इनरुवा । आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय–पत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिकले सास्ती खेप्ने गरेका छन् । भत्ता नपाइने डरले राष्ट्रिय परिचय–पत्र बनाउन एकाबिहानै प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिकले थप सास्ती पाएका हुन् ।

राहदानी बनाउन र नवीकरणका लागि अनिवार्य रहेको राष्ट्रिय परिचय–पत्र सामाजिक सुरक्षाभत्तामा समेत लागू गरिने भएपछि त्यसको प्रत्यक्ष मार परेको ज्येष्ठ नागरिक बताउँछन् । सुनसरी प्रशासनको हकमा दैनिक एक सय ३० वटासम्म टोकन बाँडेर सेवा दिने गरिएको छ ।

परिचय–पत्र बनाउन पुग्ने आमसर्वसाधारणको भीडमा बाध्यतामा परी सेवा लिन पुगेका ज्येष्ठ नागरिकहरू पालो नपाउने, टोकन लिन नसक्दा दिनहुँजसो कार्यालय धाउनु पर्ने र लामो समय उभिएर पालो पर्खनुपर्ने जस्ता समस्याबाट गुज्रिन बाध्य छन् ।

राष्ट्रिय परिचय–पत्र बनाउनसमेत समय लाग्ने हुँदा पालोसमेत निकै पर्खनु पर्ने भएकाले प्रशासन कार्यालय पुग्ने असहाय, अशक्त र बिरामी वृद्धवृद्धा बढी मारमा पर्ने गरेका छन् । ज्येष्ठ नागरिकहरूले सेवा लिन धाउँदा आफूहरूलाई असहज भएको प्रतिक्रिया दिए । छोटो समय दिएर एक्कासि लागू गरिएको सरकारी नियम अव्यावहारिक रहेको उनीहरूको भनाइ छ ।

SASTI2