इटहरी । सुनसरीको इटहरीस्थित होटल व्यवसायी सङ्घमा नेतृत्वको लडाइँ चल्दा संस्था नै लथालिङ्ग बनेको छ । संस्थाको विधानविपरीत कार्यवाहकको जिम्मेवारी पाएका व्यक्तिले नीतिविपरीत सङ्घका उपाध्यक्षसहित ५ जना पदाधिकारीलाई निलम्बन गरेपछि विवाद उग्र बनेको हो । निलम्बनमा परेकाहरूले सोमबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै गल्ती नसच्याए अदालत जाने चेतावनी दिएका छन् ।

सङ्घका अध्यक्ष जीवन पराजुलीले उद्योग वाणिज्य सङ्घमा निर्वाचित भएर गएपछि होटल व्यवसायीमा विधानविपरीत महासचिव जयप्रसाद उपाध्याय पौडेललाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । सङ्घको विधानमा कुनै कारणवश अध्यक्षले संस्था छाड्नुपरे उपाध्यक्षलाई जिम्मेवारी दिएर कार्यभार सुम्पनु पर्ने उल्लेख गरिएको छ । तर, पराजुलीले इटहरी होटल व्यवसायी सङ्घमा तीन जना उपाध्यक्ष हुँदाहुँदै महासचिवलाई कार्यवाहक बनाएपछि विवाद उग्र बनेको हो ।

पराजुलीले निजी स्वार्थका लागि इटहरीमा होटलै नभएका गैरव्यक्तिलाई आफै महासचिव बनाएर कार्यवाहकको जिम्मेवारी दिई विवाद बढाएको सङ्घभित्रैका पदाधिकारीहरूले आरोप लगाएका छन् । पटक–पटक गल्ती सच्याउन आग्रह गर्दा पनि नेतृत्व पक्षले उल्टै कारबाहीस्वरूप सङ्घबाट निष्कासन गरेको होटल व्यवसायी सङ्घ इटहरीका उपाध्यक्ष प्रकाश महतोले बताए । उनले गल्ती नसच्याए आफूहरू अदालत जाने चेतावनीसमेत दिएका छन् ।

पराजुलीकै  कारण इटहरीमा होटल व्यवसाय सङ्घ केही वर्षअघि टुक्रिएको बताउँदै उनलाई सच्चिन आग्रह गरेका छन् । पराजुलीले सङ्घभित्र एकलौटी नेतृत्व हडप्न खोजेपछि २०७८ असारमा असन्तुष्ट पक्ष विभाजित भई होटल तथा लज व्यवसायी सङ्घ गठन गरेका थिए । जसको नेतृत्व उमेश दाहालले गर्दै आएका छन् ।

सङ्घले इटहरीका व्यवसायीहरू जिल्लामा समाहित भएको भन्दै उपाध्यक्ष महतोसहित कोषाध्यक्ष बाबुराम गिरी, सदस्यहरू कृष्ण पराजुली, गोपाल गिरी, कृष्ण निरौलालाई चैत २७ गते कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो । कुनै पदाधिकारीहरूलाई निलम्बन वा कारबाही गर्नुपर्दा कार्यसमितिभित्र छलफल तथा बैठक बसेर मात्र गर्नुपर्नेमा अध्यक्ष जीवन पराजुलीको हस्तक्षेपमा षड्यन्त्रपूर्ण ढङ्गबाट आफूहरूलाई निष्कासन गरिएको सङ्घका कोषाध्यक्ष बाबुराम गिरीले बताए ।

कारबाहीमा परेकामध्ये महतो सङ्घभित्रका आजीवन सदस्यसमेत हुन् । स्वर्गीय पिता हिरा महतोले २०३४ सालमा इटहरीभित्रका होटल व्यवसायीहरूलाई सङ्गठित बनाउँदै होटल व्यवसायी समिति गठन गरेका थिए । पछि सोही समितिलाई नै सङ्घ बनाएर इटहरीमा काम थालनी गरिएको थियो । प्रकाश त्यो बेलादेखि नै सङ्घमा सक्रिय सदस्य भई २०७५ देखि उपाध्यक्षमा निर्वाचित भएर काम गर्दै आइरहेका छन् ।

उनीहरूले सोमबार पत्रकार सम्मेलन गर्दै सङ्घको कारबाहीलाई अवैधानिक र नीतिविपरीत भनेका छन् । २१ सदस्यीय कार्य समिति रहेको सङ्घमा ५ जनाले हस्ताक्षर गरेकै भरमा आफूहरू निलम्बनमा नपर्ने अडान राखेका छन् । ‘गल्ती सच्याउन नेतृत्वलाई आग्रह गरिसकिएको छ, नसच्चिए ४८ घण्टामा हामी अदालत जानेछौं’–उपाध्यक्षसहित कोषाध्यक्ष र सदस्यहरूले भने ।

सङ्घका उपाध्यक्षसहित पाँच जनालाई कारबाही गरेको सूचना पदाधिकारीहरूलाई थाहै नभएको र यो सबै पराजुलीकै ग्रान्डडिजाइनमा भइरहेको सङ्घभित्रकै महिला उपाध्यक्ष पुनम थापा मगरले बताइन् । उनले विधानमा महासचिव पद नै नरहेको पनि उल्लेख गरिन् । संस्थाको विधानमा महासचिव पद नै नरहेको र विधान परिवर्तनसहित पद थप गरी गोजीको मान्छे उपाध्यायलाई अध्यक्ष पराजुलीले  कार्यवाहकको जिम्मेवारी दिएको महिला उपाध्यक्ष मगरको भनाइ छ ।

रकम अपचलनको आरोप
होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली र महासचिव तथा कार्यवाहक अध्यक्ष जयनारायण उपाध्यायले सङ्घको बजेटसमेत हिनामिना गरेको असन्तुष्ट पक्षले आरोप लगाएका छन् । सङ्घले विभिन्न समयमा गरेका कार्यक्रमहरूको पारदर्शी हिसाब किताब सार्वजनिक नगरेको असन्तुष्ट पक्षको आरोप छ ।

साधारणसभा तथा वनभोजलगायत स्वास्थ्य शिविरहरूमा भएको खर्च एवम् विभिन्न समयमा दाताहरूबाट सङ्कलन गरिएको रकमको कुनै हिसाब किताब नरहेको उनीहरूको आरोप छ । पराजुलीलगायत वर्तमान पदाधिकारीहरूसँग पटक–पटक हिसाब किताब सार्वजनिकको माग गर्दा अरू पोल खोलिने डरले कारबाहीको बहाना बनाएको होटल व्यवसायी सङ्घ इटहरीका सदस्य कृष्ण पराजुलीले बताए ।

चेकमा हस्ताक्षर नगर्दा कोषाध्यक्ष बर्खास्त
यता कारबाहीमा परेकामध्ये होटल व्यवसायी सङ्घ इटहरीका कोषाध्यक्ष बाबुराम गिरीले भने फजुल खर्चको भुक्तानीका लागि चेकमा हस्ताक्षर नगर्दा आफूलाई कारबाही गरेको बताएका छन् ।

अहिलेका कार्यवाहक अध्यक्ष भनिने जयप्रसाद उपाध्यायको इलाम श्रीअन्तुमा धुपी कटेज होटल रहेको र सोही होटल उद्घाटनको बेलामा भएका खर्चहरू इटहरीको सङ्घबाट भुक्तानी गर्नुपर्ने भन्दै चेकमा हस्ताक्षर गर्न दबाव दिएको बेला आफूले नमानेपछि त्यसको बदला लिन आफूलाई कारबाही गरेको कोषाध्यक्ष गिरीको आरोप छ । उनले इलाममा भएको खर्चको विवरण र भुक्तानी सञ्चालक समितिबाट पास भएर आए मात्रै चेकमा हस्ताक्षर गर्ने नत्र नगर्ने अडानमा बसेका थिए । सङ्घका पराजुली र महासचिव तथा कार्यवाहक उपाध्यायले पटक–पटक दबाव दिँदा पनि आफूले अडान नछाडेपछि अहिले कारबाहीमा परेको कोषाध्यक्ष गिरीको भनाइ छ ।

यता यस विषयमा होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पराजुलीसँग सम्पर्क गर्दा उनले आफू सङ्घमा आबद्ध नरहेको र सबै जिम्मेवारी कार्यवाहक अध्यक्षलाई दिएको बताउँदै ‘सबै कुरा उतै सोध्नू’ भन्दै पन्छिए । कार्यवाहक अध्यक्ष जयनारायण उपाध्यायसँग सम्पर्क गर्दा उनले कार्य समितिकै निर्णयबमोजिम नियमसम्मत ढङ्गले कारबाही गरेको बताए । पाँच जनामध्ये महतो र गिरीलाई भने इटहरीमा होटल व्यवसायी सङ्घ हुँदाहुँदै जिल्लाको सङ्घमा आबद्ध भएका कारण कारबाही गरेको उल्लेख गरे ।