विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्रवक्तामा नियुक्त भएका डा. अरुणकुमार सिंह तीन महिनामै पदमुक्त भएका छन् ।

तत्कालीन कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीले गत फागुन १६ गते डा. सिंहलाई सह–प्रवक्तामा नियुक्त गरेका थिए । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले भ्रष्टाचार मुद्दामा सफाइ पाएर पुनर्बहाली भएसँगै डा. सिंहलाई पदमुक्त गरेका हुन् । प्रवक्ता तथा सह–प्रवक्तालाई दुई वर्षको लागि जिम्मेवारी दिइएको थियो ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाले २०८१ जेठ १४ गते डा. सिंहलाई धन्यवाद ज्ञापनसहितको पत्र पठाउँदै पदमुक्त गरेका हुन् । हालै उपकुलपति डा. गिरीले सह–प्रवक्ताको जिम्मेवारी अविजितकुमार साहलाई दिएका छन् । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सङ्ग्रौलाले प्रवक्ताले राजीनामा दिएकाले स्वीकृत गरी अर्को प्रवक्ता नियुक्त गरेको बताए । उनले भने, ‘प्रवक्ताको राजीनामा आएको छ । सह–प्रवक्ताको पनि त्यस्तै लाग्छ । एकिन भन्न सकिनँ ।’

सह–प्रवक्ता डा. सिंहले भने राजीनामा नदिएको बताए । ‘राजीनामा दिएको छैन । माग्नु पनि भएको छैन; यदि मागेको भए खुसीले दिन्थेँ’ उनले फोनसम्पर्कमा भने, ‘मैले पाएको जिम्मेवारी इमान्दारीका साथ गरिरहेको थिएँ, एक्कासि चिठी पाएँ ।’

प्रा.डा. सङ्ग्रौलाले प्रवक्ता, सह–प्रवक्ता, आर्थिक सल्लाहकार उपकुलपतिको आवश्यकताअनुसार राखिने बताए । उनले भने, ‘बाहिर व्यक्तिगत भनेर हुँदैन, कागजात बोल्ने हो ।’ उनलाई नियुक्त गर्दा प्रतिष्ठानका निर्देशक, रजिष्ट्रार, डिनलगायतका २६ विभाग, शाखा तथा व्यक्तिलाई बोधार्थ दिइएको थियो ।

बीपीमा प्रवक्ता र सह–प्रवक्ता नियुक्त

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्ता तथा सह–प्रवक्ता नियुक्त भएको छ । प्रतिष्ठानको प्रवक्तामा एडिसनल प्रोफेसर डा. अन्जु प्रधान नियुक्त भएकी छन् ।

उनी प्याथोलोजी विभागमा कार्यरत छिन् । यसअघिका प्रवक्ता स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिन विभागका चिफ प्रा.डा. पारस पोखरेल रहेका थिए । उनलाई पदमुक्त गरी डा. प्रधानलाई नियुक्त गरिएको हो । यस्तै सह–प्रवक्तामा सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा. अभिजितकुमार साह नियुक्त भएका छन् । यसअघि सह–प्रवक्तामा पेडियाट्रिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा. अरुणकुमार सिंह थिए ।