धरान /सुनसरीको इटहरीमा शुक्रबारबाट स्टर्न ट्राभल मार्ट सुरु भएको छ।

चौथो संस्करणको मार्टको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे। मार्ट इटहरीस्थित सोल्टी होटलको सभाहलमा सुरु भएको छ।

यही जेठ २७ गतेसम्म चल्ने मार्टमा पहिलो दिन करिब तीन सय व्यवसायीहरू सहभागी भएका थिए।नेपाललगायत भारतको बिहार क्षेत्रबाट पनि ७५ जना व्यवसायी सहभागी भएको आयोजकले जनाएको छ।

उद्घाटनपश्चात् सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सबैले आफ्ना कमजोरीहरू सच्याएर प्रदेशको भूमिका सफल बनाउन सबैले साथ दिन आग्रह गरे । नेपालको विकास गर्ने मुख्यतः पर्यटन र कृषिलाई बढाउनसके समृद्धि हुने मुख्यमन्त्री कार्कीले बताए ।
IMG20240607123255

नेपालका मठमन्दिरको मात्रै प्रवर्धन गर्नसके पनि नेपालमा ५० लाख हिन्दु पर्यटक भिœयाउन सकिने बताए। विशेष अतिथि इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले प्रदेश सरकारले सबै स्थानीय तहहरूलाई समेटेर समिति गठन गरी पर्यटनमा योजना बनाउन आवश्यक रहेको बताए।

उनले समितिको प्रतिनिधित्व प्रदेश सरकारले गरी योजना बनाएर काम गर्नसके पर्यटनको सम्भावना बढ्ने बताए।कार्यक्रममा कोशी प्रदेश सांसद् मीना श्रेष्ठ, पर्यटन वन तथा वातावरण मन्त्री नारायणबहादुर बुर्जा मगर, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा तीनजना होटल व्यवसायीलाई पनि सम्मानित गरिएको छ ।