धरान । सुनसरीको धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तिलक राईले ‘पहिचान’ राजनीतिक मुद्दा भएकाले स्थापित हुन केही समय लाग्ने बताएका छन् । 

उनले उँभौली पर्वको अवसरमा धरान–१७ साकेला पार्कमा आयोजित समापन कार्यक्रममा सम्बोधन गर्दै भने, ‘यो राजनीतिक मुद्दा हो । स्थापित हुन केही समय लाग्छ। यसमा किरात राईहरू अत्तालिहाल्नु हुँदैन ।’

उनले यस्ता विषयमा धैर्य गरेर आफ्नो एजेण्डालाई स्थापित गर्न राजनीतिक रूपमा नै दबाव सिर्जना गर्नुपर्ने बताए।आफ्ना मुद्दाहरूलाई स्थापित गर्नका लागि विरोध गरेर, चिच्याएर मात्रै नहुने बताए। उनले राजनीतिक दलहरूसँग मिलेर नै अगाडि बढ्न सुझाव दिए। 

‘हामी किरातीहरू सुम्निमा र पारुहाङका सन्तान हौँ, आत्तिहाल्नु र मात्तिहाल्नु हुँदैन’ उनले भने, ‘कुनै पनि कुराको सफलता पाउन समय लाग्छ। हरेस खानु हुँद्यैन। निरन्तर अगाडि बढेमा पहिचानको मुद्दा स्थापित भएरै छाड्छ।’

संविधानअनुरूप व्यवस्था बदलिएको भए पनि दलहरू तथा राज्य सञ्चालन गर्नेहरूले माग सुनुवाइ नगरेसम्म पहिचान स्थापित नहुने बताए। उनले कोशी प्रदेशमा दुई तिहाई मत ल्याएर मात्रै पहिचानको मुद्दा स्थापित हुने भएकाले सोहीअनुसार लाग्न सुझाव दिए।