हङ्कङमा बसेर नेपाली साहित्यको उन्नयनमा अहोरात्र खटिएका दाजु गुरूङ डायस्पोरिक कथाकार हुन् । तर, उनको परिचय यतिमै सीमित रहेन । पछिल्लो पटक नेपाली बजारमा ‘निरजोया’ उपन्यास भिœयाएर आफ्नो परिचयलाई व्यापक बनाएका छन् । कथाकारबाट उपन्यासकारमा परिचय बनाएका गुरूङले डायस्पोरा साहित्यमा इँटा थप्ने काम गरेका छन् । 

डायस्पोरा साहित्यका विषयमा मतभेद जारी छन् । प्रवासमा बसेर लेखिएका सबै साहित्यलाई डायस्पोरा भन्ने कि नभन्ने भन्ने विवाद कायम छ । अर्कोतिर केही समालोचकहरु प्रवासमा बसेर नेपालकै विषयलाई लेख्छ भने त्यो डायस्पोरा नभई प्रवासी नेपाली साहित्य भन्नुपर्ने बताउँछन् । डायस्पोरा साहित्यमै विद्यावारिधि गरेका समालोचक राम्जी तिम्सिनाले धरानको एक कार्यक्रममा भने, ‘प्रवासी जीवनकै विषयमा लेखिएका, त्यहाँको जनजीवन, परिवेश, वातावरणहरु, जीवनपद्धति, चालचलन समाहित गरिएका साहित्य मात्रै डायस्पोरा साहित्य हो ।’ यस आधारमा उपन्यासकार गुरूङको निरजोया डायस्पोरिक उपन्यास हो । सैद्धान्तिक आधारमा यस उपन्यासलाई डायस्पोरिक उपन्यासको विधामा हाल्न सकिन्छ ।

नेपालीहरु वैदेशिक रोजगारीमा जाने परम्परा लामै छ । जब सन् १८१५ मा अङ्ग्रेज शासकसँग तत्कालीन नेपाल सरकारले सुगौली सन्धि ग¥यो । त्यसपछि नै नेपालीहरु विभिन्न नाममा विदेशिन थालेका हुन् । आफ्नो घरपरिवारलाई सुखशान्ति, अमनचयन, धनदौलत कमाउने नाममा विदेशिएको उदाहरण प्रशस्त छन् । यस विषयमा प्रशस्त साहित्यहरु पनि लेखिएका छन् । उपन्यासकार गुरूङको निरजोया पनि यस्तै कथामा बुनिएको उपन्यास हो । आफ्नो परिवारलाई सुखशान्ति दिने, धनसम्पत्ति कमाउने अभिलाषामा मलेसिया पुगेको एउटा पात्र कसरी अनेकन समस्याहरूमा फस्छ ? नेपाल आइपुग्छ कि आइपुग्दैन ? उसले सोचेको मलेसिया, देखेको र भोगेको मलेसियामा कति अन्तर छ ? यस्ता समग्र प्रश्नको उत्तर नै निरजोयाको कथानक हो ।

मलेसियाभरि भोगेको सिङ्गो जीवन नै निरजोयाको कथानक हो । ताप्लेजुङबाट पैसा कमाउने सपना बोकेर मलेसिया छिरेको पात्र हो निरोज । तर, उसको जीवन कसरी एकपछि अर्को गरी त्यहाँको महाजालमा फस्दै जान्छ ? महाजालमा फस्नुपर्ने बाध्यता हो कि स्वनिर्णय ? यस्ता अनेकन प्रश्नमाथि उपन्यासकारले गम्भीर मन्थन गराएका छन् । उपन्यास पढ्ने हरेक पाठक जो मलेसिया पुगिसकेको छ वा पुग्न बाँकी छ । त्यस्ता पाठकका लागि यो उपन्यास रहस्यमयी लाग्छ । मलेसिया पुग्ने कतिपयले यो जीवनको अनुभूति नगरेका पनि हुन सक्छन् । 

पाठकको रुपमा अध्ययन गरेको यस समीक्षकले पनि ‘मलेसिया गएका गाउँले दाजुहरु किन फर्किएनछन् ? किन लामो समय उतै हराउँदा रहेछन् ? आखिर के रहेछ गर्भमा लुकेको मलेसियाको विषय’ भनी कयौँ पटक नसोचेको होइन । किनकि समीक्षकका गाउँबाट पनि धेरै दाजुभाइहरु धन कमाउने अभिलाषामा मलेसिया पुगेका थिए । तर लामो समय फर्किएका थिएनन् । तीन वर्षका लागि भिसा लगाएर गएकाहरु पनि ८–१० वर्ष उतै हराउँथे । केही त वर्षौँसम्म उतै हराएका पनि थिए । कति त नफर्किएको उदाहरणहरु पनि छन् गाउँघरमा ।

यस्ता तमाम विषयको उत्तर निरजोयाले सहजै दिन्छ । तर, ती हराउने दाजुभाइहरु उपन्यासका पात्र निरोज जस्तै बनेका छन् कि फरक परिदृश्यमा बाँचेका छन् ? यो चाहिँ मननीय विषय हो । निरोज, जो यो उपन्यासको मुख्य पात्र हो । प्रथम पुरूष दृष्टिविन्दुमा लेखिएको म पात्र निरोजले सुरूका जीवन आनन्दमय, विलासमय तरिकाले बिताएको छ । मुस्लिम देशमा केटी साथी बनाउन पाउने छुट छ । यौनकृत्यहरु खुला छ । जहाँ महिला बुर्काभित्र हराउनु पर्दैन । महिलाहरु काम गर्छन् । पुरूषहरु घरमा आरामदायी जीवन बाँच्छन् । महिलाहरु आफूले रोजेको केटासँग प्रेमालाप गर्न छुट छ । जोया जो निरोजकी प्रेमिका बनेर आइपुगेकी छन् । उनीसँगको प्रेमालाप र लिभिङ टुगेदरलाई उनको घरपरिवारले सहजै स्वीकारेको छ । जुन अन्य मुस्लिम देशहरुमा सम्भव छैन ।

भागेर काम गर्ने निरोजलाई पुलिसबाट बच्नुपर्ने बाध्यता छ । त्यो बाध्यता टार्न भनौं या युवा भोक मेटाउन जोयाको सङ्गतमा परेको छ । मले पुलिसको कृत्यबाट बच्नका लागि जोया गतिलो ढाल बनेर उभिएकी छन् । तर, त्यही ढाल नै अन्ततः घरपरिवारलाई भुल्न बाध्य बनाउने साधन बनेको छ । उनी बजारमा रहेको उपभोग्य वस्तु बनेका छन् । जसलाई खरिदकर्ताले जसरी प्रयोग गर्न चाहन्छ, त्यसरी नै प्रयोग गरेको छ । जोयाको यौनजीवनको साथी अर्थात् ‘सेक्स डल’ को रुपमा सीमित बनेको छ निरोज ।

एक वर्ष होइन, दुई वर्ष होइन झण्डै चार वर्ष उपभोग्य वस्तुका रुपमा आफूलाई पाउँदा खिन्न हुँदै जान्छन् । घरपरिवार, समाज, देशकाल, वातावरण सबै सबै भुल्न बाध्य पारिएको छ । त्यतिका वर्षसम्म एक पैसा कमाउन पनि सकेको छैन । न त जोयासँग मागेर पठाउन नै सकेका छन् । उनी जीवन वनमा हराएका छन् । कहिलेकाहीँ त आफ्नै जीवनप्रति धिक्कारिएका छन् । जोयाको बनावटी मायाप्रेमलाई तिरस्कार गर्न सक्दैनन् । तर, एक दिन यस्तो अवस्था पनि आउँछ, जहाँबाट बेलगाम घोडाजस्तो भएर बाहिरिन्छन् । जसमा डम्बर दाइ पुल बनेर आएका छन् । उनै डम्बर दाइले सेक्युरिटी गार्डको काममा लगाइदिएका हुन्छन् तर, मले प्रहरीले छापा मारेका कारण भाग्न विवश हुन्छन् ।

त्यहाँबाट भागेपछि अनेकन दुःखकष्ट र नारकीय जीवन व्यतित गर्नुपरेको छ । लुकीलुकी काम गर्नुपर्ने विवशता मात्रै हैन, मलेसियाको जङ्गलमा भोकभोकै लुक्नुपर्ने बाध्यता पनि आइपरेको छ । कुनै समय नेपाली गोर्खालीहरुले त्यही जङ्गलमा ब्यान्डिटसँग भिडन्त गरेका थिए । ब्रिटिस सरकारको सहयोगी भएर लडेका ती गोर्खालीका सन्तान भने मले पुलिससँग बच्नका लागि जङ्गलको बास हुनु परेको छ । अनेकन समस्यासँग जुँध्दै हिँडेका उनी अन्ततः पक्राउ पर्छन् । त्योभन्दा अगाडि पक्राउ पर्दा जोयाले साथ दिएकी थिइन् तर अब कसले साथ दिने ? 

जहाँबाट उनको जीवनमा ‘ब्ल्याक होल’ को अध्याय सुरू भएको छ । यस्तो अध्याय जुन कल्पनाभन्दा बाहिर हुन्छ । उनका साथमा पक्राउ परेका नेपाली कैदी, बर्मेली कैदी, इण्डोनेसियन महिला कैदीलाई सर्वाङ्ग नाङ्गो बनाई भएको धनसम्पत्ति पनि लुटिएको छ । नुहाउँदा मात्रै नाङ्गिएका उनी र उनका साथी दुनियाँका सामु नाङ्गिनु परेको छ । महिलाहरु पनि त्यसैगरी नाङ्गिनु परेको छ । मले पुलिसकोे बोलीपिच्छे ‘सुँगुर, कुकुर....’ जस्ता अभद्र र अपाच्य गाली खानु परेको छ । उपन्यास पढिरहँदा संसारकै भ्रष्ट पुलिस कहीँ छ भने त्यो मलेसियामै छ भन्ने लाग्छ । यतिसम्म कि एउटा चुरोट पनि छाडेका छैनन् कैदीबन्दीबाट । गाउँघरमा मले पुलिसका किस्सा, मिथहरु नसुनिएका होइनन् । मले पुलिस यस्ता रे, उस्ता रे भन्ने जस्ता वाक्यांशहरुलाई उपन्यासले चरितार्थ गरिदिएको छ ।

नारकीय जीवनको पराकाष्ठा छ । त्यसै पनि जेल जीवन सजिलो हुँदैन । तर मलेसियाको जेल जीवन साँच्चै नै नारकीय रुपमा प्रस्तुत गरिएको छ । उपन्यासकारले कथानकलाई यसरी शृङ्खलाबद्ध तरिकाले बुनोट गरेका छन् कि यसअघिका कथा सङ्ग्रह ‘टाँकीका फूलहरु र लाई–सी’ भन्दा अधिक उच्चस्तरको छ । जेल जीवनको अँध्यारो पाटोबाट कहिल्यै उज्यालो देख्ने सपना नदेखेका निरोजका लागि भारत पञ्जाव मूलका मलेसियन जेलर सरदार भगवान्को रुपमा प्रकट हुन पुग्छन् । त्यसपछि जेल जीवन बिताइरहेका नेपालीहरुमा जिउने जिजीवीषा पलाएको छ ।

दिनेश काफ्लेले नेपालीमा अनुवाद गरेको दक्षिण भारतीय उपन्यासकार बेन्यामिनको ‘खबुज’ को निरीह पात्र झैँ लाग्छन् निरोज पनि । खबुजका तीन पात्र जो साउदी अरेबियामा मजरामा भेडा हेर्न बाध्य पारिएका छन् । तीन वर्षभन्दा बढी भेडा, ऊँट हेरेका उनको जीवन यति नारकीय छ कि त्यो कल्पनाभन्दा बाहिर छ । त्यस्तै निरीह पात्र हुन् निरोज पनि । बेन्यामिनको ती पात्रमा सूक्ष्म आशा लिएर बाँचेका छन् भने निरोजमा त्यो आशा पनि हुँदैन । जेलमै इहलीला समाप्त होला भन्ने सोचिरहेका बेला सरदारको आगमनले पात्रमा नयाँ उभार आएको छ ।

अन्ततः उसैको सहयोगमा नेपाल आइपुग्छन् तर फुकीढल भएर । उपन्यासकारले कथानकलाई उत्कर्षमा पु¥याई बैठान गर्न सक्ने खुबी विकास गरेका छन् । यसअघिका उनका लेखनमा सबैभन्दा कमजोर पक्ष भनेको नै त्यही हुन्थ्यो । तर, यसपटक त्यसलाई जितेका छन् । निरजोयामा लेखकीय साधना छ । निरोज र जोयालाई समास गरी निरजोया नाम दिइएको यस उपन्यास त्रुटिरहित भने छैन । हङ्कङबासी उपन्यासकार दाजु गुरूङले केही ठाउँमा अचानक हङ्कङको प्रसङ्ग ल्याएर पाठकलाई नै चकित पारेका छन् । जुन गैरप्रासाङ्गिक छ । उपन्यासकारले अरु कसैको कथा लेखिरहेको छु भन्ने भुलेको प्रतीत हुन्छ त्यस प्रसङ्गले । उक्त त्रुटिलाई गम्भीर खालका पाठकले मात्रै सहजै पहिचान गर्न सक्छन् ।

त्यस्तै सुरू सुरूका पानाहरुमा वाक्यांशदेखि अनुच्छेद नै पुनरूक्ति पनि भएको छ । यस्ता विषयमा उपन्यासकार तथा भाषा सम्पादक पनि चुकेका छन् । भाषिक त्रुटिहरु पनि प्रशस्तै छन् । अर्थको अनर्थ लाग्ने गरी शब्दहरु लेखिएका छन् । तर, पनि कथाले पाठकलाई बाँधेको छ । उपन्यासकारले मानवेतर पात्रलाई सुन्दर ढङ्गले प्रयोग गरेका छन् । मानवेत्तर पात्रलाई यसरी प्रयोग गरिएको छ, जुन मुख्य पात्रका लागि उत्प्रेरक बनेको छ । जोयाको घरमा पिँजडामा थुनेर राखिएको फिस्टे चरोको मृत्युपश्चात् जुन दृश्याङ्कन गरिएको छ । त्यसले मुख्य पात्र निरोज यथार्थको धरातलमा पछारिन पुग्छन् । निरोज पनि फिस्टे चरा झैँ छन् । एक्लो, निस्सार जीवन बाँच्ने । गन्तव्यहीन जीवन बाँच्ने । खेलौनाको रुपमा बाँच्ने । 

यस्ता विषयले मलेसियामा फसिरहेका नेपाली युवाका लागि एउटा सन्देश बनेको छ । रतिरागमा रमाइरहेका युवाहरुका लागि एउटा सन्देश छ । धेरै वर्षदेखि हराइरहेका सयौँ नेपालीहरुका लागि एउटा पाठ छ ।  सङ्खुवासभाली दाजु गुरूङ पनि धनसम्पत्ति जोडूँला भनी हङ्कङ छिरेका नेपाली हुन् । उनको पनि आफ्नै जीवन भोगाइहरु छन् । कतिपय अरुको जीवनगाथा सुनेर सिकेका छन् । त्यही सिकाइलाई नै निरजोयामा प्रयोग गरेका छन् । त्यस कुरालाई उनले उपन्यासको आभार खण्डमा पनि प्रस्तुत गरेका छन् । व्यस्त जीवनका बावजुद पनि नेपाली साहित्यमा उनको योगदान विशिष्ट छ । अझ हङ्कङमा बस्ने हजारौं नेपालीहरुमाझ उनको परिचय विशिष्ट किसिमको छ । यो परिचय कायम रहोस् शुभकामना ।