बराहक्षेत्र नगरपालिकाको धार्मिक पर्यटकीय स्थल भवानीस्थानको जीर्णोद्वारपछि आज औपचारिक कार्यक्रमबीच समुद्घाटन गरिएको छ । 

बराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले बिहीबार वैशाखे पूर्णिमाको अवसरमा भवानीस्थानमा लाग्ने धार्मिक मेलाका अवसरमा मन्दिरको उद्घाटन गरे । 

बराहक्षेत्र वडा नं. १ को गौरवको योजनाअन्तर्गत २५ लाख रुपैयाँ बजेट विनियोजनपछि मन्दिर निर्माण समितिले श्रमदानसहित मन्दिरको पुनर्निर्माण गरेको वडाध्यक्ष किसन थापाले जानकारी दिए ।

मन्दिरमा रङ्गरोगन गरी टायल्सलगायतका सौन्दर्यीकरणको कामसमेत सुरु गरिएको छ । मन्दिर निर्माणसँगै सिमे, भूमे, सन्सारी देवीदेउताका थानसमेत निर्माण गरिएको मन्दिरका पुजारीसमेत रहेका वडासदस्य दीपक राईले जानकारी दिए ।

बराहक्षेत्र नगरपालिकाको पहाडी क्षेत्र सूर्यकुण्डमा रहेको मनोरम स्थलमा अवस्थित मन्दिर जिर्णोद्वारपछि चिटिक्कै परेको छ । धार्मिक तीर्थालु र आन्तरिक पर्यटकको आकर्षण बढ्ने वडाध्यक्ष थापाले विश्वास लिए ।

जीर्णोद्वार गरिएको मन्दिरको उद्घाटनपछि बोल्दै नगर प्रमुख रमेश कार्कीले धार्मिक पर्यटनमा नगरको नीति कार्यक्रम केन्द्रित रहने बताए । उनले नगरको समृद्धि र विकासका लागि धार्मिक पर्यटनको विकास नगरी नहुने बताए । 

कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवारले भवानी थानको मन्दिरको मात्र जीर्णोद्वार भएको र बाँकी धेरै संरचनाको विकास गर्न आवश्यक रहेको बताइन् । उनले सूर्यकुण्डको एकीकृत विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनु पर्ने बताइन् । बराहक्षेत्र-२ का वडाध्यक्ष होमप्रसाद गौतमले भवानी थानको विकासका लागि जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको बताए । उनले प्रदेश र सङ्घीय सरकारमा यस क्षेत्रको विकासका लागि माग भएको बताए । नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटवालले धार्मिक र सांस्कृतिक रुपमा नेपालको भूमि पावन र पवित्र रहेको बताए । 

Bhawani than mandir Udghatan

भवानीस्थानको मन्दिर वर्षमा एकपटक मात्र वैशाख पूर्णिमाका दिन खुला हुने गर्छ । 'पछिल्लो पटक हाम्रा भाषा, संस्कृति, बचाउने कुरामा पुस्तान्तरण र हस्तान्तरणको समस्या भएको छ, ' प्रमुख प्रशासकीय अधिकृत कटवालले भने, 'धार्मिक सांस्कृतिक सम्पदालाई सौन्दर्यीकरण गरेर आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने हामीसामु चुनौती छ ।'

धार्मिक, सांस्कृतिक सम्पदालाई रोजगारी, आर्थिक विकास र उपार्जनसँग जोड्न आवश्यक रहेको उनले बताए । 

'भवानीको भाकल गरे मनोकामना पूर्ण हुने'

वैशाखे पूर्णिमाका दिन बोका, राँगा, हाँस, परेवालगायत पशुपन्छीको बली दिई भाकल बुझाउने गरिन्छ । किम्बदन्ती र शास्त्रीय प्रमाणका आधारमा भवानी स्थानको यहाँ उत्पत्ति भएको पाइन्छ । 

भवानी स्थानलाई वराह पुराणले आदि वराही भगवती भनेको छ । यो मन्दिरका बारेमा वराह पुराणमा लेखिएअनुसार विष्णु भगवानले वराहको रूप धारण गरेर वराह कुट पर्वतमा पुगे । त्यसबेला वराह भगवानको साथमा महालक्ष्मी वराही अवतारमा थिइन् । र, यो स्थानमा विराजमान भइन् । शास्त्रमा समेत उल्लेख र पुरातात्विक महत्व बोकेको यो क्षेत्रको पुनर्संरचना र पुर्निर्माण आवश्यक रहेको स्थानीय बताउँछन् । वराहक्षेत्रको धार्मिक र सांस्कृतिक पर्यटनमा यस्ता सम्पदाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीयको मत छ ।

इतिहासअनुसार भवानीस्थान गढीका रुपमा विकास भएको पाइन्छ । सेनवंशी राजा जसले आफूलाई 'हिन्दूपति राजा' रुपमा चिनाएका थिए उनै हरिहर सेनको दरबारसँग सम्बन्धी लालकोट गढी (भवानीस्थान गढी) को मौलोको रुपमा पूजा अर्चना गरिएको इतिहास पाइन्छ । 

२० वर्षअघि ढुङ्गाले घेरेर सामान्य पुनर्निर्माण गरिएको मन्दिर २० वर्षपछि कलात्मक रुपमा पुनः जीर्णोद्वार गरिएको छ । बराहक्षेत्र १ का वडा सदस्ययसमेत रहेका मन्दिरका पुजारी दीपक राई भवानी थान मन्दिरका १३ औं पुस्ताका पुजारी हुन् । उनकै पहलमा वडाले मन्दिर निर्माणको कामलाई गौरवको योजनामा राखी निर्माण सम्पन्न गरेको हो ।