प्रथमतः यो सकारात्मक ऊर्जालाई महसुस गर्न सक्ने जागृत र प्रज्वलित गरिदिनुभएकोमा तत् दिव्य शक्तिलाई सहृदय आभार ।
हाम्रा आफ्ना मूल्य, मान्यतासहितको एकताको विश्व परिकल्पना गर्दै प्रेम र शान्तिको नवयुगमा प्रवेश गर्न प्रारम्भ गरिहाल्न कुनै पनि ढिलाइ र अन्यमनष्क हुनु हुँदैन । अन्यथा सृष्टि नै नरहने अवस्थामा हुने सम्भावनाका कारणहरू देखिन थालिसकेका छन् र यो विश्व मानवताको लागि गम्भीर चुनौती हो ।
आँसु र हाँसोको भाषा नै विश्वव्यापी रहेछ । म आजको समय–सन्दर्भ महसुस गरेर आश्चर्यमा परेको छु । किनभने मानिस विकासको उपल्लो सीमामा पुगेपछि अन्ततोगत्वा विनाश नै खोज्दो रहेछ । किनकि उसले मानव जीवन र मानवताको लागि कार्य गर्न तत्पर पनि देखिँदैन र जमर्को पनि गर्दैन ।
यदि योे विश्वमा शान्ति, प्रेम, अहिंसाको पुष्प पल्लवित गर्नसके कति सुखानुभूति हुन्थ्यो होला, तर हालको परिपे्रक्ष्यमा यो सन्दर्भ कल्पनादेखि बाहिरको विषय भइसक्यो । हामीले यो परम् सत्यलाई हृदयङ्गम गर्नु पर्छ कि बारुदको धुवाँभन्दा अपरिमित शक्तिशाली शान्तिको धून हुन्छ । त्यसैगरी प्रेम, सहयोग र सद्भावको धून ।
![](/uploads/advertise/online ad_1719397537.jpg)
मेरो आँखामा आजका दिनहरूमा भैरहेको विभत्स युद्धको पिरो धुवाँ मडारिएर फुत्त पस्छ । मानिसले सबैकुरा बनाइसक्यो तर, एकले अर्काको मनमा बास गर्न सकिरहेको छैन । किनभने हामी म, मेरो र आफ्नो भन्ने सङ्कुचित घेराबाट बाहिर निस्कनै चाहँदैनौं । परिणाम समस्यादेखि बाहेक अरू केही छैन ।
आजका मानवले गर्न नसक्ने असम्भव कार्यहरू पनि गरिसक्यो, जुन हामीले कल्पना पनि गरेका हुँदैनौं, त्यो पनि परिणाममा परिणत भैरहेको पाएका छौँ । तर, यी सबै हुँदाहुँदै पनि मानिस किन मानव बन्न सकिरहेको छैन ? मात्र हृदयविहीन यन्त्रजस्तो छ ।
आजको समय अवस्था समाजको, राष्ट्रको र विश्वको द्रुत गतिमा भैरहेको विनाश मात्र हामीले गर्दा हो भन्दा किञ्चित् मात्र पनि अतिशयोक्ति नहोला ।
आजको मनुष्य जीवन वास्तवमा रसविहीन खोक्रो छ । किनभने हामी बाहिरबाट जति आडम्बर गरेपनि अन्तःस्करणमा हामी निकै कमजोर भइरहेका छौँ । मानिस भौतिकरूपमा सम्पन्न र समृद्ध भए पनि मानसिक रूपमा दरिद्र, दीनहीन, दुःखी र पीडादायी छ । हाम्रा पहिरन, भाषा, भूगोल, मानसम्मान, वैभव, धन सम्पत्ति त सबै निहित स्वार्थको लागि मात्र प्रयोग गरिरहेका छौँ । यो बुझ्न सकिरहेका छैनौँ कि हाम्रो जन्मको उद्देश्य के हो ?
आधुनिक विश्वले मानिसलाई सबै कुरा दिएको छ । मानिस भ्रममा छ र अनभिज्ञ पनि छ कि मानिसबाट मानिसले मानवतालाई नै खोसिसक्यो र यो कटू सत्य मानिसलाई थाहा नै छैन । ऊ आफूबाट आफै लुटिएको कुरा वास्तवमा भन्ने हो भने आज आफैभित्र मानिस भांैतारिरहेको छ । आफ्नै आँखामा पट्टी बाँधेर आफैलाई खोज्दैछ । सकारात्मक सोच, सकारात्मक दृष्टि र सहृदयी भावनाजस्ता मानिसका लागि नभै नहुने अमूल्य निधिहरू मानव जीवनका लागि मूल्यहीन भइरहेका छन् । हाम्रो लागि शान्ति विकल्प होइन, अपरिहार्य हो ।
किन हामी विनाशको मार्ग रोज्दैछौँ । युद्धको भ्रम कहिलेसम्म सिञ्चित गरिरहने होला ? किन हामी कसैलाई मारेर अनाथ बनाएर, मातापिताविहीन बनाएर हामीले यो युद्ध सफलतापूर्वक विजय प्राप्त ग¥यौँ भनेर यस प्रकारको निकृष्ट मानवताविहीन प्रवृत्तिलाई त्यागेर मानव जीवन हितको लागि किन अग्रसर भइरहेका छैनौँ ? यो आजको गम्भीर प्रश्न भैरहेको छ । आखिर मानिसले के पाउन यस प्रकारको अमानवीय क्रियाकलाप गरिरहेको छ ? सोच्दा खेरी, पढ्दा खेरी र दृृश्यावलोकन गर्दा मन भावविह्वल हुन्छ ।
हाम्रो मन नै शत्रु र मन नै मित्र हुन्छ भन्ने वास्तविकतालाई पनि विस्मृतिमा राख्नु हुँदैन । हामीले योे दृढ विश्वासका साथ बुझ्नु पर्छ कि मानवताभन्दा ठूलोे सत्य र धर्म केही पनि हुँदैन तर, यसो भइरहेको छैन भन्दा बडो दुःख लाग्छ । आजको परिवेशमा हाम्रो मुलुकमा हाम्रा नागरिकका लागि नभै नहुने नाना, छाना, खाना, शिक्षा र स्वास्थ्य हुन् । तर, यी आधारभूत आवश्यकताहरूबाट पनि बञ्चित हुनुपरेको छ । धनको कारणले होइन, मात्र मनको कारणले ।
हामीले सुन्दै र पढ्दै आइरहेका छौँ कि गाउँघरतिर स्वास्थ्य सेवा नपुगेको कारणले सुत्केरीले बाटोमै आफ्नो जीवन त्याग गर्नुपरेको छ । यसैगरी भूकम्पका कारण घरबारविहीन हुन पुगेका, अति चिसोको कारणले बाध्यतावश पालमुनी बास लिएका वृद्धवृद्धा र बालबालिकाहरूले आफ्नो ज्यान गुमाएका थिए भने बाँकी बाँचिरहेकाको पनि कष्टकर जीवन छ र यस गम्भीर विषयमा राष्ट्रको ध्यान जान अति आवश्यक हुन जान्छ । तर यसो भएको पाउँदैनौ हाम्रा नेताज्यूहरुको भाष्य नै अलग छ । जब नागरिकबाट भैरहेको विक्षिप्त अवस्थाको विरोध वा आवाज उठाउन थाल्दछन्, तब उहाँहरू एउटै मुख भएर भन्न थाल्नुहुुन्छ कि हामीले ल्याएको व्यवस्थाप्रति हमला हुन थालेको छ, सबै सतर्क हुनुपर्छ । यो कस्तो भाष्य हो ।
आज हाम्रो मुलुकमा भाषा, पहिरन, क्षेत्र, धर्म, सम्प्रदाय, संस्कृति आदि सम्वेदनशील विषयहरू सतहमा ल्याइदिएर वा ल्याउन लगाएर हामी–हामीबीच मन विभेद गराएर उनीहरूले कस्तो शासन गर्न लाग्नु भएको हो, हाम्रो अनुत्तरित प्रश्न यथावत रहि रहेको छ । विचार गरौ मनन् गरौ ।
तसर्थ, यो मुलुक, यो विश्व हामी सबैको हो ? यहाँ प्रेमको आवश्यकता छ । त्यागको आवश्यकता छ , सद्भाव र समभावको आवश्यकता छ । दृढ निश्चय तथा संकल्पको आवश्यकता छ र यसरी मात्र राष्ट्र र विश्वको सबल विकास हुन्छ र विश्वमा मानवता जीवन्त हुन्छ र मानवता नै मूल धर्म हो भनेर स्वीकार्नु निर्विकल्प आवश्यकता हो भन्दा निश्चय पनि सत्यको विपरीत हुँदैन । शुभ रहोस्–सहज रहोस् ।।
(लेखक, शारा थापा स्मृति प्रतिष्ठान, धरानका अध्यक्ष हुन् ।)