालय श्रीवानीमा बसेको पार्टीको दोस्रो पूर्ण बैठकले नौ जना नेताहरुलाई विभागीय प्रमुखको जिम्मेवारी तोकेको हो।

पार्टी उपाध्यक्ष चिन्तन तामाङलाई स्थानीय विकास विभाग प्रमुख, सचिव पर्शुराम नेपाललाई संगठन विभाग प्रमुख र उपसचिव नै विश्वकर्मालाई पार्टी स्कूल विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

जिल्ला सचिवालय सदस्य उमेश घिमिरेलाई उद्योग तथा व्यवसायी महासंघ विभाग प्रमुख, जिल्ला कमिटी सदस्य रबिन कटेललाई प्रचार तथा प्रकाशन विभाग प्रमुख र वङ्दा तामाङलाई विपद् व्यवस्थापन तथा स्वयम्सेवक विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिए।

उनका अनुसार निर्मला इवालाई वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख, नहकुल राईलाई निर्वाचन विभाग प्रमुख र पदममाया लिम्बूलाई सहकारी तथा गरिबी निवारण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

क्षेत्रीय संयोजक, पालिका इन्चार्ज र फाँट प्रमुख पनि तोकियो

जिल्ला अध्यक्ष शिव आङ्लाको अध्यक्षतामा बसेको बैठकले विभागीय प्रमुखसँगै निर्वाचन क्षेत्र संयोजक, पालिका इन्चार्ज, फाँट प्रमुख र वडा इन्चार्जको जिम्मेवारी पनि बाँडफाँड गरेको छ। खजिन्द्र राईलाई प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी निर्वाचन क्षेत्र १ को संयोजक र टेकबहादुर तामाङलाई प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी निर्वाचन क्षेत्र २ को संयोजक तोकिएको छ। 

तिलक कार्कीलाई चौबिसे, चन्द्रसिंह नेम्वाङलाई साँगुरीगढी, बमबहादुर राईलाई सहिदभूमि, गोमा कार्कीलाई छथर जोरपाटी, होम थापालाई महालक्ष्मी, हरी खत्रीलाई पाख्रीवास र नरेन्द्रप्रसाद पोख्रेललाई धनकुटा नगर इन्चार्ज बनाइएको छ।

उपसचिव तुलसी राईसहित १६ जनालाई फाँट प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ। उपसचिव राईलाई अखिल नेपाल महिला संघ इन्चार्जको जिम्मेवारी दिइएको छ। पेशागत महासंघमा रामबहादुर खड्का, मुक्ति समाजमा कोपिला शंकर, नेपाल ट्रेड युनियन महासङ्घमा कमल तामाङ, वन तथा वातावरणमा राजेन्द्र खड्का र अखिल नेपाल किसान महासङ्घमा युवराज पौडेललाई फाँट प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ।

विद्यार्थीमा बसन्त तुप्रिहाङ राई, युवामा जमशेर राई, बुद्धिजीवी परिषद्मा मेघेन्द्र गुरुङ, मानव अधिकार एलाइन्समा गिता अधिकारी, नेपाल खेलकुद महासङ्घमा कोमल राई, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घमा अस्मिका राई, रिटर्नी फेडेरेसनमा तुलसी ढुंगाना, सामाजिक संघ संस्थामा राजेन्द्र बस्नेत, निर्माण व्यवसायीमा दिलिप रायमाझी, नेपाल राष्ट्रिय भुपु सैनिक तथा प्रहरी सङ्गठनमा अनिस (अजित) राई, लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठनमा भीमबहादुर श्रेष्ठलाई फाँट प्रमुखको जिम्मेवारी दिइएको छ।

बैठकले २७ सदस्यीय सचिवालय पनि गठन गरेको छ। कतिपय विभागका सचिव तथा सदस्य, निर्वाचन क्षेत्रका सह–संयोजक तथा सचिव पनि तोकिएको एमाले धनकुटाले जनाएको छ।