धरान /कोशी प्रदेशका मुख्य न्यायाधीवक्ता रूपेश कोइरालालाई बर्खास्त गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा आइतबार न्यायाधीवक्ता कोइरालालाई बर्खास्त गरिएको हो।

प्रदेश प्रमुख पर्शुराम खापुङले न्यायाधीवक्ता कोइरालालाई आइतबार बर्खास्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार वैशाख २६ गते मुख्यमन्त्री बनेका कार्कीले वैशाख २८ गते पदमुक्त गर्न सिफारिस गरेका थिए। सोही सिफारिसअनुसार प्रदेश प्रमुख खापुङले कोइरालालाई पदमुक्त गरेको सूचना आइतबार प्रकाशित गरेका छन् ।

कोइरालालाई मुख्य न्यायाधीवक्तामा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले २०८० पुस २१ ग्ते नियुक्त गरेका थिए । मुख्यमन्त्रीको कानूनी सल्लाहकारको रूपमा मुख्य न्यायाधीवक्ता रहने व्यवस्था छ।

कोइरालाले नयाँ सरकार गठन भइसक्दा पनि राजीनामा बुझाएका थिएनन्। उनी नयाँ सरकार संविधानमै नभएको उपधारा प्रयोग गरी मुख्यमन्त्री बनेको भन्दै सर्वोच्च अदालतमा बहसका लागि पुगेका थिए ।