विजयपुर । पहिचानवादी मोर्चाका संयोजक डा. महेन्द्र लावतीले जनता समाजवादी नेपालको फुट पहिचानवादीका लागि अवसर भएको बताएका छन् ।

सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै डा. लावतीले जसपा नेपालको फुट पहिचानवादी शक्ति एक ठाउँमा आउने अवसर भएको बताएका हुन् । पहिचानवादी शक्तिलाई समेटेर पार्टी निर्माण गर्ने बताए । उनले नेपालमा शदियौंदेखि एकल जातीय राज्य स्थापित भएको बताउँदै भने, ‘आज कायमै छ ।’ नेपाल बहुजातीय समाज भएकाले राज्य पनि बहुजातीय हुनुपर्ने बताए । पार्टी विभाजनबाट असन्तुष्ट रहेका लावतीलगायतले सत्ताको खेलका कारण अशोक राई नेतृत्वमा जसपा नेपाल विभाजित भएको बताए ।

डा. लावतीको मोर्चा गठनसँगै उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपाल तीन ध्रुवमा देखिएको छ । वैशाख २३ गते डा. लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा भएको थियो । संयोजक लावती केही वर्षअघि सङ्घीय लिम्बुवानबाट जसपा नेपालमा गएका थिए । अशोक राईलाई छोड्दै तत्कालीन जसपा नेपालको भातृसङ्गठन नेपाल लिम्बुवान राष्ट्रिय समिति पहिचानवादी मोर्चामा आबद्ध भएको घोषण गरेको छ । 

नेपाल लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावतीले धरानमा पत्रकार सम्मेलन गर्दै पहिचानवादी मोर्चा लिम्बुवान प्रदेश समितिमा आबद्ध भएको घोषणा गरे । प्रदेश समिति संयोजक लावती र सदस्य केदार धिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा  मोर्चाले सिङ्गो पहिचान पक्षधरहरूलाई एकताबद्ध गर्ने उल्लेख गरिएको छ । पहिचानवादी राजनैतिक शक्तिको रूपमा पार्टी निर्माण गर्ने पनि विज्ञप्तिमा भनिएको छ । मोर्चाले स्वायत्त क्षेत्र जिल्ला, पालिका, वडा, टोल तथा प्रवासका पहिचानवादीलाई मोर्चामा आबद्ध हुन आह्वानसमेत गरेको छ ।