किरातहरुको आफ्नो धर्म, संस्कार, संस्कृति भए पनि अन्य धर्ममा पलायन भएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । वराहक्षेत्रस्थित चतरामा 'हामी हाम्रो मौलिक धर्मको अवस्था र किरात धर्म सङ्घ नेपाल' विषयक अन्तर्कृया कार्यक्रममा सहभागीले किरातीहरु किरात धर्मको छातामुनि एकजुट हुनुपर्ने र एकसूत्रमा बाँधिनुपर्ने आवश्यकता औंल्याएका छन् । 

अन्तर्कृयामा किरात धर्मगुरु ईन्द्रहाङ खम्बू याम्फूले कार्यपत्र प्रस्तुत गर्दै सबै किरातीले पुज्ने एउटै चुला हुनुपर्ने धारणा राखे । 

'दस भाषा एक चुला' हामी तीन हजार थरिकै भए पनि हाम्रो चुला एउटै हो । हामी राई मात्र हैन, लिम्बू, याक्खा, सुनुवार, याम्फू, कुलुङ जे भने पनि हाम्रो आराध्य देव भनेकै चुला हो, धर्मगुरु खम्बूले भने, 'हाम्रो भाषा अलग- अलग होला संस्कृति पनि अलग-अलग होला तर हामी चुलालाई मान्ने, चुला पुज्नेहरु हौं र हामी चुलामा एकता हुन्छौं । त्यसैले आफ्‌नो घरको कुरा अलग हो तर धार्मिक स्थलमा हामीले अलग-अलग चुला बनाउने र पुज्ने कुरा गलत हो त्यहाँ हाम्रो एउटै सामुहिक चुला हुनुपर्दछ ।' 

उनले हालको सामाजिक, राजनीतिक तथा धार्मिक जटिल परिस्थितिमा समुदायका मानिसहरुलाई शुद्ध एवं मौलिक धर्मको एक सूत्रमा ल्याउन, धार्मिक पलायन हुनबाट बचाउन र सही र सत्य आध्यात्मिक मार्गदर्शनमा डोर्याउन एउटा मौलिक धर्मिक संगठनको आवश्यक पर्ने भएकाले किरात धर्म संघ नेपाल स्थापना भएको बताए । 

धर्मगुरु खम्बूले किरात धर्म संघ नेपाल अबको धार्मिक विकल्प र खुवालुङ सभ्यताबाट विकास भएका समुदायका मानिसहरुको गन्तव्य रहेको उल्लेख गरे । 

प्रस्तुत कार्यपत्रमाथि उत्तरकुमार राई, जनक चेम्जोङ र लीलामणि याक्खाले टिप्पणी गरेका थिए । फ्लोरबाट नाक्छोङ दिलिप राई, डम्बर तुम्बाहाम्फे लगायतले आफ्नो धारणा राखेका थिए । अन्तर्कृयामा किरात राई यायोख्खा, सुनुवार समाज, किरात याक्थुङ चुम्लुङ, आदिवासी जनजाति महासङ्घ, भूपू सैनिकलगायतका सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । 

सहयोगीलाई सम्मान कार्यक्रम 

अन्तर्कृया कार्यक्रममा आयोजक किरात धर्म सङ्घ नेपाल केन्द्रीय कार्यालय वराहक्षेत्रले संस्थाका सहयोगी अक्षयकोषदाता, आजीवन सदस्य र उधौली उभौली थान निर्माणमा सहयोगी दातालाई सम्मान गरेको छ । 

सम्मानित हुनेहरुमा हेमबहादुर राई कार्यक्रम प्रायोजक मिलन राई र दिला राईलाई सम्मान गरेको छ । आजीवन सदस्य तथा अक्षयकोषदाता ईन्द्रकुमार राई, सूर्यकुमार राई र मिलन बाहिङ राईलाई सम्मान गरिएको छ । 

सङ्घका अध्यक्ष पोषबहादुर सुनुवारको अध्यक्षतामा सचिव दिला राईले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।