धरान । अशोक राईको नेतृत्वमा हालै गठित जनता समाजवादी पार्टी (जसपा) सरकारमा प्रवेश गरेको छ ।

सो पार्टीका उपमहासचिवसमेत रहेका सांसद् प्रदीप यादवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सपथ लिएका छन् । मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका छन् । उनीसँगै राज्यमन्त्रीमा जसपाकी हसिना खानले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकार छोडेलगत्तै जसपा नेपालबाट फुटेर बनेको जसपा सरकारमा प्रवेश गरेको हो । जसपा, नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपाबाटै अहिले नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री रहेका छन् । अब जसपाबाट मन्त्रिपरिषद्मा दुई मन्त्री र एक राज्यमन्त्री भएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार राजीनामा दिएका थिए । त्यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका थिए । जसपाले मन्त्रीमा रञ्जु झाको नाम पनि प्रधानमन्त्रीलाई दिएको थियो । तर, उनको बारेमा टुङ्गो लागेको छैन । मन्त्रालय रिक्त नरहेकाले कुनै मन्त्रालय खाली गरेर मात्र उनको टुङ्गो लाग्ने बताइएको छ ।

१२ सांसद् भएको जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेका बेला वैशाख २३ गते विभाजित भएको हो । सात सांसद्सहित अशोक राई नेतृत्वको जसपालाई वैशाख २४ गते नै निर्वाचन आयोगले दलको मान्यता दिइसकेको छ ।